अरुणिमा देवगृहको शिखर चुम्बनपश्चात् गर्भस्थ स्वर्ण कलशमा प्रतिविम्बित हुँदै थिइन्।
वायुमण्डल सुगन्धित धुवाँले व्याप्त थियो। वातावरण ढोल नगराको मधुर ध्वनि र मन्त्रवाचनले गुञ्जायमान थियो। दिव्यात्माहरू स्वर्गलोक गमनका लागि प्रतीक्षारत थिए। कमल पुष्पको स्थान लिनका लागि रुधिर बिन्दुहरू प्रयासरत थिए।
ती सर्वदा अबोध आत्माहरू करुण क्रन्दनका साथ स्थूल देह त्याग गर्न विवश देखिन्थे र उनीहरूको रोदनले राक्षसवृत्तिलाई थप प्रफुल्लित बनाइरहेको थियो।
विधिवत् रूपमा अनुष्ठान सफल हुँदै गर्दा मानवहरू दानव हुँदै गए र उनीहरूका षठ्विकार थप प्रदीप्त हुँदै थिए। लहुबिन्दुहरूलाई प्रसाद मान्दै भक्तजनहरूको रसना लपलपाएको देख्दा घण्टाकर्ण स्तब्ध भयो। दिव्य सुगन्ध विलीन भयो। अनि पाषाण प्रतिमाबाट अश्रुविन्दु प्रकट भयो।
लेखकबाट थप:
लघुकथा: रोपाइँ
Shares

प्रतिक्रिया