दिगो विकास लक्ष्य (एसडीजी) ले सन् २०३० सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ। तर नेपाल सरकारले भने नयाँ क्षयरोगीको संख्या तीव्र गतिमा बढ्न थालेपछि सन् २०३५ सम्म क्षयरोग नियन्त्रण गर्ने जनाएको छ।
सन् २०१७ मा वार्षिक ३१ हजार ६४ मात्र क्षयरोगी थिए। सन् २०२४ सम्म यो संख्या बढेर ६८ हजार पुगेको छ। जबकि क्षयरोग नियन्त्रणमा सरकारी मात्र होइन, ग्लोबल फन्ड, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले पनि ठूलो लगानी गरेका छन्। क्षयरोगमा प्रयोग हुने औषधि ग्लोबल फन्डबाट आउँछ। परीक्षण गर्ने ल्याब विस्तारमा पनि अन्तर्राष्ट्रिय सहयोग छ। केन्द्रलाई सरकारले क्षयरोग निवारण तथा उपचारका लागि वार्षिक रूपमा एक अर्ब २० करोड रूपैयाँ बजेट छुट्याउने गरेको छ।
सन् २०१७ सम्म १ लाख जनसंख्यामा १०६ जनालाई क्षयरोग थियो। अहिले त्यो अनुपात २२९ पुगेको छ। मृत्युदर पनि त्यही अनुपातमा बढेको छ। क्षयरोगका कारण सन् २०२४ मा १६ हजार व्यक्तिको मृत्यु भएको छ। यो भनेको १ लाख जनसंख्यामा ५४ जना हो।
भक्तपुरस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार ४० प्रतिशत क्षयरोगी उपचारको दायरामा नआउँदा रोकथाम गर्न समस्या रहेको जनाइएको छ। केन्द्रका निर्देशक डा. श्रीराम तिवारी वर्षेनि ३० हजारभन्दा बढी क्षयरोगी उपचारको पहुँचभन्दा बाहिर रहेकाले क्षयरोग नियन्त्रण गर्न चुनौती देखिएको बताउँछन्।
‘काठमाडौँ र मधेसका जिल्लाहरूमा क्षयरोगी बढी देखिएको छ। मधेस प्रदेशमा गरिबी, अशिक्षा र भारतसँग सिमाना जोडिएका कारण क्षयरोग नियन्त्रण गर्न समस्या देखिएको छ,’ उनी भन्छन्।
क्षयरोग नियन्त्रण केन्द्रका पूर्वनिर्देशक एवं छातीरोग विशेषज्ञ डा. प्रज्ज्वल श्रेष्ठका अनुसार उपचारको दायरामा मात्र आएका बिरामीको मात्र परीक्षण, औषधि सेवन गराएका कारण समुदायमा रहेका क्षयरोगी पत्ता लाग्न नसकेको हो।
‘क्षयरोग लक्षणविहीन पनि हुन्छ, यस्ता क्षयरोगीले लक्षण नदेखाई अन्य व्यक्तिलाई सारिरहेका हुन्छन्। समुदायमा कति क्षयरोगी छन् भनेर खोजी नगरेसम्म क्षयरोग नियन्त्रणमा गर्न सकिँदैन,’ उनी भन्छन्, ‘क्षयरोग गरिबी, अशिक्षा र कुपोषण तथा दीर्घरोगसँग प्रत्यक्ष जोडिएको छ। तर यस्ता व्यक्ति कति छन् भनेर खोजी नै हुँदैन जसका कारण वर्षेनि क्षयरोगी झन् बढ्ने गर्छन्।’
केन्द्रका निर्देशक डा. श्रीराम तिवारी लक्षणविहीन क्षयरोगी पहिचान हुन नसक्दा क्षयरोग नियन्त्रण गर्न चुनौती भएको बताउँछन्। निर्देशक तिवारीका अनुसार देशभर ६ हजार २४१ स्थानबाट क्षयरोगको औषधि वितरण हुन्छ, ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थाहरूमा परीक्षण गर्ने व्यवस्था पनि छ। तर क्षयरोगी पत्ता लाग्न नसकिएको उनको भनाइ छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहका अनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोग (ड्रग रेसिस्टेन्ट) क्षयरोगीको संख्या डरलाग्दो गरी बढेको पाइएको छ। क्षयरोगको पहिलो लाइनको औषधिले काम नगर्ने रोगलाई ड्रग रेसिस्टेन्ट क्षयरोग भनिन्छ।
‘जथाभावी औषधि सेवन र नियमित औषधि सेवन नगर्दा ड्रग रेसिस्टेन्ट क्षयरोग देखिने गरेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ,’ डा. शाह भन्छन्, यस वर्ष ७ सय ५६ जना मात्र ड्रग रेसिस्टेन्ट क्षयरोगी पत्ता लागेका छन्।’
औषधिले काम नगरेका कारण नै धेरै व्यक्तिको क्षयरोगका कारण मृत्यु भएको उनी बताउँछन्।
‘औषधि प्रतिरोधी क्षयरोगमा पहिलो लाइनको औषधिले काम नगरेपछि दोस्रो लाइनको औषधि सुरु गर्नु पर्छ। दोस्रो लाइनको औषधि कडा हुन्छ र साइडइफेक्ट देखिन्छ। औषधि खाइरहेका क्षयरोगीको औषधिले काम गरिरहेको छ कि छैन भनेर पत्ता लगाउन सातै प्रदेशमा ल्याबको व्यवस्था गरेको छ तर कति बिरामीमा औषधिले काम गरेको छ र कतिमा छैन, थाहा हुँदैन,’ उनले भने।
क्षयरोग कस्तो रोग हो?
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने सरुवा रोग हो। क्षयरोगलाई सामान्य बोलीचालीको भाषामा टीबी पनि भनिन्छ।
श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका, कुपोषण लागेका र एचआईभी प्रभावित व्यक्तिलाई छिटो सर्छ।
क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तिवारीका अनुसार संक्रमित व्यक्तिको खोकी, हाछ्युँ, वा सासबाट आउने स–साना जीवाणुयुक्त थोपाहरू मार्फत स्वस्थ व्यक्तिमा सर्छ। तर रोगसँग लड्न सक्ने राम्रो क्षमता भएका व्यक्तिमा क्षयरोगका किटाणुले कुनै असर गर्दैन र लक्षण पनि देखिँदैन। शरीरमा किटाणु निष्क्रिय भएर बस्छ। तर, रोगसँग लड्ने क्षमता कम भएकालाई भने यो रोगले छिटो आक्रमण गर्छ।
‘क्षयरोगको किटाणुले आक्रमण गरेका व्यक्तिमध्ये करिब १० प्रतिशत व्यक्तिमा मात्र क्षयरोग विकसित हुन सक्छ। अर्थात् रोगका लक्षण देखा पर्दछ। क्षयरोगको जीवाणु धेरै मानिसको शरीरमा निष्क्रिय अवस्थामा रहन सक्छ,’ उनले भने।
क्षयरोग ७२ प्रतिशत फोक्सोमा देखिने गरेको छ भने २८ प्रतिशत फोक्सो बाहिरको अंगमा देखिने गरेको छ। फोक्सोमा देखिने क्षयरोग ६ महिनासम्म निरन्तर औषधि सेवनले पूर्णरूपमा निको हुन्छ भने फोक्सो बाहिरको क्षयरोग निको हुन समय लाग्छ। ९ देखि १८ महिनासम्म औषधि सेवन गर्नुपर्छ
मुख्यतया क्षयरोग फोक्सो र ग्रन्थी, आन्द्रा, मस्तिष्क हाड, प्रजनन् अंग, छाला र आँखा लगायतका अंगहरूमा देखिन्छ।
पुरानो रोग
क्षयरोग रोग मानव सभ्यताकै सबैभन्दा पुरानोमध्येको एक हो। तर यसलाई पत्ता लगाउन भने निकै लामो समय लागेको थियो। क्षयरोग महामारीको रूपमा देखिन थालेपछि सन् १८८२ मा जर्मनीका वैज्ञानिक रबर्ट कोचले क्षयरोग फैलाउने जीवाणुको फरकफरक परीक्षण गरेर रोग पत्ता लगाएका थिए।
उनले क्षयरोग लागेका व्यक्तिको शरीरमा रहेको ब्याक्टेरियालाई कृत्रिम माध्यममा अर्थात् कल्चर गरेर वृद्धि गराए। ब्याक्टेरियालाई खरायोमा सारे, खरायोमा केही दिन पछि मानिसमा देखिएको जस्तै लक्षणहरू देखिन थाल्यो। खरायोको फोक्सोमा समस्या र शरीरका अंगमा गाँठागुँठी आउने लक्षण देखियो। केही समय पछि क्षयरोगका ब्याक्टेरियाका कारण खरायोको मृत्यु भयो। कोचले खरायोको फोक्सो र अन्य अंगहरूको परीक्षण गरे। जसमा उनले क्षयरोगको ब्याक्टेरिया फेला पारेका थिए।
सन् १८८२ को मार्च २४ मा रबर्ट कोचले आफुले पत्ता लगाएको व्याक्टेरियाबारे बर्लिनको फिजियोलोजिकल सोसाइटीमा माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस भन्ने ब्याक्टेरिया नै क्षयरोग (टीबी) को प्रमुख कारण हो भनेर प्रस्तुत गरेका थिए।
क्षयरोगको पत्ता लगाएकै कारण रबर्ट कोचलले १९०५ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए। कोचले क्षयरोगको कारण पत्ता लगाएको दिनलाई सम्झनका लागि हरेक वर्ष २४ मार्चमा विश्व क्षयरोग दिवस मनाइन्छ।
नेपालमा विक्रम सम्वत १९९३ देखि क्षयरोगीको उपचार गर्न सुरु भएको हो। २०४५ सालमा जापानी अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइकाको सहयोगमा भक्तपुरको थिमीमा राष्ट्रिय क्षयरोग केन्द्र स्थापना भयो। केन्द्रले देशभरका क्षयरोगीलाई औषधि वितरण गर्ने, परीक्षण गर्ने व्यवस्था मिलाउने र उपचारको व्यवस्था मिलाउने काम गर्दै आएको छ।
क्षयरोग लागेको कसरी थाहा पाउने?
चिकित्सकहरूका अनुसार दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी साँझको समयमा ज्वरो आउनु, छाती दुख्नु, खानामा अरुचि हुनु, खकारमा रगत देखिनेजस्ता लक्षणहरू देखियो भने फोक्सोको क्षयरोग भएको हुन सक्छ।
फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगका लक्षणहरू अंग अनुसार फरक हुने गर्छन्। मस्तिष्कको टीबी अर्थात् मेनेन्जाइटिस भएको खण्डमा विस्तारै–विस्तारै टाउको दुख्ने, ज्वरो आउने, घाँटी अररो हुने, भ्रान्ति हुने, शरीर काम्ने तथा बेहोस हुने लगायतका लक्षण देखिन्छन्। हाड तथा जोर्नीको क्षयरोग लागेमा हाड वा जोर्नी दुख्ने, हाड जोर्नी चलाउन गाह्रो हुने तथा सुन्निने, छालामा प्वाल बनेर पिप निस्कने हुन सक्छ। पेटको क्षयरोगमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने, पेटमा छाम्दा डल्लो फेला पर्ने, मन्द ज्वरो आउने तथा खाना अरुचि हुने जस्ता लक्षणहरू देखिन्छन्।
त्यस्तै, ग्रन्थीको क्षयरोग भएमा ग्रन्थीको आकार बढ्ने, ग्रन्थीमा तातोपन नहुने, सुन्निने, ग्रन्थी नदुख्ने साथै धेरै ग्रन्थीहरू एक अर्कामा जोडिएको जस्तो हुने र पछि छालामा प्वाल बनेर पिप निस्कने लक्षणहरू देखिन्छन्।
विश्व स्वास्थ्य संगठनले १९७० देखि बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत धेरै देशहरूमा बीसीजी खोप प्रयोग गर्न सिफारिस गरेको छ। हाल क्षयरोगको उच्च जोखिम भएका देशहरूमा नवजात शिशुलाई यो खोप दिने गरिन्छ। नेपाल सरकारले नवजात शिशुलाई निशुल्क रूपमा बीसीजी खोप लगाउने गरेको छ।
हाल विश्वभर नै क्षयरोगको गलत औषसधको प्रयोग, औषसधको गुणस्तरमा कमी र औषधिको सही मात्रा नपुगेका कारण औषधि प्रतिरोधी क्षयरोग देखा परेको छ। जसले साधारण औषधिले क्षयरोग निको नै नहुने समस्या चुनौतीपूर्ण बनाएको छ।
क्षयरोग लागेको व्यक्तिले स्वास्थ्यको ख्याल कसरी राख्ने?
चिकित्सकको निगरानीमा ६ महिनादेखि १ वर्षसम्म औषधि सेवन गर्ने हो भने क्षयरोग निको हुन्छ। औषधि सेवन गर्न थालेपछि क्षयरोग अन्य व्यक्तिलाई सर्ने सम्भावना पनि कम हुन्छ। तर औषधि सेवन गर्न बीचैमा छाड्न हुँदैन।
औषधिसँगै सन्तुलित भोजन गर्ने, प्रोटिन, भिटामिन, मिनरल्सको सेवन गरी प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने, पर्याप्त आराम गर्नाले क्षयरोग निको हुन्छ। क्षयरोग देखिएका व्यक्ति परिवारका सदस्यसँग सामाजिक दूरी कायम गरेर बसेमा अरु व्यक्तिमा सर्ने सम्भावना पनि कम हुन्छ।
Shares

प्रतिक्रिया