जीवनशैली


चिया-कफी : स्वास्थ्यका लागि कति उपयोगी?

चिया-कफी : स्वास्थ्यका लागि कति उपयोगी?

प्रा डा प्रकाशराज रेग्मी
मंसिर ७, २०८२ आइतबार १२:३५, काठमाडौँ

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ। चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो। त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ। यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरू भएका छन्। विश्वका धेरै देशहरूमा चिया, कफीको सेवन निकै हुने गरेको छ। अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्दछ।

नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुने गर्दछ। पछिल्लो समय कफीको प्रयोग गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। नेपालमा चिया र कफी खेती पनि हुने भएकाले यसको प्रयोगलाई सामान्य रुपमा लिने गरिन्छ। यहाँ चिया र कफीको प्रयोग स्वास्थ्यका दृष्टिले कत्तिको लाभदायक छ भन्ने कुरा उल्लेख गरिएको छ।

संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो। हामीले धेरैथरी चिया पिउने गर्छौं- दूध हालेको सेतो चिया, दूध र मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुर्वेदिक जडीबुटी मिसिएको हर्बल चिया आदि। धेरैले चियामा चिनी हालेर पिउँछन्, कसैकसैले चिनी नहालेको चिया मन पराउँछन्। दूध-चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया स्वादिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ। स्वास्थ्यका जानकारहरूले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्‍याउँछ भनी खबरदारी गर्छन्। यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मानिसले चियामा दूध-चिनी केही पनि नमिसाइ कालो चिया पिउने गर्छन्।

कतिपयले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन्। कस्तो चिया फाइदाजनक ? स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्नेबारे धेरैलाई जान्ने उत्सुकता हुन्छ। हामीले दिनदिनै दुई-चार कप चिया पिएकै हुन्छौँ। हरियो र कालो दुवै चिया एउटै जातको ‘क्यामेलिया’ नामक वनस्पतिबाट उत्पादन हुने गर्छ। चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ, त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ। हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो। चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्त्वहरू नष्ट हुँदै जान्छन्। यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वास्थ्यवर्द्धक मान्नुपर्छ। हरियो चियामा स्वास्थ्यवद्र्धक तत्त्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरूको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ।

क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिँदैन। चियामा भएको गुणकारी तत्त्वहरू पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ। यसले क्यान्सरको रोकथाममा पनि मद्दत पुर्‍याउँछ। मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ। चियालाई धेरै बेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्त्वहरू निष्क्रिय भइदिन्छन्।

यस कारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध-चिनी हालेको भन्दा नहालेको राम्रो। हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुपर्‍यो? फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौँ। यी चिजहरू खाए भइहाल्यो नि! चियाको स्वाद बिगारी-बिगारी टर्रो चिया नै किन पिउनुपर्‍यो! कोक, फन्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरू पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध-चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ।

यस्तो चिया दैनिक एक-दुई कप पिउँदा केही पनि हानि छैन। तर जसले दैनिक दुई कपभन्दा बढी चिया पिउँछ, उसले विचार पुर्‍याउनुपर्छ कस्तो चिया पिउने? कति कप पिउने? कुनबेला पिउने? चिनी-दूध हाल्ने कि नहाल्ने भन्ने कुरा आफ्नो स्वास्थ्यअनुसार विचार गर्न सकिन्छ। यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको (४०० भन्दा बढी नै) छ, शरीर मोटो छ भने चियामा चिनी नहाली पिउनुहोस्। तपाईंले हरियो चिया पिएको राम्रो।

पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो। यस्तो समस्या भएकाहरूले दूधबिनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ। तर तपाईं चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खाली पेटमा नपिउनुहोस्।

पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक एक कपभन्दा बढी सेतो चिया नपिउनुहोस्। चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ। तौल घटाउने इच्छा छ भने दूध-चिनी नहालेको हरियो चिया दैनिक चार कपसम्म पिउनुहोस्। यसभन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्‍याउनुहोस्। तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक दुई कपसम्म दूध-चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ। चियामा रहेको पौष्टिक तत्त्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस्। 

