ad ad

लुम्बिनी


उपसभामुखदेखि मुख्यमन्त्रीसम्मले खित्का छाड्ने गरी के भने प्रदेश सांसद श्रेष्ठले?

उपसभामुखदेखि मुख्यमन्त्रीसम्मले खित्का छाड्ने गरी के भने प्रदेश सांसद श्रेष्ठले?

सुदीप भण्डारी
असार १४, २०७९ मंगलबार १८:३३, बुटवल

लुम्बिनी प्रदेश सभामा अहिले बजेटको बारेमा छलफल चलिरहेको छ। असार १० गतेदेखि मन्त्रालयगत रुपमा प्रदेश सांसदहरुले छलफलमा भाग लिइरहेका छन्। मंगलबार आर्थिक मामिला तथा सहकारी मन्त्रालयको सम्बन्धमा छलफल भइरहेको थियो। 

अपरान्ह प्रमुख विपक्षी एमालेका सांसद कमलराज श्रेष्ठले छलफलमा भाग लिन १२ मिनेटको समय पाए। आफ्नो मन्तव्यको सुरुवातमा उनले जंगबहादुर राणाको मृत्यु पछिको प्रसंग निकाले। त्यो समयलाई अहिलेको प्रदेश सरकार र बजेटसँग यसरी तुलना गरे। 

‘जंगबहादुरको मृत्युपछि रणोद्वीप प्रधानमन्त्री भए। कान्छा भाइ धीर शम्शेरका १७ भाइ छोरा थिए। १७ भाइको पालो नआउने भो। पालो नआउने भएपछि १७ भाइले सत्ता कसरी हत्याउने भनेर षडयन्त्र गरे। ४ भाइको गठबन्धन भयो। रणोद्वीपकाे हत्या भएर सत्ता हत्याए। सत्ता हत्याएपछि जंगबहादुरका सबै सन्तानलाई लखेटे अनि तिनीहरुको जति सम्पत्ति थियो जम्मै कब्जा गरे १७ भाइ मध्ये पनि सत्ता हत्याउने ४ भाइले बढ्ता लिए। पहिले धीर शम्शेरका सन्तानले हिरा जवरा गहना गुडिया देखेका रहेनछन्। ढुकुटीमा कब्जा हुँदा ति गहना कता हुन् के हुन् र कता लगाउने हो थाह पाएनन्। गरगहनाका माला कम्मर पेटीमा लगाएछन्। हिरा जडेको पाउजु मुकुट हो कि भनेर शिरमा लगाएछन्। कपडा सुल्टा लगाउने कि उल्टा लगाउने थाहै छैन।’

सांसद श्रेष्ठले अगाडि भने, ‘हाम्रो प्रदेश र त्यतिबेलाको घटना ठ्याक्कै मिल्छ। एमालेको सरकार यहाँका चार भाइको गठबन्धनले ढल्यो। सत्ता कब्जा भयो। ४२ अर्बको बजेट कब्जा भयो। त्यो खर्च गर्ने कसरी कहाँ लगाउने के गर्ने अन्योल भयो। यो बजेट बनेको छ नि अहिले त्यसैको प्रतिबिम्ब हो।’

उनले आवश्यक ठाउँमा बजेट नभएको र अनावश्यक ठाउँमा बजेट छरिएको बताए। 

श्रेष्ठले चालु आर्थिक वर्षमा धेरै ठाउँमा बनाउन बजेट विनियोजन हुँदा पौराणिक र ऐतिहासिक पर्यटकीय क्षेत्रमा बजेटै नपरेको गुनासो गरे। उनले बालबालिका, महिला शसक्तीकरण र ज्येष्ठ नागरिकको लागि बजेट नै कम परेको बताए। 

सांसद श्रेष्ठले अहिलेको बजेट मन्त्रीहरुको क्षेत्रमा मात्र खनिएको उल्लेख गरे। उनले मन्त्रीको क्षेत्रमा मात्र बजेट खनिँदा सत्ता पक्षका सांसदलाई समेत पीडा भएको उल्लेख गरे। 

‘हिन्दीमा एउटा भनाइ छ। कहुँ तो मा मरजाए न कहुँ तो बाप कुत्ता खाए। बाले कुकुर खाए भनेर भनम् भने आमा मर्ने, नभनम् बाले कुकुर खाएको देख्यो छोराले।’ 

उखानलाई रुपान्तरण गर्दै सांसदले यसरी सुनाए ‘यहाँ पनि यस्तै भयो सत्ता पक्षका माननीय ज्युहरुलाई योजना परेको छैन। उहाँहरुलाई हाम्रो जस्तै पीडा छ। भएन भनम बजेटको विरोधमा भोट हालम सरकार गिर्छ। त्यस कारणले –कहुँ तो सरकार मरजाए नकहुँ तो मन्त्री बजेट खाए।’

सांसद श्रेष्ठले लय मिलाएर यसरी आफ्नो भनाइ टुंग्याउँदा प्रदेश सभामा हाँसोको फोहोरा छुट्यो। मुख्यमन्त्री कुलप्रसाद केसी, आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्का धित मरुञ्जेल हाँसे। 

अध्यक्षता गरिरहेकी उपसभामुख कृष्णी थारु पनि अर्का सांसदलाई बोल्न दिन भन्दा अघि खित्का छाडेर हाँसिन्।  

मंगलबार बजेटको छलफल ५ घण्टा भन्दा बढी समय चलेको थियो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .