अदुअआको स्टिङ अप्रेसनमा दस हजार रुपियाँसहित रंगेहात पक्राऊ परेछ– हीरा।
त्रिविबाट गोल्डमेडल थापेको तेस्रो वर्ष लोकसेवाबाट अधिकृत भएको थियो– ऊ।
‘प्लिज सर!’ हीराले भन्यो।
पक्राउ परेपछि अभियुक्तले ‘प्लिज सर’ केका लागि भन्छ भन्ने स्टिङ अप्रेसनमा निस्किने कर्मचारीलाई थाहा नहुने कुरा थिएन।
हीराले सातपटक जति ‘प्लिज सर’ भन्यो र सुनुवाइ नभएपछि चुपचाप मोटरमा बस्यो।
सात महिनाअघि उसकै ब्याचको अधिकृत स्टिङ अप्रेसनमा परेको थियो। उसको निलो कोट, सेतो सर्ट, निलो प्यान्ट र हाते ब्याग समेत झारझुर पार्दा जम्मा चौध लाख, पचास हजार फेला परेको थियो।
ज्वाइँ पक्राउ परेको समाचार सुनेपछि ससुराले भनेका थिए रे– ‘डाक्टरलाई नदिएर सेक्सन अफिसरलाई छोरी दिएकोमा मलाई पछुतो थियो। अब त्यो रहेन। केही गर्ने खालकै, दह्रो मुटु भएकै ज्वाइँ परेछन्।’
हीराले आफ्नो गोजीमा भेटिएको दस हजार सम्झियो।
उसलाई लाग्यो– ‘लाख, करोड घुस डिल भइरहेको समयमा जाबो दस हजार! अफिसमा पनि माथिसम्म खासै पहुँच नभएको ठान्ने भए! हेप्ने भए। साथीहरूले पनि ‘दसहज्जारे’ भन्ने भए! बेइज्जतै हुने भयो।’
धेरैबेरदेखि चुपचाप बसेको हीरा फेरि बोल्यो– ‘प्लिज सर, रकम चैँ अलिक बढाइदिनोस् न प्लिज! यति थोरै रकमले गर्दा नाक देखाउन गाह्रो हुने भयो क्या! प्लिज सर!’
Shares

प्रतिक्रिया