असारे खेतमा धान रोप्न गएका जग्गाधनीहरूले खेतीपातीको सबै प्रबन्ध मिलाउन एउटा मुखिया चुनेका थिए।
उनीहरू टन्टलापुर घाममा धान रोप्दै गर्दा मुखियाचाहिँ छाता ओढ्दै अरूलाई छुट्याएको खाजा खाँदै थियो।
उसले श्रीमती र छोराको लागिसमेत खाजा लुकाइसकेपछि सबै खेतालाहरूलाई खाजा खान बोलायो। खाजा अपुग थियो, अतृप्तिमै सबैले चित्त बुझाए।
धान भित्र्याउने बेला आयो। खर्च कटाउँदा प्रत्येक जग्गाधनीको भागमा २ पाथी धान पर्यो र बाँकी धान मुखियाले आफ्नै घरमा भित्र्यायो।
असन्तुष्ट केहीले मुखियाको भकारीमा आगो लगाएर सबै खरानी बनाइदिए र अर्को मुखिया चुने।
असारमा नयाँ मुखियाले रोपाइँ गराउन सकेन। धान फल्ने खेतमा घाँस उम्रियो। अनि, यो पालि सबै जना भोकै भए।
अर्को वर्ष फेरि पुरानै मुखियाले खेत रोपाइँ गरायो। तर, यसपाली जग्गाधनीहरूले धानको सिला खोजेर गुजारा गरे।
अवस्था झनै विकृत भयो।
Shares

प्रतिक्रिया