प्रतिगमनको खास्टो ओडेर
पश्चगमनको घोडा उफार्दै
मुकुट पहिरिने दिवास्वप्नका साथ
निर्लज्ज सडक चहारी हिड्दै छ।
सण्ड, मुण्ड नचाई
आफू अदृश्य जस्तो भएर
जिब्रो मिठ्याएर
काँचो रगतको होली खेल्नलाई
मौका छोपी
चौका हान्न
ऊ सधैँ आतुर छ।
विवेक शून्य बनाएर
जन्मजात सिंहासनमा बस्नु पर्ने
जतिसुकै नालायक भए पनि
हामी रैती भै जदौ गरिहनु पर्ने
तिमी कुन पुरको सम्राट हौ?
तिमीलाई के आधारमा सम्राट मान्नु पर्ने?
तिम्रो दम्भ
तिम्रो घमण्ड
तिम्रो हुङ्कार
तिम्रो आडम्बर
कहिले सम्म क्षम्य होला?
लक्ष्मण रेखा नाघ्ने कोसिस नगर्नू
त्यो तिम्रो दुर्भाग्य हुने छ
तिम्रो कथित इतिहास
तिमीले पढ्नै नपाई
चिहानघारीमा पश्चातापले
रोइ बस्ने छ।
हामीलाई प्रताडित बनाएर
हाम्रा हक अधिकार खोस्नको लागि
तिमी मतियार बनेर
हाम्रो रोदन र क्रन्दनलाई
विशृङ्खलित बनाउने धृष्टताका साथ
हुकुमादेश जारी गरी
तिम्रा आउरे बाउरेहरूलाई
प्रतिक्रान्तिका लागि उकासेर
तिमीले स्वयं विवेक गुमाई
हामीमाथि डण्डा वर्षाएका हैनौ र!
मैले बिर्सेको छैन
मलाई हत्कडी लगाई
मेरो स्वतन्त्रता खोसेर
म पीडाले छट्पटिँदा
तिमी अट्टहास गरी
मेरो ज्यानमाथि धावा बोल्दै
निर्घात, निर्घात पिटेपछि
मर्यो भन्ठानी
जङ्गलमा बेवारिस फाली
एक फुलीको दर्ज्यानी चिन्ह पहिरिएर
मालिकको पाउ सुम्सुम्याई
तिमीले विजयोत्सव मनाएका थियौ हैन र?
तिमीले मर्यो भन्ठानेको
म जिउँदो सपुत हुँ
म बौरिएर
मैले मेरो देश खोजेँ
म बौरिएर
मैले मेरा वा आयाका सपनाहरू खोजेँ
तिमीले पत्तै नपाई
मैले अर्को क्रान्ति रोजेँ।
तिमी त वधिक हौ
काँचो मासु चपाउने
तिम्रा बङ्गारा झारी
थोते बनाउनु पर्ने
तिमी मालिकको तलुवा चाटी निदाई बस्यौ
सायद तिम्रो संसार त्यही थियो
गुन बैगुन नछुट्याई बस्यौ।
तिम्रो मालिक सधैँ हरियो देख्छ
जन्मजात साँढे भए जस्तो
फाँ फाँ र फूँ फू गर्छ
पशुपतिमा डामेर छोडिएको साँढे
न जोत्न हुन्छ
न गाडा तनाउन हुन्छ
साँढे निहुँ खोजिरहन्छ किन?
साँढेलाई पुनः डामे हुन्छ।
Shares

प्रतिक्रिया