ad ad

जीवनशैली


खानेकुराबारे राजेश हमाल- विज्ञापनको भ्रममा नपरौँ, फ्याक्ट्रीको होइन जमिनको रोजौँ

खानेकुराबारे राजेश हमाल- विज्ञापनको भ्रममा नपरौँ, फ्याक्ट्रीको होइन जमिनको रोजौँ

नेपालखबर
साउन २६, २०७९ बिहिबार १६:२८, काठमाडौँ

अभिनेता राजेश हमालले खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अभिनेता हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए। 

उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लत्ताकपडाहरू भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवर्द्धक हुने बताए। 

उनले मानिसहरु बिरामी हुँदा आश्चर्य हुनुपर्ने ठाउँमा कसरी स्वस्थ भयो भन्ने बारेमा आश्चर्य हुने गरेको बताए। मानिसले खाने सामग्रीहरु फ्याक्ट्रीबाट नभइ जमिनबाट उत्पादन हुनुपर्ने र त्यसैले मानव स्वास्थ्यको हित गर्ने बताए।

उनले भने ‘हामीलाई कसरी प्रयोग गर्ने भन्ने बनाइरहन्छन् र हामी हाम्रो बारेमा नै बिर्सिन्छौँ। हामीसँग जतिपनि उत्पादन गर्ने संयन्त्रहरु छ। तिनीहरु उपभाेक्ताले गर्दा चल्ने हो। तर त्यो शक्ति हामीले बिर्सिरहेका हुन्छौँ। हामी आधुनिकतामा बहिकएका छौँ। हामी चाहे उनीहरुको विज्ञापनमा, लालचमा, आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी बहकिएका छौँ। हामी आधुनिकताको नाममा यसरी बहकिएका छौँ कि, हामीले उपभोक्ताको हिसावले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ  आफ्नो शक्ति के हो हामीलाई नै थाहा छैन। त्यसलाई पनि हामीले बिर्सिएर स्वास्थ्य दाउमा राखेका छौँ।’ 

हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा बहकिन थालेको बताए। उनले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराए। 

हमालले स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपालीहरु सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंघले यसमा पहलकदमी थाल्नुपर्ने बताए। 

उनले भने, ‘हामीले प्रयोग गर्ने सामानहरु कस्तो प्रयोग गरिरहेका छौँ। हामी विज्ञापनमा लागेर गरिरहेका छौँ कि, अहिलेको सामाजिक सञ्जालका कारण बहकिएका छौँ? त्यो खानेकुरा वा लगाउने कुरा नै किन नहोस्। हामीले उपभोक्तको हक, अधिकार र पावरलाई नबुझिकन जथाभावि खरिद गरिरहेका छौँ। हामीले खर्च गरेको रकम कस्तो सामग्रीमा खर्च गरिरहेका छौँ त्यसमा सावधानी अपनाउन आवश्यक छ। हामीले प्रयोग गरेको वस्तु गुणस्तर छ कि छैन भन्ने कुराको ध्यान दिनु आवश्यक छ। आजको स्थितिमा खतराको घण्टी नै बजिसकेको छ तर हामी अझै सचेत हुन सकेका छैनौँ। मान्छे बिरामी भयो भनेर आश्चर्य हुनुको ठाउँमा कसरी स्वस्थ भइरहेको छ भनेर आश्चर्यमा परेको छ। हामी खानेकुराको गुणस्तर पहिचान गर्न सकिरहेका छैनौँ। स्वास्थ्यमा सचेत हुन सकेका छैनौँ। स्थानीय उत्पादित खानेकुरालाई जोड दिनुपर्छ। मान्छेले खानेकुरा नि फ्याक्ट्रीबाट उत्पादन गर्ने हो र मान्छेले खानेचिज त जमिनबाट उत्पादन गर्नुपर्छ।’ 

हमालले अहिले आफूले खाने खानाको श्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताए। उनले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरूको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए।

प्याकेजिङका फुडहरु स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे।

उनले स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरूको बहिष्कार गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .