बाको हात समातेर हिँडेको त्यो चुनाव, रवि लामिछाने उठ्ने यो चुनाव

बाको हात समातेर हिँडेको त्यो चुनाव, रवि लामिछाने उठ्ने यो चुनाव

कमल पौड्याल
साउन २८, २०७९ शनिबार १०:२५, हङकङ

स्वदेशमा चुनाव नजिकिँदै गर्दा म पनि हङकङको आकाशमुनि अतीतको चुनावी सम्झनामा हराएँ निकैबेर।

२०३०/३१ सालतिर हुनुपर्छ, धादिङ जिल्लामा पर्ने केवलपुर गाउँ पञ्चायतको चुनाव थियो। बाङ्गेपिपल भनिने ठाउँमा टिनले छाएको सानो अफिसमा चुनावी छलफल हुँदा म पनि बाको हात समातेर पुगेको थिएँ। एक जना पाण्डे थरका उम्मेदवारले आफूलाई निर्विरोध प्रधानपञ्च बनाइएमा गाउँ पञ्चायतको कोषमा विकासका लागि दस हजार रुपैयाँ दान दिने बाचा गरे। पाँच पैसामा दुई वटा पिपलमेट, पच्चीस पैसामा खाजा खान वा बिस्कुटको पुरिया नै किन्न सकिने जमानामा त्यो ठूलो रकम थियो। 

सबैको सहमतिपछि उनी निर्विरोध प्रधानपञ्च बने। बेलुकी घर फर्किंदै गर्दा बाटामा बाले ‘चुन्न त चुने, मान्छे अलि रकमी छन्’ भनेको याद छ। बालाई उनी मास्टर बाबु भनेर सम्बोधन गर्थे। हाम्रो वडातिर कामविशेषले आउँदा खाना चाहिँ हाम्रै घरमा खान्थे तर आफैँले पकाएर। आमाले चुलो पोतेर आगो जोरेर चामल पखालेर ठीक पारिदिएपछि उनी आफैँ भान्सा पस्थे। मसिनो स्वरले बोल्ने, कानभरि लामालामा रौँ र आखिभौँ पनि फुलेका उनले सेतो धोतीमा हाम्रो घरको चुलोमा आगो फुकेर काने कसौँडीमा भात पकाएको देख्दा मेरो बालमस्तिष्कमा अनगिन्ती प्रश्न उठ्थ्यो। 

मैले बालाई सोधेँ– उनले हाम्रो आमाले पकाएको खाना खाए भने के हुन्छ?

बाले भन्नुभयो– छोरा मैले उहिले हलो जोतेको र जनै नलगाउने भएकोले उनलाई समाजमा अप्ठ्यारो पर्न सक्छ त्यसैले।’

उनले पछि बोलेको रकम दिन आनाकानी गर्दै गए। पण्डित पौवाको ज्योति निमाविमा सायद ६ कक्षामा पढथेँ म। उतिबेलाका युवा अंग्रेजी शिक्षक कृष्णप्रसाद ढकालले हामी सबै विद्यार्थी जम्मा गरेर ‘लौ अब दबाब दिन उनको घर घेर्न जाऔँ’ भने।

बोलेको रकम तुरुन्त तिर, तुरुन्त तिर्!
जनतालाई ढाँट्न पाइँदैन पाइँदैन!!

नारासहित जुलुस उनको घरमा गएर स्कुलमै फर्कियो। उनले बाचा गरेको रकम नदिई कार्यकाल पुरा गरे। यसरी सुरुमै मेरो बालमस्तिष्कमा चुनाव र राजनीतिकर्मीको राम्रो छाप परेन।

म बालिग भएपछिको पहिलो मताधिकार २०४३ सालमा कालिमाटीस्थित रवि भवनको मतदान केन्द्रमा सूर्य चिह्न लिएर उठेका पद्मरत्न तुलाधरलाई मत दिएर प्रयोग गरेको थिएँ। मेरो पहिलो मत खेर गएन।

त्यतिबेला पद्मरत्न तुलाधरको चुनावी विजय जुलुस रत्नपार्कमा हेरेपछि बाले घरभित्र छिर्दै भन्नुभएको थियो, ‘००७ सालमा त्रिभुवनलाई गौचरनमा देखेजस्तै आज पद्मरत्नलाई देखियो।’

खुला छत भएको गाडीको अग्रभागमा दायाँबायाँ मह जोडी, बीचमा सिन्दुर र मालाले ढाकिएका पद्मरत्न निकैदिन प्रतिपक्षी अखबारमा तस्बिरसहित हेडलाइन बने।

०३६ सालमा राजा वीरेन्द्रले घोषणा गरेको सुधारिएको पञ्चायती व्यवस्था वा बहुदलीय व्यवस्थाका जनमत संग्रहमा कांग्रेसले बहुदलको पक्षमा भोट माग्दै भाग लियो। कम्युनिस्टहरुले भने जनमतसंग्रह धोका हो भन्दै बहिष्कार गरेका थिए। उनै कम्युनिस्टहरुले पछिल्लो समय भने पञ्चायती चुनावलाई सदुपयोग गर्दै त्यहीँभित्रै गएर भण्डाफोर गर्ने नीति लिएका थिए। जसअनुसार काठमाडौँबाट सूर्य चुनाव चिन्ह लिएर उठेका पद्मरत्न तुलाधरले भारी मतले विजय हात पारेका थिए।

नेपाल टेलिभिजन भर्खर सुरु भएको थियो। क्यासेट प्लेयरको चलन भने व्यापक थियो। तार्किक ज्ञान र धाराप्रवाह बोल्नसक्ने पद्मरत्नको भाषणको क्यासेट बिक्थ्यो। काठमाडौँका टोलटोलका पसलहरुमा उनको बोली बजिरँहदा उभिएर सुन्थे बटुवाहरुले पनि। देशका रेडियो, टेलिभिजन र पत्रिका सरकारी नियन्त्रणमै थियो। म चाहिँ खैरो बाक्लो छालाको खोल भएको बाको जापानी नेसनल पानासोनिक रेडियो युगमै थिएँ। राजनीतिमा चाख लिने भएकाले समय मिल्दा बेलुकाको बीबीसी नेपाली र बिहानको अल इन्डिया रेडियोको आकाशवाणी बासँगै सुन्थेँ।

जे होस्, अहिलेको स्वतन्त्र भनेजस्तै त्यो बेलाको सेरोफेरोमा खासगरी वामपन्थी पार्टीहरुद्वारा समर्थित जनपक्षीय उम्मेदवारको निकै चर्चा चल्थ्यो। त्यस्ता उम्मेदवारमा सोमनाथ अधिकारी प्यासी, जागृतप्रसाद भेटवाल, द्रोणाचार्य क्षेत्री पनि थिए। तर, जनताले क्यासेट किनेरै भाषण सुन्ने नेतामा मदन भण्डारीअगाडि तुलाधर मात्रै थिए सायद।

थाहा विचारका प्रणेता रुदाने (रुपचन्द्र विष्ट दामन नेपाल) पनि पञ्चायती व्यवस्था विरोधीको रुपमा चर्चित थिए।

त्यसपछि देशमा राजा सहितको प्रजातन्त्र, छोटो समयको राजतन्त्र र गणतन्त्रको निकैपछि गत चुनावमा स्वतन्त्र उम्मेदवारहरुले बढी चर्चा पाए। पछिल्लो स्थानीय निर्वाचनमा करिब तीन सय हाराहारी स्वतन्त्रबाट निर्वाचित भएको सुनिन्छ। तर, चुनावका बेला चर्चाको शिखरमा रहेका काठमाडौँका मेयर बालेन्द्र शाहले जितेको यत्तिका दिन भइसक्दा पनि काठमाडौँको फोहोर व्यवस्थापनको समस्या उस्तै छ। कुन काम पहिले र कुन पछि गर्ने भन्नेमा बालेन द्विविधामा देखिन्छन्। अहिले नै कापी जाँचेर नम्बर दिइयो भने उनलाई अन्याय हुन्छ। धरानमा हर्क साम्पाङ मन, मस्तिष्क र मेहनत लगाइरहेका छन्।

देशमा जुन तन्त्र हुँदा पनि जनताका अपेक्षा पुरा भएनन्। विकास, समृद्धि काममा कम भाषणमा बढी देखियो। यतिबेला पनि समस्या ज्युँका त्युँ छन्। असंलग्न परराष्ट्र नीति गम्भीर मोडमा छ अहिले। राजनेताहरु एकअर्कालाई आरोपप्रत्यारोप गर्दै सत्ता हत्याउने दाउमा केन्द्रित छन्। साइकलदेखि हवाइजहाज अनि शौचालयदेखि मन्दिरको सुनको जलहरी र गजुरसम्ममा भ्रष्टाचार भएको खबर छ। जब मिलेमतोमा भ्रष्टाचार हुन्छ, त्यहाँ सत्तापक्ष, प्रतिपक्ष सबै सराबर देखिन्छन्। तर, सबै राजनीतिकर्मीलाई एउटै जाँतोमा राखेर पिस्दा अन्याय हुनसक्छ। न्यून संख्यामा अपवाद अवश्य छन्।

पछिल्लो समय चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने यो सबै बेथितिलाई ठीक गर्छु, सुधार्छु कायापलट ल्याउँछु भन्दै सञ्चार क्षेत्र चटक्कै छोडेर राजनीतिमा हाम फालेका छन्। अरु केही स्वतन्त्र भनिनेहरु पार्टी प्रवेश गरेर आउने चुनावमा फलाना क्षेत्रबाट यति मत ल्याएर जितेर मन्त्री बन्छु भन्दैछन्।

हुन त खासगरी नेपाल र भारतजस्ता मुलुकमा कलाकारलगायत चर्चित व्यक्तिहरु एउटा उमेर पार गरेर आफ्नो कामधन्दा कम हुन थालेपछि राजनीतिक पार्टी प्रवेश गर्ने चलन हामी सबैले देखेकैै हो। त्यसमा नाफानोक्सान, जोडघटाउ मन नपरे अर्को पार्टी फेर्ने चलन पनि छँदैछ। राजनीतिक पार्टीका नेताहरूमा उनीहरुको नाम र पेसागत लोकप्रियतालाई प्रयोग गरेर मतदाता आकर्षित गर्ने लोभ हुन्छ। कलाकारहरु आफ्नो नाम र दामलाई निरन्तरता दिन चाहन्छन्। अझ चलचित्रको पर्दामा अभिनित जीवनशैली र सान वास्तविक जीवनमा सधैँ होस् भन्ने चाहना हुन्छ।

भारतमा जय ललिता, सुनिल दत्त, धर्मेन्द्र, हेमा मालिनी, अमिताभ बच्चन, शत्रुघ्न सिन्हा, गोविन्दा र अरु कयौँ सिनेकर्मीहरु पार्टीको छातामुनि ओत लागे। केही आफ्नो विगतका गैरकानुनी हर्कतको कारण कानुनी कारबाहीबाट जोगिन पार्टीसँग नजिकिन्छन्। कालो हरिण अवैध सिकारको मामलामा मुद्दा खेपेका सलमान खान प्रम नरेन्द्र मोदी वा भाजपाकै आशीर्वादले बचेका हुन् भन्ने गरिन्छ। १९९३ को बम्बई बम विस्फोटसँग नाम जोडिएका सञ्जय दत्तबारे सबैले सुनेकै हो। उनका बुबा सुनिल दत्तले राजनीति प्रवेश गरेर लाख कोसिस गर्दा पनि उनले जेल सजाय काट्नै पर्यो।