तर दैनिक दुई कपभन्दा बढी यस्तो चिया नपिउनुहोस्। धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ। यस कारण सावधानीका साथ चियाको मज्जा लिनुहोस्। चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस्। तपाईंलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस् तर सावधान! धेरै नपिउनुहोस्।

कफीको नशा चिया जस्तै कफीको स्वादमा रमाउने मानिस पनि विश्वमा धेरै छन्। धेरैलाई कफीको नशाबारे थाहा छैन। कफी र रक्सी दुवैमा नशा लाग्ने तत्त्व हुन्छ। कडा कफी पिउने बानी भएकाहरूलाई कफी र रक्सीमध्ये एउटा छोड्नुपर्दा उनीहरू रक्सी छाड्छन्। रक्सी छोड्नसक्ने तर कफी छोड्न नसक्ने भनेको रक्सीमाभन्दा पनि कडा नशा कफीमा छ भनी बुझ्नुपर्छ। चुरोटमा हुने निकोटिन र रक्सीमा हुने अल्कोहलले स्वास्थ्यमा गम्भीर असर पार्छ। रक्सी र चुरोटको लत बसेकाहरूले यो छोड्दा हात काम्ने, टाउको दुख्ने, छटपटी लाग्नेजस्ता समस्या देखा पर्छन्।

यसलाई ‘विड्रअल इफेक्ट’ भनिन्छ। कफीको लत बसेकाहरूले कफी पिउन नपाउँदा यस्तै अवस्था उत्पन्न हुन्छ। संसारमा धेरै पिइने पदार्थहरूमध्ये एक हो कफी। विकसित राष्ट्रहरूमा आधा जनसङ्ख्याले कफी सेवन गर्ने गरेका छन्। त्यहाँ प्रत्येक दिन एक जनाले सरदर तीन कप कफी पिउने गर्छन्। कफीको उत्पादन भने सबैभन्दा बढी विकासोन्मुख राष्ट्रहरूमा हुने गरेको छ। कफीको खेती संसारका ७० भन्दाबढी देशमा गरिन्छ।

सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिल हो। यो देशले संसारको कूल ३५ प्रतिशत कफी उत्पादन गर्दछ। नेपालमा पनि कफीको उत्पादन हुन्छ। नेपालमा पाल्पा र गुल्मीका कफीहरू प्रख्यात् छन्। कति पिउने कफी? रक्सीमा इथानोल र चुरोटमा निकोटिन भएजस्तै कफीमा क्याफिन हुन्छ। यसमा एक प्रकारको लत वा नशा बस्छ। मान्छेले एकपटक पिएपछि फेरि पनि पिउँपिउँ जस्तो लाग्ने कारण यही हो।

दुई चिया चम्चा धुलो कफी मिसाएको एक कप कफीमा सय मिलिग्राम क्याफिन हुन्छ। स्वास्थ्यका दृष्टिले दैनिक दुई सयदेखि चार सय मिलिग्रामसम्म क्याफिन पिउन सुरक्षित मानिन्छ। अर्थात् एक जनाले दुईदेखि चार कपसम्म दैनिक कफी पिउन सक्छन्। तर कफी पिउन हुने/नहुने भन्ने कुरा व्यक्तिको स्वास्थ्य स्थितिमा भर पर्छ। क्याफिन तत्त्व कफीमा मात्रै नभएर चकलेट, चिया, कोल्ड ड्रिङ्क्स र इनर्जी ड्रिङ्क्समा पनि पाइन्छ। इनर्जी ड्रिङ्क्स पिउँपिउँ लाग्ने कारण पनि क्याफिनको नशा लागेर हो। कफीले स्वास्थ्यमा असर पार्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।

