साहित्य


कविता : उनीहरूको सपना गोलीभन्दा शक्तिशाली छ

कविता : उनीहरूको सपना गोलीभन्दा शक्तिशाली छ

भुइँमान्छे
असोज ८, २०८२ बुधबार १६:५, काठमाडौँ

सिंहदरबार खरानीले खाग छ 
हरेक तला, भुँइतलाहरू अन्धकार छन् 
झ्यालभित्रका हीराजस्ता बत्तीहरू निभेका छन् 
तर सडकमा
जेनजीको रगतले रातलाई जलाइरहेछ।

म देख्छु
आमा छाती पिटेर रोइरहेको 

बाबा पिँढीछेउमा टोलाइरहेको,
दिदीको हातको माेबाइलमा देखिएको रगतले लत्पतिएको सेतो जुत्ताको रगतको टाटो 
अझै सुकेको छैन 
आमा र बाका आँखा अझै ओभाएका छैनन्
ओसिलै छन् 
‘मेरो छोरा अब फर्किँदैन’
भन्दै 
हिक्कहिक्क गरिरहेकी आमाको 
सास अड्किएको छ।

ओ सरकार !
तैँले देखिनस्
गोलीले चिचिला भुटेको
टाउको र छातीमा गोली लागेर ढलेको
प्रत्येक लासले
सडकमा भविष्यको बिरुवा रोपिरहेको छ।
जेनजीको आँखा
अब डराइरहेको छैन
अग्निजस्तै बलिरहेको छ।
उनको रगत
संविधान संसाेधनको मसी बन्न खोजिरहेको छ।

ओ सरकार!
तिम्रो गोलीले शान्तिपूर्ण र्‍याली गरिरहेका
जेनजीलाई ढाल्यौ,
तर उनीहरूको सपना
गोलीभन्दा शक्तिशाली छ।
उनीहरूको रगत
भोलिको उज्यालाे हो।
आमाको आँसु
देशको नदी हो।
बाबाको मौनता
हरेक नेपालीको गर्जन बन्नेछ।
आज सिंहदरबारसँगै
सिंगो देश जलिरहेको छ,
तर भोलि खरानीमाथि
नयाँ बिहान उदाउनेछ।

किनकि,
जेनजी ढले पनि
उठ्छन् उनका देशप्रेम,
बाँच्छन् उनका सपनाहरू
युगौँयुग बाँच्नेछ नेपाल 
जलेर खरानी बनेको 
नेपाल फेरि उठ्नेछ 
नेपाल बनाउन 
हामी फेरि जुट्नेछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad