ग्यास्ट्राइटिस (सामान्य बोलिचालीको भाषामा ग्यास्ट्राइटिसलाई ग्यास्ट्रिक भन्ने गरिन्छ) ग्यास्ट्रिक रोग नभएर एउटा लक्षण हो। पेट ढुस्स हुने, पेट दुख्ने, खानेबित्तिकै वाक–वाक लाग्नेजस्ता समस्या देखिँदा ग्यास्ट्रिक भएको मान्न सकिन्छ।
त्यस्तै कहिलेकाहीँ ग्यास्ट्रिक हुँदा पेटबाट माथितिर एसिड गएर छाती पोल्ने, मुटु दुख्ने, घाँटी बन्द भएजस्तो वा केही अड्किए जस्तो हुने र धेरै डकार आउने समस्या देखिँदा पनि ग्यास्ट्रिक भएको मान्न सकिन्छ।
ग्यास्ट्रिक का छुटाछुट्टै लक्षण भएता पनि आम मानिसमा देखिने मुख्य लक्षण भनेको पेट दुख्ने र फुल्ने नै हो।
कारण
संसारभर नै ग्यास्ट्रिक हुने मुख्य कारण भनेको ‘एच पाइलोरी ब्याक्टेरिया’ को संक्रमण हो। यो किरा पेटमा मात्र बाँच्न सक्छ। यसले एसिड धेरै बढाउने भएकाले पेटमा अन्य धेरै समस्या पनि देखिन सक्छ।
ग्यास्ट्रिकको समयमा उपचार गरिएन र समस्या बढ्दै गयो भने ‘एच पाइलोरी’ किराले अल्सरदेखि पेटको क्यान्सर समेत बनाउँछ।
यो किरा कसरी सर्छ भनेर अहिलेसम्म पत्ता लागिसकेको छैन। तर नेपालजस्ता गरिब राष्ट्रमा बढी देखिने भएकाले फोहोर खानपानका कारण यो किरा धेरै सर्छ कि भनिएको छ।
त्यस्तै ‘एच पाइलोरी’ किरा हुँदा वा नहुँदा पनि कुनै व्यक्तिले धेरै चिल्लो, पिरो, नुनिलो खायो भने ग्यास्ट्रिक हुन सक्छ।
कतिपय त्यस्ता औषधिहरु छन् जसको सेवनले ग्यास्ट्रिकदेखि अल्सरसम्म बनाउन सक्छ। डाक्टरको सल्लाहबिना जथाभावी ब्रुफिन, फ्लेक्सनजस्ता पेनकिलर खाली पेटमा खादा पनि ग्यास्ट्रिक वा अल्सर हुन सक्छ।
त्यस्तै ग्यास्ट्रिक हुने अर्को कारण भनेको एन्जाइटी, अनिद्रा र मानसिक तनाव पनि हो। मानसिक तनावले एसिड बढाउन मद्दत गर्छ र ग्यास्ट्रिक हुन्छ।
समग्रमा भन्दा ग्यास्ट्रिकका चार वटा कारण देखिन्छः ‘एच पाइलोरी’ किरा, खानपिन, जथाभावी औषधिको प्रयोग र तनाव हो।
भारत, बंगलादेश र नेपालमा चिल्लो, पिरो खाने कुरा बढी खाने भएकाले यी देशका धेरै नागरिकलाई ग्यास्ट्रिक देखिएको पनि भनिन्छ। ग्यास्ट्रिक जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ।
१० वर्षको बच्चादेखि लिएर वृद्ध अवस्थासम्मका सबैमा देखिन्छ।
ग्यास्ट्रिकले कसरी बनाउँछ अल्सर?
‘एच पाइलोरी’ किरा ग्यास्ट्रिक बनाउने प्रमुख कारण भएजस्तै अल्सर र क्यान्सर पनि गराउने किरा पनि यही नै हो। सामान्यतया ग्यास्ट्रिक भएको ८ देखि १० वर्षमा अल्सर भएको पाइएको छ। बिरामीले अल्सर भएर पनि उपचार गराएको छैन भने क्यान्सर हुन सक्छ।
क्यान्सर त्यस्ता व्यक्तिलाई बढी हुन सक्छ, जो व्यक्ति मद्यपान र धुम्रपान गर्छ। त्यस्तो व्यक्तिलाई अन्यको तुलनामा १० प्रतिशत बढी हुन्छ। त्यस्तै परिवारका कुनै सदस्यलाई पहिला नै पेटको क्यान्सर भएको छ भने पनि क्यान्सर हुने सम्भावना रहन्छ।
संसारभर नै डाक्टरको सल्लाहबिना सबैभन्दा बढी ग्यास्ट्रिकको औषधि नै सेवन गरिन्छ।
पेट पोलेको छ र डकार आइहरहेको छ भने डाक्टरको सल्लाह बिना ग्यास्ट्रिकको औषधि खान मिल्छ तर कति समयसम्म त्यसरी खान मिल्छ भन्ने प्रश्न उठ्छ।
त्यस्तो समस्या देखिएको दुई देखि तीन हप्तासम्म पनि औषधि खाँदा निको भएन भने अस्पताल जानु पर्छ।
भिडिओ
ग्यास्ट्रिक पत्ता लगाउने विधि
ग्यास्ट्रिकको साधारण लक्षण लिएर यदि बिरामी अस्पताल आयो भने औषधि मात्र दिएर पठाउने गरिन्छ। अन्य रोगको जस्तो ग्यास्ट्रिक रगत जाँच र पिसाब जाँचबाट थाहा पाउन नसकिने भएकाले सुरुमा अल्ट्रासाउन्ड गराउनु पर्ने हुन्छ।
ग्यास्ट्रिकको लक्षण बढ्दै गयो भने इन्डोस्कोपी गर्नै पर्छ। इन्डोस्कोपी एउटा त्यस्तो जाँच हो, जसले ग्यास्ट्रिक कुन अवस्थामा छ भनेर सजिलै पत्ता लगाउँछ। इन्डोस्कोपी भनेको पाइपमा क्यामरा राखेर मुखबाट पसाएर सानो आन्द्रासम्म पुर्याइन्छ जसले अल्सर लगायत क्यान्सरको पनि केही सम्भावनालाई देखाउँछ।
ग्यास्ट्रिकका सबै बिरामीलाई इन्डोस्कोपी गर्नु पर्दैन। तर लामो समयसम्म ग्यास्ट्रिकले दुःख दिएमा वा नियमित औषधि सेवन गर्नु परेमा यो जाँच सक्दो चाँडो गर्नु पर्छ।
ग्यास्ट्रिक भएका बिरामीले समयमा उपचार पाएनन् भने धेरै समस्याहरु देखिन सक्छन्।
बान्ता हुने, दिसा निकै कालो हुने र तौल धेरै कम (तीन महिनामा १५ केजी घट्ने) हुँदै गएको छ र पेटमा धेरै समस्याहरु देखिएको छ भने ग्यास्ट्रिक बिग्रिएको मान्न सकिन्छ। यस्ता लक्षण देखिएका बिरामीले सक्दो चाँडो अस्पताल गएर इन्डोस्कोपी गराइहाल्नु पर्छ।
त्यस्तै क्यान्सरको शंका लागेमा बायोप्सी पनि गर्नु पर्ने हुन्छ।
उपचार
ग्यास्ट्रिकको उपचार सामान्य नै छ। सुरुमा यसको औषधि नै खाने हो। तर कहिलेसम्म खाने भन्ने चाहि बिरामीमै भर पर्छ। औषधि खाँदै गर्दा अब मलाई निको भइहाल्छ जे खाँदा पनि मिल्छ भन्ने हुँदैन।
ग्यास्ट्रिकका बिरामीले खानपिनमा विशेष ध्यान दिनु पर्ने हुन्छ। चिल्लो, पिरो, अमिलो र गुलियो धेरै कम गर्नु पर्ने हुन्छ।
त्यस्तै ग्यास्ट्रिक बनाउने औषधिहरु डाक्टरको सल्लाहबिना सेवन गर्नु हुँदैन। त्यस्तै बिरामीले आफ्नो मानसिक स्वास्थ्य राम्रो गराउनु पर्छ। यदि त्यस्तो भएन भने उपचारले पनि प्रभाव पार्दैन।
बिरामीले योग, व्यायाम, ध्यान वा जीवनशैली राम्रो बनायो भने ८० प्रतिशत ग्यास्ट्रिक निको भएको देखिएको छ। तर अल्सर भइसकेको छ भने विशेषखालको उपचार गर्नु पर्ने हुन्छ। ग्यास्ट्रिक बनाउने किरालाई मार्नका लागि एन्टिबायोटिक खानु पर्ने हुन्छ। जुन औषधि सजिलै जहाँ पनि पाउँछ। तर एन्टिबायोटिक खानुभन्दा पहिला पेटमा त्यो किरा छ कि छैन भनेर पुष्टि गर्नु पर्छ।
ग्यास्ट्रिकले मानिसको मृत्यु नै गराउने होइन, तर यो बढ्दै गयो वा बिग्रियो भने अल्सर हुँदै क्यान्सर हुने हो। ग्यास्ट्रिकको समयमै उपचार नगराएर अल्सर बिग्रिएर क्यान्सरको अन्तिम चरणमा आउने बिरामीको संख्या पनि धेरै नै छ।
कुनै पनि व्यक्ति आफ्नो शरीरका लागि सबैभन्दा पहिलो डाक्टर ऊ आफैँ हो। किनभने आफ्नो शरीरमा केही परिर्वनत आएर अनौठो लागेको छ। असजिलो भएको छ भने त्यो कुनै रोगको लक्षण हुन सक्ने भएकाले समयमै जाँच गर्नु पर्छ।
(काठमाडौं थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका पेट तथा कलेजो रोग विशेषज्ञ डा. रविन शर्मासँगको कुराकानीमा आधारित।)
Shares
प्रतिक्रिया