म एकदिन भित्रिरहेँ-
धेरै भित्र,
त्यहाँ एउटा कुना थियो-
जहाँ मेरा पुराना आँसुहरू
कसैले छोएको थिएन,
एक मौन संवाद,
जसले मलाई टुक्र्याएको थियो
र फेरि जोडेको थियो,
अनौठो प्रेमले।
तर, एउटा रात
जब आँसुले प्रार्थना गर्यो,
त्यस पल म तातो ओसजस्तै
समयको काखमा पग्लिएँ।
त्यसपछि म हिँडे
तर्कभन्दा पर, नामभन्दा टाढा
एक यस्तो बाटोमा
जहाँ बिर्सनु नै सम्झनु हो
एकरात मौनताको बीचमा,
शब्दहरु निदाउँछन्
र चेतना उड्न थाल्छ
त्यस क्षण
न त पृथ्वी रह्यो,
न आकाश,
र न म-
रह्यो केवल
एउटा अनुभूति-
अमूर्त, तर गहिरो-
अलौकिक, तर चिरपरिचित।
हो, यही यात्रा जहाँ पुग्न
हिँड्नु पर्दैन
तर आफैँमा हराउनु पर्छ
जहाँ म हराएर
अन्ततः आफैँलाई भेटेको थिएँ।
Shares

प्रतिक्रिया