जीवनशैली


वैज्ञानिकको नयाँ खुलासा: भिटामिन डीको कमीले पुरुषमा हुन सक्छ नपुंसकता

वैज्ञानिकको नयाँ खुलासा: भिटामिन डीको कमीले पुरुषमा हुन सक्छ नपुंसकता

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १६:३५, काठमाडौँ

तपाईंमा ‘इरेक्टाइल डिसफंक्सन’को समस्या छ? त्यसो हो भने तपाईंले एकपटक भिटामिन डी स्तर जाँच गर्न जरुरी छ। इरेक्टाइल डिसफंक्सनलाई प्रायः नपुंसकता भनिन्छ। यो यौन सम्पर्कका लागि पर्याप्त इरेक्सन प्राप्त गर्न वा कायम राख्न असक्षम भएको अवस्था हो।

शरीरमा भिटामिन डीको कमीले थकान, हड्डी दुख्ने, मांसपेशी कमजोर हुने र मुड स्विङजस्ता समस्या देखापर्छन्।

तर हालै गरिएको एक अध्ययनले शरीरमा यो पोषक तत्त्वको कमीले यौन जीवनमा पनि धेरै नराम्रो असर पार्न सक्ने खुलासा गरेको छ।

ब्रिटिस जर्नल अफ फार्माकोलोजीमा प्रकाशित अध्ययनले भिटामिन डीको कमी र इरेक्टाइल डिसफंक्सनबीचको सम्बन्ध देखाएको हो।

जसमा भिटामिन डीको कमीले हड्डी र प्रतिरक्षा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने मात्र होइन, पुरुषको यौन प्रदर्शनलाई पनि असर गर्ने उल्लेख छ। 

इरेक्टाइल डिसफंक्सनको समस्या कहिलेकाहीँ सबै पुरुषले सामना गर्नुपर्ने हुन सक्छ। तर तपाईंलाई हरेकपटक यो समस्या देखिइरहेको छ भने जाँच गर्न आवश्यक छ। 

रक्तसञ्चार बन्द हुँदा, स्नायुमा क्षति हुँदा, मनोवैज्ञानिक तनाव हुँदा वा स्वास्थ्यसँग सम्बन्धित कुनै गम्भीर रोग लाग्दा यो समस्या देखिन सक्छ।

अध्ययनमा के भनिएको छ?
अध्ययनका लागि अनुसन्धानकर्ताहरूले मानव र प्रयोगशालामा राखिएका जनावर दुवैको गुप्तांगबाट तन्तुको विश्लेषण गरे। जसबाट भिटामिन डीको कमीले उत्तेजना कम गर्ने पत्ता लगाए।

भिटामिन डीको कमी भएका मुसाहरूमा इरेक्टाइल टिस्युमा ४० प्रतिशतभन्दा बढी कोलाजेन सञ्चय भएको पाइयो। जुन फाइब्रोसिसको संकेत हो र जसले तन्तुलाई कडा बनाउँछ र इरेक्सन ट्रिगर गर्ने संकेतलाई कम प्रभावकारी बनाउँछ।

अनुसन्धानकर्ताहरूले भिटामिन डीको फरक-फरक स्तर भएका मानिसहरूको अध्ययन गरे। अनुसन्धानका  क्रममा त्यस्ता पुरुषको गुप्तांगमा रगतको प्रवाह धेरै कम पाइयो, जसमा भिटामिन डीको मात्रा कम थियो। 

यद्यपि यो अनुसन्धान धेरै कम व्यक्तिमा गरिएको थियो, त्यसैले अध्ययनको नतिजा कति सही छ भनेर पुष्टि गर्न सकिँदैन।

यस स्तरमा अझै धेरै अनुसन्धान गर्न आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad