बागमती


अनलाइनबाटै ब्लुबुक नवीकरण र हात-हातमा लाइसेन्स दिने तयारीमा छौँ : मन्त्री महर्जन (अन्तर्वार्ता)

अनलाइनबाटै ब्लुबुक नवीकरण र हात-हातमा लाइसेन्स दिने तयारीमा छौँ : मन्त्री महर्जन (अन्तर्वार्ता)

सुनिता विष्ट
फागुन २९, २०८१ बिहिबार १८:९, हेटौँडा

बागमती प्रदेशमा रहेका १४ मन्त्रालयहरू मध्येको एक मन्त्रालय हो, श्रम रोजगार तथा यातायात मन्त्रालय। राजश्व संकलनमा समेत अब्बल देखिएको यस मन्त्रालयले पछिल्लो समय यातायातको क्षेत्रमा सुधार ल्याउन नविनतम कार्यहरू गर्दै आएको छ। जसमध्येको प्रमुख कार्य हो सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेसन) को सुरुवात गर्नु।

प्रदेशका ४ वटा यातायात कार्यालयहरू मार्फत सवारीको विद्युतीय अभिलेख राख्न सुरु गरिएको छ। डिजिटाइजेसनका लागि मन्त्रालयले १ सय जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरेको छ। यो व्यवस्था लागू भएपछि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने मन्त्रालयले जनाएको छ। यी र यस्तै विषयमा केन्द्रित रहेर बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनसँग नेपालखबरले गरेको कुराकानी:

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको ८ महिना पूरा भयो, कस्तो हुँदै छ कार्यकाल?
ठिकै छ। केही गर्छु भन्ने हुटहुटी लिएर प्रदेश सरकारमा सहभागी भइयो। यो ८ महिनको दौरानमा हामीले यातायातको क्षेत्रमा निकै फड्को मारेका छौँ भन्ने अनुभव गरेका छौँ। विभिन्न यातायात क्षेत्रका साथीहरूसँग छलफल गर्ने क्रममा थुप्रै खालका नीतिगत कुराहरू र गर्नुपर्ने कामहरूको बारेमा छलफल गरेका छौँ। जे होस् मज्जा लागिरहेको छ।

बागमतीमा मात्रै ८ भन्दा बढी सवारी चालकहरू सवारी लाइसेन्सको पर्खाइमा छन्, उनीहरूले लाइसेन्स कहिले पाउने?

यस्तो छ, नवीकरण र नयाँ गरि बागमतीमा हामीले ८ लाख ५० हजार लाइसेन्स दिन बाँकी छ। त्यसमा हामीले एकैपटक साढे ८ लाख लाइसेन्स दिन सक्ने अवस्था छैन। त्यसकारण प्रत्येक सवारी चालकहरूको लाइसेन्स डिजिटाइजेसन गरिसकेका छौँ। नागरिक एपमा हेर्न सक्नुहुन्छ। यो युग भनेको विज्ञान र प्रविधि तथा आइटीको युग हो। 

सकेसम्म हामी आइटीलाई प्रयोग गरेर कसरी सुशासन दिने भन्ने तर्फ अग्रसर छौँ। त्यसको सुरुवात भनेको प्रत्येक मोबाइलमा भएको नागरिक एपमा लाइसेन्स दिनु हो। अहिले बागमती प्रदेशको हकमा कुनै पनि चालकहरूले गल्तीमा लाइसेन्स बोकेर हिड्ने झन्झट गरिरहन आवश्यक छैन। ट्राफिकको चेकिङमा पर्दा नागरिक एपमा गएर क्यूआर कोड सहितको लाइसेन्स देखाउन सक्नुहुन्छ।

तर, सबै सवारी चालकहरूसँग स्मार्ट फोन उपलब्ध नहुन पनि सक्छ, नागरिक एप चलाउन नजान्ने चालकहरू पनि हुनुहोला। उहाँहरूको लागि त गोजीमै लाइसेन्स बोक्नुको विकल्प छैन, कागजमै प्रिन्ट भएको लाइसेन्स कहिले आउँछ?
पक्कै पनि। तपाँइले उठाउनु भएको सवाल पनि जायज हा। तर पछिल्लो समय ८० देखि ९० प्रतिशत मानिसहरूसँग स्मार्ट फोन छ। घाँस काट्ने किसान देखि सबैको हातमा स्मार्ट फोन उपलब्ध छन्। यदी छैन भने पनि लाइसेन्सको डिजिटल कपी साथमा राख्न सक्नुहुन्छ। स्मार्ट फोन नभएका त्यस्ता सवारी चालकहरूलाई प्राथमिकतामा राखेर हामी मन्त्रालयको तर्फबाट छिटो लाइसेन्स वितरण गर्ने लिष्टमा राखेर लाइसेन्स वितरण गर्ने प्रक्रिया थाल्छौँ।

