सामन्तका नाइकेहरू
दक्षिणपन्थी गीत गाउँदै
पुनरुत्थानवादी गधा घिसारेर
साँढे जस्तो डुक्री बस्छन्
आफूलाई अब्बल राष्ट्रवादी भनाएर।
तिमीहरू बुख्याँचा जस्ता देखिन्छौ
लामालामा हातखुट्टा भएका
लामालामा नङ्ग्रा पालेका
अद्भूत भूत जस्ता
तिमी कठपुतली बनेर
हाम्रो बाटो अवरुद्ध पार्न खोज्छौ किन?
तिम्रो अवरोधसँग किन डराउने?
तिमी मालिकको तलुवा चाट्छौ
हामी मालिकको तलुवामा थुकी दिन्छौँ।
तिमी धर्मको बुइ चढेर
विष्णुको अवतारलाई पुज्छौ
हाम्रो कुनै धर्म छैन
हाम्रो कुनै जात छैन
हाम्रो कुनै वर्ण छैन
हामी त श्रमिकलाई पुज्छौँ।
तिमीले दिएको सास्ती भोगेर
हामी कति निरीह बन्यौँ?
तिमी सत्ता उन्मादले अट्टहास गर्थ्यौ
हामी सडकमा रोइ बस्थ्यौँ
तिम्रो अत्याचार खप्न नसकी
हामी एकाकार भएका हौँ
तिमी हाम्रो एकतामाथि
कहिले धर्मको नाममा
कहिले भाषाको नाममा
कहिले जातको नाममा
कहिले भूगोलको नाममा
कहिले राष्ट्रियताको नाममा
हामीलाई विभाजित गरी
चलखेल गर्न खोज्दै छौ
तिम्रा कुत्सित सपना कहाँ पूरा हुन्छन् र?
हाम्रो एकता अझ दर्बिलो भएपछि।
तिम्रो नायक
आफनै सालिकनेर उभिएर
आफैलाई पिच्च थुक्छ
दिक्दारिन्छ
आत्म ग्लानिले छट्पटाउछ
इतिहासका निर्मम अत्याचार सम्झेर।
गद्दारहरू राष्ट्रघात गरिरहेछन्
निष्ठा र सिद्धान्त गुमाएर
इतिहासको संगीन घडीमा
देशलाई बर्बाद पार्ने गरी
आफ्नो नैतिकता आफै बेच्दै
अनुहारविहीन मुर्कुटाजस्तो भएका छन् तिनीहरू।
तिमीहरूलाई के थाहा?
देश कसरी दुख्छ?
सदियौँदेखि देश लुट्नेहरू
राष्ट्रवादको चर्को नारा लगाउँदै
हाम्रो आँखामा छारो हाल्दै छन्
जिउँदो मुर्दालाई काँधमा हालेर
नाटकीय रूपमा
देश दौडाहमा निस्किएका छन्
सत्ता कु गर्ने दिवास्वप्न देखेर
महाशय,
हामीलाई कमजोर नठानियोस्
हामी न्याय, समानता र मुक्ति खातिर
जीवन उत्सर्ग गर्ने मान्छे
रगत र बलिदान हाम्रो निशानी हो
हामीलाई कुनै किसिमको अतिवाद सह्य छैन
हाम्रो स्वतन्त्रता
हाम्रो मौलिक हक
हामीले ढुक्कसँग उपभोग गर्न पाउनु पर्छ।
Shares

प्रतिक्रिया