नेपाली प्रकाशनगृह नेपालयले सन् २०२५ भित्र ३ वटा फरक विधाका पुस्तक प्रकाशन गर्ने भएको छ। यसका लागि नेपालयले विश्वभरका नेपालीभाषी तथा नेपाली मूलका २५ वर्षमुनिका लेखकलाई खुला आह्वान गरेको छ।
आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा यस सहस्राब्दीमा (सन् २००० यता) जन्मेका लेखकहरूलाई नेपालयले खुला आह्वान गरेको हो।
उक्त प्रकाशनगृहका अनुसार, नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाहरूको खोजी, संवर्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्कोस्वरूप यो आह्वान गरिएको हो।
‘नयाँ वर्षको आगमनसँगै ‘२०२५ मा २५ का २५’ मन्त्र बोकेर यो आह्वानको थालनी हुन लागेको हो,’ नेपालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसअन्तर्गत यसै वर्ष पब्लिकेसन नेपालयले संसारभरि फैलिएका २५ वर्ष वा त्योभन्दा कम उमेरका नेपाली तन्नेरीहरूको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने घोषणा गरेको छ। पुस्तकहरू कथा, कविता र निबन्ध विधाका हुनेछन्।’
यसका लागि ‘एक्काइसौं शताब्दी के सोचिरहेको छ? के लेखिरहेको छ?’ भन्ने प्रश्नमा केन्द्रित रही वर्तमान सहस्राब्दीमा जन्मेका लेखकहरूलाई खुला आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपालीभाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘लेखकहरूले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन्। त्यसैगरी लेखकहरू जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहनेछन्।’
तीन विधामध्ये निबन्धका हकमा यो आफैँमा बन्धनरहित खुला विधा भएकाले यसमा निबन्ध, प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यंग्य, टिप्पणी, ओपेड, कसैलाई सम्बोधन, समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, मिथक, श्रुति आदि सबैखाले रचना स्वीकार्य हुने उनले बताए।
हालसम्म कुनै पनि माध्यमबाट सार्वजनिक नभएका त्यस्ता रचनाहरू बढीमा २५ सय शब्दको हुनुपर्ने प्रावधान राखिएको छ। त्यसैगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरेर तयार पारिएको कुनै पनि लेख वा रचना यो प्रतिस्पर्धाका लागि अमान्य हुने सर्त छ।
तयार रचनालाई २०२५ को फेब्रुअरी २५ तारिखभित्र नेपालयमा पठाइसक्नुपर्नेछ।
यसरी प्राप्त भएका रचनाहरूलाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनौट गर्नेछ। तत्पश्चात् छनौटमा परेका लेख–रचनाहरू विधागत हिसाबले तीनवटा फरकफरक पुस्तकका रूपमा सन् २०२५ भित्रै नेपालयले प्रकाशन गर्नेछ। पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिने र केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिने विज्ञप्तिमा उल्लेख छ।
‘हामीले आफ्ना प्रकाशन र त्यसको प्रवर्द्धनमा नवीनतालाई सदैव प्राथमिकतामा राख्दै आएका छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यो अभियान नयाँ पुस्तामा सम्भावना बोकेर बसेका लेखकहरू कुनै कारणवश अगाडि आउन सकिरहेका छैनन् भने उनीहरूसम्मै पहुँच बनाउने प्रयासको सुरुवात हो।’
नेपालय ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको प्रकाशनगृह हो।
Shares

प्रतिक्रिया