यसले दिमाग र मुटुमा असर पार्ने, मुटुलाई उत्तेजित बनाउने एवं पाचन प्रणालीमा पनि असर गर्छ। थोरै प्रयोगले खासै असर नगरे पनि, धेरै हुनेबित्तिकै पाचन प्रणालीमा असर पार्छ। दैनिक चार कपभन्दा बढी कफीलाई धेरै मान्नुपर्छ। कफी धेरै पिउँदा छटपटी हुने, चक्कर लाग्ने, हात काँप्ने, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, अपच हुनेजस्ता समस्या देखिन सक्छन्। धेरै भयो भने मृत्युसमेत हुन सक्छ। दिनमा ५० कपदेखि एक सय कपसम्म कफी पियो भने मृत्युसमेत हुन सक्छ। १० हजार मिलिग्राम क्याफिन शरीरमा पर्‍यो भने तत्काल मृत्यु हुनसक्छ। कुनै व्यक्तिलाई कफी शरीरमा पर्नेबित्तिकै आनन्द महसुस हुन्छ भने कतिपयलाई छटपटी हुन्छ। कसैकसैलाई अलिकति कफी पिउनेबित्तिकै असर पर्छ, यसलाई कफीमा ‘सेन्सेटिभ’ भएको भनिन्छ।

कफीमा सेन्सेटिभ भएकाहरूलाई थोरै कफीले पनि छटपटी गराउने, जीउ तातेर आउने, मुटु हल्लिने, निद्रा नपर्ने, अपच हुने, रक्तचाप बढ्ने, छिटोछिटो पिसाब लाग्नेजस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ। मुटुको धड्कन खराब भएकाहरूले दैनिक एक कपसम्म कफी पिउनु सुरक्षित मानिन्छ। विज्ञानले भन्छ- एक कप कफी गर्भवतीहरूका लागि समेत सुरक्षित छ तर यसभन्दा बढी भएमा गर्भपात हुने वा कम तौल भएको बच्चा जन्मिने खतरा बढ्छ।

१८ वर्ष उमेरमुनिका र गर्भवती महिलाले कफी नपिउँदा बेस हुन्छ। आफ्नो स्वादअनुसारको कफी पिउने गर्नुहोस्। कालो, दूध-चिनी नहालेको ‘ब्ल्याक’ अथवा ‘मिल्क विथ सुगर’, ‘कफी लाटे’, ‘अमेरिकानो’, ‘एक्सप्रेसो’, ‘क्यापुचिनो’ आदि जुन स्वादिलो लाग्छ, छानीछानी पिउने गर्नुहोस्। यसबाट स्वाद, सन्तुष्टि र सुस्वास्थ्य प्राप्त हुन्छ। कफीले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धानहरू भएका छन्।

कफी सेवन नगर्नेहरूको तुलनामा कफी सेवन गर्नेहरू धेरै वर्ष बाँच्ने गरेको कुरा वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन्। दैनिक दुईदेखि चार कपसम्म कफी पिउनेहरूमा अरूको तुलनामा १६ प्रतिशतले मृत्युदर कम भएको पाइएको छ भने २१ प्रतिशतले हृदयघातबाट हुने मृत्यु घटेको पुष्टि भएको छ। हृदयाघात भइसकेकाहरूका लागि पनि कफीको सेवन लाभदायी देखिन्छ। दैनिक दुईदेखि चार कपसम्म कफी पिउँदा यसले स्वास्थ्यमा राम्रो असर पार्छ। विज्ञानले के पनि भन्छ भने कफीले मधुमेह र मुटुरोगबाट बचाउन मद्दत गर्छ। दिमागसम्बन्धी रोग- ल्जाइमर्स, डिमेन्सिया र डिप्रेसन हुनबाट रोक्छ।

पार्किन्सन्स रोग, लिभर सिरोसिस र क्यान्सर हुनबाट पनि धेरै हदसम्म रोक्छ। हिजोआज धेरै मानिसलाई कलेजोमा बोसो जम्ने रोग छ। यसलाई नन अल्कोहोलिक फ्याट्टी लिभर पनि भनिन्छ। यसलाई पनि कफीले घटाउँछ भन्ने वैज्ञानिक मान्यता छ। तर गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकाले कफी नपिउँदा राम्रो हुन्छ। किनकि उनीहरूलाई कफीमा हुने क्याफिनले नकारात्मक असर पुर्‍याउँछ। त्यसैले भरसक आफ्नो शरीरको स्थितिलाई विचार गरेर कफी पिउँदा राम्रो हुन्छ। दूध र चिनी नहालेको ब्ल्याक कफी पिउँदा स्वाद, सन्तुष्टि र सुस्वास्थ्यसमेत पाउन सकिन्छ। (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad