दाङकी रमा थापा (नाम परिवर्तन) को ११ पटकसम्म गर्भ खेर गयो।
पहिलो सन्तान भएको ५ वर्षपछि रमा गर्भवती भएकी थिइन्। तर, गर्भ बसेको केही हप्तामै खेर गयो। गर्भ खेर गएको केही महिनापछि रमा पुनः गर्भवती भइन्। यसपटक पनि उनको गर्भ खेर गयो। यो क्रम वर्षौँसम्म चलिरह्यो। ७ वर्षमा ११ पटक गर्भ खेर गयो।
पटक–पटक गर्भ खेर गएपछि रमा कमजोर हुँदै गएकी थिइन्। तर, दोस्रो सन्तान जन्माउने चाहना मरेको थिएन। उनी काठमाडौँ आएर स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अचला वैद्यलाई भेटिन्।
डा वैद्य पनि११ पटकसम्म गर्भ खेर गएको सुनेर हैरान भइन्। कारण किन पत्ता नलगाएको भन्दै सोध्न थालिन्। रमा केही बोल्न सकिनन्। डा वैद्यले के कारणले गर्भ बारम्बार गर्भपात भइरहेको छ भनेर पत्ता लगाउन थालिन्। परीक्षणबाट थाहा भयो, रमालाई ‘एन्टिबडी सिन्ड्रोम’ रहेछ। उनको शरीरले बच्चा विरुद्ध नै एन्टिबडी बनाएका कारण गर्भ बस्न नसकेको पत्ता लाग्यो।
डा वैद्यले रमालाई वंशानुगत कारणले यो समस्या देखिएको बताइन्। उपचार गरेर बच्चा जन्माउन सकिने सल्लाह दिइन्। उनको उपचार भयो र रमाले दोस्रो बच्चा जन्माएकी छन्।
चितवनकी सिर्जना अधिकारी (नाम परिवर्तन) को ३ वटा बच्चा खेर गयो। २८ वर्षीया सिर्जना कुनै समस्या पो छ कि भन्दै चिकित्सककहाँ पुगिन्। चिकित्सकले सबै परीक्षण गरे। परीक्षणमा सबै सामान्य देखियो।
एकपटक पाठेघर पनि हेरौँ भन्दै परीक्षण गरे। जसमा सिर्जनाको पाठेघरको बनावट अर्कै देखियो। चिकित्सकले पाठेघरको बनावटका कारण गर्भ हुर्कन नसकेको भन्दै उपचार गर्नुपर्छ भने। उपचारपछि सिर्जनाले १ छोरा जन्माएकी छन्।

चिकित्सकका अनुसार हर्मोनको असन्तुलन, क्रोमोजोममा खराबी, पाठेघरको बनावटमा समस्या, रगतमा संक्रमण, रोग प्रतिरोधात्मक क्षमता लगायतका कारणले गर्भमा रहेको बच्चा खेर जान्छ।
२० हप्तासम्मको गर्भ २ पटकभन्दा बढी खेर गयो भने त्यसलाई गर्भ खेर जानु भनिन्छ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अचला वैद्यका अनुसार पहिलो पटक गर्भपात हुँदा डराउनु पर्दैन। तर दुई पटकभन्दा बढी भयो भने समस्या छ भनेर बुझ्नुपर्छ।
के कारणले खेर जान्छ गर्भ?
