जब रात पर्छ
अँध्यारोको साम्राज्य फैलिन्छ
त्यही बेलामा
तारा उदाउँछ
प्रतिरोधको रूप लिएर
त्यो तारा
विद्रोहको चिनारी हो
सुन्दर भविष्यको प्रतिज्ञा हो।
औँसीको कालो रातमा
उज्यालो खोजिरहेका
बाटो देखाउने
तारा
समयको साक्षी पनि हो
तारा
आकाशको निर्भीक आँखा हो
जुन अँध्यारो भित्र पनि
उज्यालो खोज्न जान्दछ।
जब सबै बत्ती निभ्छन्,
र आशा हराउँछ
त्यो सानो तारा मात्र बाँचिरहन्छ
दूर तर दृढ
निःशब्द तर प्रेरणादायी।
तारा
अँध्यारोको चुनौती हो
जसले रातसँग लडेर भन्छ
‘म सानो भए पनि
उज्यालो हुन सक्छु।’
एउटा तारा
सारा अँध्यारोलाई हराउन पर्याप्त हुन्छ।
तारा
भुइँमान्छेको ज्योति हो
जनताको हातमा उठेको मशाल हो
मुक्तिको सपना
जसले मडारिएको
विभेदका बादल फटाउँदै
क्षितिजमा उज्यालो छर्छ।
तारा
उदाउँछ
सधैँ
जनताको मुटुबाट
संघर्षको गर्भबाट
अन्धकारलाई हराउँदै
नयाँ बिहानको घोषणा गर्दै।
समय चक्रमा
जब
रात पर्छ
फेरि
तारा उदाऊँछ
अँध्यारोमा तारा
उदाउनु
सिंगो संसार
उज्यालिनु हो
किनभने
तारा
जनताको आशा हो
नयाँ भविष्यको आवाज हो
ताराको अघि
औँसीको कालो शासन टिक्दैन
किनभने
तारा
छिचोलेर आउँछ
सत्यको झिल्को लिएर
बिहानको खबर लिएर।
Shares

प्रतिक्रिया