साहित्य


पूर्वआईजीपी अच्युतकृष्ण खरेलको आत्मकथा पढ्दा बिझाएको कुरा

पूर्वआईजीपी अच्युतकृष्ण खरेलको आत्मकथा पढ्दा बिझाएको कुरा

पुजन बराल
कात्तिक १४, २०८२ शुक्रबार १६:१४, काठमाडौँ

संक्षिप्तमा भन्दा आत्मकथा/संस्मरण लेखनका उदेश्य यी हुन सक्छन्:

१. पाठकलाई लेखकको संघर्षबारे जानकारी दिई प्रोत्साहन गर्नु।

२. लेखकको विरासतको संरक्षण र संवर्द्धन गर्नु।

३. पाठकको लागि प्रेरणाको स्रोत बन्नु।

३. लेखकको दृष्टिकोणबाट विश्लेषण पेस गर्नु।

तर नेपालमा प्रकाशित अधिकांश आत्मकथा/संस्मरणमा आत्मश्लाघा अर्थात् व्यक्तिपूजालाई मूलमन्त्र बनाएको पाइन्छ। त्यस्ता पुस्तकको उदेश्य नै जसरी हुन्छ, आफूलाई नायकका रूपमा उभ्याउनु रहेको देखिन्छ। यसले सम्बन्धित पुस्तकको गरिमालाई नकारात्मक रूपमा प्रभावित गर्नुका साथै विषयवस्तुको गाम्भीर्यलाई समेत असर गर्छ।

लेखक आफू मात्र ठीक हुन् बाँकी सबै बेठीक हुन् भन्ने आशयको पुस्तकले कस्तो प्रभाव पार्ला? अवकाशप्राप्त प्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेलको आत्मकथा पढेपछि यही प्रश्न उब्जिन्छ।

उनको पनि यस्तै दाबी छ, ‘म मात्र ठीक थिएँ, दरबार, सेना र मेरा हाकिमहरू पूर्णत: गलत थिए।’

यसबाट लेखकको अहंकारी, संकीर्ण र नकारात्मक सोचाइ उजागर हुन्छ। यसबाट लेखकको उचाइ घट्नुका साथै उहाँमा इमानको कमी देखिन्छ। किनकि इमान भएको व्यक्तिले आफ्ना गल्ती र कमीकमजोरी पनि स्वीकारी उल्लेख गर्छ। गल्ती नै नगर्ने वा कमीकमजोरी नै नहुने कोही होला र?

लेखकले आफू नेपाल प्रहरीको इन्स्पेक्टर पदमा नियुक्त हुनुअघि नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदको भर्ना छनोटमा असफल भएको प्रसंग पुस्तकमा किन छुटाउनुभयो?

पुस्तकलाई सनसनी बनाउने नाममा समाजलाई अपाच्य हुने सामग्री प्रस्तुत गर्नु लेखकीय मर्यादाभित्र पर्ला? कालोलाई कालो र सेतोलाई सेतो देखेजस्तो भन्दा वास्तविकता पृथक् हुन्छ। यो नबुझी लेखेपछि पाठकले लेखकको स्तर भने मापन गरिरहेकै हुन्छ।

आखिरमा लेखक खरेलले के विरासत छाडेर जानुभयो, जसकारण उहाँलाई पाठकले चीरकालसम्म सम्झून्? उहाँले पुस्तकको पृ. ३०५ मा आफ्नो प्रहरी प्रमुखको दोस्रो कार्यकालमा २०५५ सालतिर आफू मातहतका एकजना प्रहरी अधिकृतमार्फत ४० लाख रुपैयाँ उठाउन लगाई चुनावी खर्च (आम निर्वाचन) को रूपमा नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ३० लाख  र नेकपा एमालेलाई १० लाख रुपैयाँ दिएको उल्लेख गर्नुभएको छ। आफ्नो कुर्सी बचाउन वा त्यसको म्याद लम्ब्याउनका लागि आफ्नो पदीय मर्यादाभन्दा बाहिर रहेर काम गर्न नपर्ने उहाँको बानी रहेछ।

त्यो पुस्तकमा के चाहिँ छ र जसलाई पढेर पाठकले भनून् वा सोचून् कि- ‘वाह, आईजीपी होओस् त खरेल जस्तो।’ उहाँले प्रहरी संगठनको वृत्तिविकासमा के चाहिँ योगदान दिएर जानुभयो, जसकारण उहाँलाई सकल दर्जाका प्रहरी अधिकृत तथा जवानले सदैव सम्मानपूर्वक लिऊन्?

मैले त केही पाइनँ।

लेखकले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको कुन चाहिँ विषयवस्तुबाट पाठकलाई उहाँको पथ अनुशरण गर्न प्रोत्साहन वा प्रेरणा मिल्ला ? मैले त केही पाइनँ।

यद्यपि पुस्तकमा एउटा सकारात्मक सन्देश छ- जस्तोसुकै विषम परिस्थितिमा पनि हार मान्नु हुन्न।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad