मरेको स्याल बोकेर
एक हुल प्रतिक्रान्तिकारीहरू
गद्दी आरोहणको
दिवास्वप्न बाँडिरहेछन्।
म पीडाले छटपटिन्छु
मैले यातना गृहमा
कयौँ मिठा सपना लुटाएर
आमाहरू रोइरहेको त्यो क्षण
मैले भुल्न सकेको छैन
आवाज दमित बनाई
हाम्रै शरीरमाथि
नरपिशाच निर्लज्ज बुर्कुसी मारेको
त्यो क्षण पनि त मैले भुलेको छैन।
मेरो सहिद
मलाई उर्जा भरिरहेछ
क्रान्ति विमुख नबन
सपनाहरू अधुरै होलान्
देश निर्माणको अभिभारा पनि त पूरा गर्नु छ
गरिबहरू अकालमा मरिरहेका होलान्
तिनीहरूलाई हात मुख जोर्ने व्यवस्था मिलाउनु पर्दैन र?
तिमी सपूत बन
तिम्रो काँध जिम्मेवारी बोधले थिचिएको हुनु पर्ने।
म त गौरवान्वित छु
तिम्रो महान् कार्यप्रति
तिमी मरेर बाँच्यौ
तिम्रो मृत्यु
अविस्मरणीय क्षण थियो
म तिमीलाई सलाम गर्छु
तिमी क्रान्ति नायक
तिमीले खनेको मूलबाटो
म सधैँ खनिबस्छु।
सयौँ वर्षको दासत्वको जञ्जिर चुँडालेर
हामीले मुक्ति खोजेका हौँ
सामन्तहरूको हर्कत खप्न नसकी
हामीले युद्ध रोजेका हौँ
तिमी दलाल भएकै कारण
हामी तिमीमाथि जाइलागेका हौँ।
हामी खुला आकाशमा
स्वतन्त्रपूर्वक विचरण गर्न चाहन्छौँ
हामी विशाल धरतीमा
निर्बाध आवतजावत गर्न चाहन्छौँ
हामीलाई हस्तक्षेप स्वीकार्य छैन
हामी उन्मुक्त नाच्न चाहन्छौँ।
तिम्रा पखेटाहरू काटिनु पर्थ्यो
उदार भई त्यसै छोडिदिँदा
तिमी फट्फटाउन थाल्यौ
तिम्रो गुँड कहाँ छ?
गुँड सुरक्षित राख
चल्लाहरू कोरल्ने सपना नदेख
हामी गुँड भत्काएर
तिमीलाई घर न घाटको बनाउन सक्छौँ।
क्रान्तिको ज्वाला निभिसकेको छैन
क्रान्ति व्यवस्थापन भैनसक्दा
प्रतिक्रान्तिहरू जमर्को गर्छन्
तिनीहरूको प्रेतात्मालाई तर्साइ
क्रान्तिको ज्वारभाटा उठाउनु छ
प्रतिक्रान्ति अवसान हुने गरी
ओ क्रान्ति नायकहरू!
तिमीलाई बाटो बिराउने छुट छैन
वैरीहरू छिद्र खोजिरहेछन्
तिनीहरूको मुख टाल्ने गरी
तिमीले सुशासन दिन सक्नु पर्छ
तिमी लाचार बन्नु हुँदैन
तिमीले युग हाँक्नै छ
तिमी रगत माग
बरु हामी सेरिन तयार छौँ
देशको अस्मिता लुटिनु हुन्न
देश हाम्रो हो
प्रतिक्रान्तिको कुनै गुञ्जायस नराख
हामीलाई प्रतिगमन सह्य हुँदैन।
Shares

प्रतिक्रिया