डा वैद्यका अनुसार धेरै कारणले गर्भमा रहेको बच्चा हुर्कन पाउँदैन। खेर जानुको एउटा कारण बच्चामै समस्या हुन सक्छ। जसलाई ‘फिटल कज’ भनिन्छ। वंशानुगत नै बच्चा अपांग भयो भने पनि गर्भ खेर जान्छ, त्यसको कारण हो क्रोमोजोममै समस्या।
डा वैद्यका अनुसार गर्भमा बच्चा बन्ने प्रक्रियामा कुनै खराबी भएर वा बिग्रिएर राम्ररी नबने जन्मन र बाँच्न अयोग्य हुने हुँदा प्रकृतिले गर्भबाटै फालिदिन्छ। यसरी गर्भबाट बच्चा खेर जानुलाई आम रूपमा गर्भपात भनिन्छ। यो समस्या लगातार वा अन्तरालमा पनि हुन्छ।
पटक–पटक गर्भ खेर जाने समस्यालाई चिकित्सकहरू ‘रिकरेन्ट मिसक्यारेज’ भन्छन्।
गर्भ खेर जाने अर्को कारण हो, पाठेघरको बनावटमा समस्या। पाठेघरको बनावट र आकारमा फरक भए पनि बच्चा गर्भमा बस्न सक्दैन। यस्तै पाठेघरको भित्री मुखको बनावटमा समस्या भएपछि बच्चा हुर्कन नसकेर पनि खेर जान्छ। यस्तो समस्या महिलामा जन्मजात नै देखिन्छ।
पाठेघरमा ट्युमर हुँदा, क्युरेटका कारण पाठेघर टाँसिँदा र पाठेघरको मुख खुकुलो हुँदा पनि ‘रिकरेन्ट मिसक्यारेज’ हुन्छ। डा वैद्यका अनुसार पाठेघरको मुख खुकुलो भए गर्भावस्थाको बीचतिर ‘मिसक्यारेज’को सम्भावना उच्च हुन्छ।
रगतमा समस्या भएर पनि बच्चा खेर जान्छ। रगतमा कुनै भाइरल इन्फेक्सनका कारण पनि बच्चा गर्भमा राम्रोसँग हुर्कन पाउँदैन।
शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरलाई असर गर्ने ‘अटोइम्युन डिजिज’का कारण पनि गर्भ खेर जान्छ। यसमा शरीरले आफ्नै बच्चालाई चिन्दैन र बच्चाविरुद्ध नै ‘एन्टिबडी’ बनाउँछ। अनि बच्चा खेर जान्छ। अल्ट्रासाउन्ड गर्दा मुटुको धड्कन आउँछ तर केही समयमा मुटुको धड्कन हराउँछ। र, बच्चा खेर जान्छ।
शरीरमा एन्टिबडी उत्पादन भइरहेको अवस्थालाई इम्युनोलोजिकल समस्या भनिन्छ। यो अवस्थामा शरीरमा रगत जम्ने ‘एन्टिफोस्फोलिपिड सिन्ड्रोम’ पनि देखिन सक्छ। यस्तो बेला पटक–पटक गर्भ खेर जान्छ। त्यस्तै, सिस्टेमिक लुपस इरिथेमाटोसस र थाइराइडको समस्याले पनि ‘रिकरेन्ट मिसक्यारेज’ गराउँछ।
‘अटोइम्युन डिजिज’ सामान्यतया वंशानुगत कारणले देखिन्छ। यस्तोमा चिकित्सकको सल्लाह र उपचारमा बच्चा जन्माउनुपर्छ।
त्यस्तै, हर्मोन सम्बन्धी समस्या, मधुमेह, अनियन्त्रित मधुमेह, उच्च रक्तचाप, पोलिसिस्टिक ओभरी सिन्ड्रोम लगायत प्रोजेस्टेरोन हर्मोनको कमीले पनि गर्भ खेर जान्छ।
डा वैद्य बच्चा जन्माउनुअघि शरीरमा कुनै रोग छ कि भनेर परीक्षण गरे यी समस्या कम गराउन सकिने बताउँछिन्। बारम्बार गर्भ खेर गइरहेको छ भने तत्काल चिकित्सकको परामर्शमा जाने, उपचार गर्ने हो भने यस्तो समस्याबाछ बच्न सकिन्छ।
गर्भ किन खेर जान्छ? कसरी रोकथाम गर्ने? उपचार कसरी हुन्छ? यी विषयमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अचला वैद्यको भिडिओ ब्रिफिङ :

प्रतिक्रिया