यहाँको भनाइ अनुसार लाइसेन्स विरतणका लागि चालकहरूसँग लाइसेन्स छ कि छैन भनेर मन्त्रालयले तथ्यांक निकाल्छ?
होइन। ठ्याक्कै त्यस्तो तथ्यांक आउन सम्भव नहोला, तर कोही सवारी चालकहरूले मसँग स्मार्ट फोन भएन। लाइसेन्स छिटो चाहियो भनेर प्रमाण सहित मन्त्रालय आउनुभयो भने उहाँहरूलाई प्राथमिकतामा राखेर लाइसेन्स दिने हो। 

अब छिट्टै हामीले लाइसेन्स छपाईको काम सुरुवात गर्दैछौँ। तर पछिल्लो समय सवारी चालकहरू आफै नागरिक एपमा भएको लाइसेन्स देखाउन उत्साहित देखिनु भएको रिर्पोटिङ छ। काठमाडौँको उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि यसलाई मान्यता दिइसकेको अवस्था छ। अनलाइनबाटै जरिवाना तिर्ने सवारी चालकहरूको समेत बृद्धि भएको तथ्यांक छ।

अहिले बागाती प्रदेश सरकारले सवारीका पुराना ढड्डाहरूलाई डिजिटाइजेसन गर्न सुरुवात गरेको छ। हालसम्म कति फाइल विद्युतीय प्रणालीमा लान सकियो ? कसरी काम भैरहेका छन्?
यो एकदमै राम्रो भैरहेको छ। गत फागुनको ५ गते गुर्जुधाराबाट उद्घाटन गर्यौं। हालसम्मको अवधिमा करिब १० हजार ढड्डाहरू डिजिटाइजेसन भएको तथ्यांक छ। अहिले ४ वटा यातायात कार्यालयबाट सुरु भएको यस प्रक्रियालाई अब सबै यातायात कार्यालयहरूमा विस्तार गरेर छिट्टै सबै पुराना ढड्डाहरूलाई विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने लक्ष्यमा छौँ।

डिजिटाइजेसन गर्नुपर्ने ढड्डा कति छन्?
मोटामोटी २६ लाख जति ढड्डाहरू छन् भन्ने छ। बागमती प्रदेशमा मात्रै।

कति समय लाग्ला यो सबै फाइलहरूलाई विद्युतीय प्रणालीमा लैजान?
यी फाइलहरूलाई डिजिटाइज गर्नको लागि २ वर्ष लाग्ने हामीले अनुमान गरेका छौँ। हाम्रो टोटल प्याकेज भनेको २ वर्षभित्रमा सकाउने भन्ने हो। त्यसकारण अझ यसलाई हामीले कसरी छिटो छरितो रुपमा गर्न सक्छौँ भनेर विकल्पहरू निकालेका छौँ। त्यस्तो विकल्प भनेको चाहिँ उनीहरूलाई ओभरटाइमको ज्याला उपलब्ध गराएर भए पनि छिटो सकाउने भन्ने हो। अनुमान गरिएको दुई वर्ष भन्दा पनि एक/डेढ वर्षमै काम सकाउनका लागि हामी लागिपरेका छौँ।

डिजिजाइजेसन भएपछि नागरिकले पाउने महत्वपूर्ण सुविधा के हो? कति आवश्यक छ यो?
हाम्रो मुख्य उदेश्य भनेको सुशासनको हिसाबले जनताहरूलाई सर्भिस दिने क्रममा यातायात कार्यालयसम्म जानु परेन भने सुशासनले दिने जुन माहोल हो, त्यो सिर्जना हुन्छ। चालक र यातायात कार्यालयका कर्मचारीहरूबीच भएका दुरी कम गर्दै जाने हाम्रो लक्ष्य हो। यो भएपछि लाइसेन्स देखि बिल बुक र सम्पूर्ण कुराहरू अनलाइन प्रणालीबाट हात/हातमा दिने काममा अगाडि बढेका छौँ।

प्रदेशका १४ वटा मन्त्रालयहरू मध्ये सबैभन्दा धेरै राजश्व संकलन गर्ने मन्त्रालय पनि हो श्रम रोजगार तथा यातायात मन्त्रालय, ७ महिनामा लक्ष्यको झण्डै ६० प्रतिशत राजश्व संकलन भैसकेको अवस्था छ। आ.व को अन्तयसम्म कति राजश्व संकलन होला?
६४ अर्बमाथिको हाम्रो कुल बजेट हो। त्यो कुल बजेटमा हाम्रो यातायात क्षेत्रबाट १३ अर्ब रुपैयाँ संकलन गर्छौँ भन्ने अनुमान छ। तर यो आर्थिक वर्षमा १३ अर्बभन्दा बढाउने मेरो लक्ष्य हो। लक्ष्यभन्दा पनि माथि पुग्ने अनुमान पनि बढेको अवस्था छ।  

बागमतीमा सवारी कर बढी भयो भन्ने आम नागरिकको जनगुनासो बढ्दो छ, राजश्व संकलनलाई मात्रै ध्यानमा राख्दा नागरिकहरू मारमा परेका हुन् कि?
छैन छैन। त्यस्तो खालको जनगुनासो आए जस्तो त मलाई लाग्दैन। करकै हिसाबमा हामी बढी त छैनौँ। तर एक दुई वटा प्रदेशहरूले आफ्नो प्रदेशमा कर छुटको व्यवस्था गर्नुभएको पाइयो। कर छुट दिएपछि आफ्नो प्रदेशमा सवारी दर्ता गर्न आउनुहुन्छ कि भनेर कर्णाली प्रदेशले पनि छुटको व्यवस्था गरेको रहेछ। मधेस प्रदेशमा पनि कर केही कम छ। यो हिसाबले हाम्रोमा धेरै भएजस्तो देखिएको मात्रै हो। अन्य प्रदेशको तुलनामा बागमतीमा समान सवारी कर लागू छन्।

यस मन्त्रालयले यातायातको क्षेत्रमा मात्रै नभएर श्रम र रोजगारका क्षेत्रको समेत दायित्व बोकेको छ। यस क्षेत्रमा के के गतिविधि भैरहेका छन्? रोजगारी सिर्जना गर्न मन्त्रालयको भूमिका के छ?
हामीले श्रम, रोजगारका क्षेत्रमा युवाहरूलाई लक्षित कार्यक्रम ल्याउन लागेका छौँ। त्यसमा प्रदेशका १ हजार जना युवाहरूलाई रोजगारी मुलक तालिम दिन खोजिरहेका छौँ। त्यो भनेको आइटी क्षेत्रसँग सम्बन्धीत रहने छन्। पछिल्लो एउटा अध्ययन गरेको थिएँ मैले। त्यो अध्ययन अनुसार बागमतीमा झण्डै २५ हजार युवाहरूले काम गर्न सक्ने आइटी क्षेत्रको मार्केट खाली छ। 

खाली भएका बजारलाई हामी किन ट्याप नगर्ने? यहाँका युवाहरूलाई दक्ष बनाएर रोजगारी प्रदान किन नगर्ने? भन्ने मनाशायले अन द जब ट्रेनिङ दिन खोजिरहेका छौँ। जसले सीप सिकेपछि पहिलो महिनाबाटै ४५/५० हजार रुपैयाँ आम्दानी गर्न सक्छन्। जसका लागि हाम्रो मन्त्रालयले प्रति व्यक्ति ५ लाख रुपैयाँ कोषमा जम्मा गरिदिन्छ, तालिम पछि काम गरेको तलब आउन थालेपछि मन्त्रालयलाई किस्तामा रकम फिर्ता गर्नुपर्ने हुन्छ। यसबाहेक महिलाहरूलाई नै प्राथमिकतामा राखेर सीपमा जोड्न सीपमुलक तालिमहरूमा पनि लगानी बढाइरहेका अवस्था छ।

अन्त्यमा, विद्यार्थीकालबाटै राजनीतिमा लागेर दशकौं बिताइसके पछि अहिले बागमतीको मन्त्रालय सम्हाल्नु भएको अवस्था छ, कत्तिको चुनौती रहेछ मन्त्रालय सम्हालेर जनताको काम गर्न?
चुनौती त पक्कै पनि छ। एउटा मान्छे जन्मेदेखि नमर्दासम्म नै चुनौती बोकेरै हिड्नुपर्ने हुन्छ। तपाँईहरूको यो पेशामा पनि आफ्नो तर्फको चुनौतीहरू होला, चुनौतीको पाटो मात्रै फरक हुने हुन्। मैले मन्त्रालय सम्हाल्दै गर्दा कहिले नीतिगत चुनौती छन्। कतिपय कार्यक्रम कार्यान्वयन गर्ने क्रममा चुनौती छन्। कर्मचारीहरूबीच सहकार्य नमिलेको अवस्थामा पनि काम गर्न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। तर चुनौतीका बावजुद पनि हामीले केही गर्नुपर्छ भन्ने भावना अगाडि ल्याएका छौँ। 

मलाई लाग्छ, कार्यालय प्रमुखहरूको पनि राम्रै सहयोग र सहकार्य पाइरहेको छु। म मन्त्री हुँ, सबै कर्मचारी मेरै क्याबिनमा आउनपर्छ भन्ने मान्यता म राख्दिनँ। सबै कार्यालय प्रमुखहरूको कोठामा म आफैँ पुग्छु। स्टाफ साथीहरूसँग नियमित छलफलमै रहन्छु। उहाँहरूको गुनासो सुन्छु। समस्या समाधानका लागि प्रयत्न गर्छु। त्यसैले पनि होला सायद, चुनौती भए पनि काम गर्न निकै रमाइलो लागिरहेको छ। मन्त्रीको काम झण्डा हल्लाएर गाडिमा घुम्ने मात्रै होइन, काम पनि गर्छौँ भन्ने पुष्टि गर्न लागिपरेको छु। यसमा सबैको साथ पनि उत्तिकै पाएको छु। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad