इन्डियन आइडल विजेता एवम् चर्चित गायक प्रशान्त तामाङको पुस २७ गते बिहान सुतिरहेको अवस्थामा मृत्यु भयो। बिहान उठ्दा शरीर चिसो भएको देखेर उनकी श्रीमतीले अस्पताल लगेकी थिइन्। अस्पताल पुग्दा चिकित्सकले मृत्यु भएको बताए।
चिकित्सकले ‘कार्डियाक अरेस्ट’ अर्थात् अचानक मुटु बन्द भएर उनको मृत्यु भएको बताए।
गत कार्तिक १४ गते नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतम मञ्चमा उभिएर भाषण गरिरहेका थिए। तर, ६५ वर्षीय गौतमको त्यो भाषण अधुरै रह्यो।
बोल्दाबोल्दै अचानक भुइँमा ढले। तुरुन्तै नजिकै रहेको मणिग्रामस्थित क्रिमसन अस्पताल लगियो। अस्पताल पुग्नुअगाडि नै उनको मृत्यु भइसकेको थियो।
चिकित्सकले मृत्युको कारण कार्डियाक अरेस्ट भने।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको पनि सुतेको स्थानमा नै मृत्यु भएको थियो। २०७४ मसिंर ३ गते मृत्यु भएको उनको कार्डियाक अरेस्ट भएको चिकित्सकले जनाएका थिए।
पछिल्लो केही वर्षमा नेपालमा मात्रै नभई विश्वभर नै ‘हिँड्दै गर्दा ढलेर मृत्यु भयो’, ‘सुतिरहेकै अवस्थामा मृत्यु’, ‘जिम गइरहेका युवा अचानक बेहोस भएर मृत्यु’ जस्ता घटना धेरै सुनिन थालेका छन्।
यसरी अचानक हुने मृत्युलाई प्रायः हृदयाघात भनेर बुझिन्छ, तर चिकित्सकहरूका अनुसार यथार्थ फरक छ। धेरैजसो यस्ता घटनाको वास्तविक कारण ‘कार्डियाक अरेस्ट’ भएको उनीहरूको भनाइ छ। यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘सडेन कार्डियाक डेथ’ भनिन्छ।
हृदयाघात भनेको मुटुमा जाने धमनी (कोरोनरी आर्टरी) बन्द भएर मुटुको मांसपेशीमा अक्सिजन पुग्न बन्द हुनु हो। हृदयाघात भएको व्यक्ति बोल्न, हिँड्न, अस्पताल पुग्न सक्छ। हृदयाघात भएको १२ घण्टासम्म अस्पताल पुग्दा पनि बिरामीलाई बचाउन सकिन्छ।
कार्डियाक अरेस्ट भनेको मुटुको चाल नै बन्द हुनु हो। यस अवस्थामा मुटुले रगत पम्प गर्न सक्दैन र व्यक्ति बेहोस भएर तुरुन्त ढल्छ र केही मिनेटमै मृत्यु हुन सक्छ।
चिकित्सकका अनुसार कार्डियाक अरेस्ट हृदयाघातभन्दा पनि खतरनाक अवस्था हो।

के हो कार्डियाक अरेस्ट ?
मुटुरोग विशेषज्ञ डा सहदेव ढुंगानाका अनुसार कार्डियाक अरेस्ट भनेको मुटु बन्द हुनु हो। कार्डियाक शब्दले मुटुलाई जनाउँछ र अरेस्ट भनेको रोकिनु वा बन्द हुनु हो।
जब मुटुको विद्युतीय प्रणाली बिग्रन्छ, मुटुको चाल अनियमित हुन्छ र मुटुले रगत पम्प गर्न सक्दैन, त्यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ।
मुटु हाम्रो यस्तो महत्त्वपूर्ण अंग हो, जुन अहोरात्र चलिरहन्छ। मुटुले हरेक सेकेन्ड एक छिन पनि नरोकीकन अशुद्ध रगत लिएर शुद्ध रगत प्रवाह गर्दछ, शरीरमा। विभिन्न अंगमा भएका कोषिकाहरूलाई पौष्टिक तत्त्व र अक्सिजन पठाउने काम गर्छ।
यसको चाल बन्द भयो, अर्थात मुटु बन्द भयो भने कार्डियाक अरेस्ट हुन्छ।
मुटुको चाल अवरुद्ध हुनेबित्तिकै मानिसको मृत्यु हुन्छ। केही मिनेटसम्म मस्तिष्कमा रगत पुगेन र अन्य अंगमा रगत पुगेन भने अंग मर्न थाल्छन्। अनि बिरामीको मृत्यु हुन्छ।
डा ढुंगानाका अनुसार उनका अनुसार त्यसका लागि मुटुको समस्या हुनुपर्छ भन्ने छैन। शरीरका अन्य अंग बिग्रिएर पनि कार्डियाक अरेस्ट हुन्छ। कुनै संक्रमण शरीरमा फैलियो, मस्तिष्क, कलेजो, फोक्सोमा समस्या भएर विभिन्न अंग ‘फेल’ भयो भने वा क्यान्सर भयो भने पनि कार्डियाक अरेस्ट हुन्छ।
‘सबै कारणले अन्तिममा हुने भनेको कार्डियाक अरेस्ट नै हो। कुनै पनि मानिसको मृत्यु हुन मुटु रोकिनै पर्छ,’ डा ढुंगानाका भन्छन्, ‘हृदयाघातपछि पनि कार्डियाक अरेस्ट हुन सक्छ। हृदयाघात हुनु भनेको मुटुको नली अवरुद्ध भएर मुटुको नसा ड्यामेज भएर हुन्छ। सो क्रममा मुटु फेल हुनु अथवा चाल अनियमित भएर मुटु नै बन्द हुन्छ र यस्तो अवस्थामा कार्डियाक अरेस्ट हुन्छ।’
डा ढुंगाना हृदयाघातका कारण हुने कार्डियाक अरेस्टलाई भने केही हदसम्म बचाउन सकिने बताउँछन्। हृदयाघातका कारण कार्डियाक अरेस्ट भएका ५० प्रतिशत व्यक्तिको घरमा र अस्पताल नपुग्दै मृत्यु हुन सक्छ। कोही व्यक्तिलाई तत्काल सीपीआर दिएर बचाउन सकिन्छ।
हाम्रो शरीरको सबै अंग मस्तिष्कले नै चलाउँछ, मस्तिष्कलाई रगत पुर्याउने काम मुटुले गर्छ। मुटुको काम बन्द हुने बितिकै मस्तिष्कले काम गर्न सक्दैन र मानिसको तत्काल मृत्यु हुन्छ।
मुटुले निरन्तर रगतलाई अक्सिजनसहित शरीरका सबै अंगसम्म पुर्याइरहेको हुन्छ। जब कार्डियाक अरेस्ट हुन्छ, मुटुले अचानक यो काम गर्न छोड्छ। त्यसको असर केही सेकेन्डमै मस्तिष्कमा देखिन थाल्छ।
जसकारण व्यक्ति अचानक बेहोस हुन्छ, श्वास रोकिन्छ र शरीरमा अक्सिजनको आपूर्ति बन्द हुन्छ। ३ देखि ५ मिनेटभित्र मुटुले रगत पम्प गर्न सकेन भने मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र मानिसको मृत्यु हुन्छ।
मुटु बन्द हुने बितिकै शरीरका कुनै पनि अंगले काम गर्न सक्दैन। तर कतिपय अवस्थामा अन्य अंग ‘ड्यामेज’ भएर पनि मुटु चलिरहेको हुन्छ। सो अवस्थामा मस्तिष्क मृत्यु भए पनि मुटु चलिरहेको हुन्छ। मानिसको मृत्यु हुन मुटु बन्द नै हुनु पर्छ।
कार्डियाक अरेस्ट हुँदा केही सेकेन्ड मात्र असहज हुने बित्तिकै व्यक्ति बेहोस भएर लड्छ। केही व्यक्तिमा हिँड्दा छाती दुख्ने, स्वाँस्वाँ हुने लक्षण देखिन्छ। तर, धेरै व्यक्तिमा कुनै लक्षण नै नदेखिई अचानक ढल्ने सम्भावना हुने डा ढुंगाना बताउँछन्।
यस्तै मधुमेह, कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपनको समस्या भएका व्यक्ति बढी जोखिममा हुने हुँदा उनीहरूले विशेष सावधानी अपनाउनुपर्छ।
अस्वथकर खानपान, मोटोपनाको समस्याका कारण हाल ४० वर्षभन्दा कम उमेरमा नै यस्ता समस्या देखिन थालेको उनी बताउँछन्। जोखिमका तत्व १८–२० वर्षको उमेरदेखि नै देखिने थालेकाले सन्तुलित जीवनशैली अपनाउन उनी सुझाव दिन्छन्।
तौल बढ्दा कोलेस्ट्रोल, उच्च रक्तचाप हुन्छ र त्यसले मुटुको धमनीलाई साँघुरो पार्छ। मुटुको कारण बाहेक संक्रमण र कुनै पनि दीर्घकालीन रोगले पनि कार्डियाक अरेस्ट हुन्छ।
दीर्घकालीन रोग भएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। यस्ता व्यक्तिको जोखिमका तत्वलाई न्यूनीकरण गर्नुपर्छ। स्वस्थ खाना खाने, शरीरलाई सक्रिय राख्ने, धुम्रपान, मद्यपान सेवन नगर्ने, फाइबरयुक्त खाना खाने, बोसोजन्य खाना नखाने, सन्तुलित पोषणयुक्त खाना खाने गर्नुपर्छ। यसले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढाउँछ।
सुतिरहेको अवस्थामा किन मृत्यु हुन्छ भन्ने विषयमा मुटुरोग विशेषज्ञ डा सहदेव ढुंगानाको भिडिओ ब्रिफिङः

प्रतिक्रिया