हालसालै पूर्वक्रिकेटर तथा टेलिभिजन व्यक्तित्व नवजोत सिंह सिद्धु पनि एक वर्षको लागि जेल चलान भए। १९८८ मा उनले पिटेपछि ६५ वर्षीय व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो। कयौँ वर्षसम्म मृत्युको कारण पिटाइ नभइ हृदयघात भनेर पन्छाइएको थियोे। भाजपा छोडेर कंग्रेस पार्टी प्रवेश गर्नु नै पुरानो मुद्दा ब्युँतिएर उनी जेल जानुको कारण मान्छन् राजनीतिक विश्लेषकहरु।

नेपालमा पनि पछिल्लो दशकमा कलाकारहरु नीर शाह, करिष्मा मानन्धर, रेखा थापा, कोमल वलीको पार्टी प्रवेशले निकै चर्चा पायो। न्यून संख्यामा भए पनि यस्तै चर्चा पूर्वप्रशासक र प्रहरी प्रमुखले पनि बटुले।

नयाँ शक्ति बाट एमाले प्रवेश गरेकी करिष्माले त आफ्नो न्वारनको नाम सूर्जेकुमारी भएको घोषणा पनि गरिन्। कुनै समयमा राजाकै टोलीमा विदेश भ्रमण गर्नेदेखि राजाका कार्यक्रम उद्घोषण गर्ने कोमल वली एमाले भएको निकै भयो। निकै ठूला कमरेडसँग मञ्चमा नाचेर मनग्य चर्चा बटुलेकी रेखा थापालाई राप्रपा प्यारो लागेको छ। हालसालै कांग्रेस छिरेका भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष हुन भ्याइसके। जस्तोसुकै कथा भए पनि बाबुको भूमिकामा नदेखिने कसम खाएका राजेश हमालले केही समयअगाडि प्रचण्डलाई भेटे पनि कुनै पार्टीको टीका लगाएका छैनन्।

यहाँ नाम लिइएकाहरु जति उमेर पनि नखाएका र छोटो समयमा टेलिभिजनमै जमेर नामदाम कमाएका रवि लामिछानेलाई के कारणले राजनीतिमा तान्यो त? आफ्नै राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापछि सुटटाइ ह्याङ्गरमा झुण्ड्याएर कुर्तासुरुवाल र जवाहरकोटमा देश दौडाहामा छन् उनी। देशका विभिन्न भागमा उनको आमसभामा जनसहभागिता बाक्लो देखिन्छ।

करिब चार वर्षअगाडि हङकङ आएका लामिछानेका बारेमा हङकङे नेपालीहरुबीच निकै चर्चा हुने गर्छ। पोखराको सहारा क्लबको हङकङ शाखा सन् २०१२ मा स्थापना भएपछि हरेक वर्ष कार्यक्रम आयोजना गर्ने चलन छ। जसमा सहयोग रकम जुटाउने पनि गरिन्छ। २०१८ मा ‘स्वास्थ्यको लागि पदयात्रा’ नारासहित गरिएको कार्यक्रममा प्रमुख पाहुना थिए लामिछाने। त्यसको अघिल्लो वर्ष चर्चित धावक बैकुण्ठ मानन्धरलाई निम्त्याइएको थियोे।

जापान र कोरियापछि हङकङ आउन खोजेका लामिछानेको भिसा जारी गर्न अध्यागमनले निकै ढिला गर्यो। कार्यक्रमको एक दिनअघि मात्र सहयात्रीहरु डीपी अर्याल र दीपक बोहरासहित हङकङ टेकेका उनको स्वागतमा त्यतिबेलाको कङ्गन रेस्टुरेन्टमा रात्रिभोज सहितको कार्यक्रम आयोजना गरिएको थियो। क्षमताभन्दा धेरै सहभागी आएकाले उठीउठी खाना खाएर रवि लामिछानेलाई आमनेसामने सुने सबैले। भोलिपल्ट बिहान मुख्य हङकङ द्वीपको सेन्ट्रल स्टार फेरीमा सहभागीहरुको खचाखच उपस्थितिबीच पदयात्रा उद्घाटन भयो र भिक्टोरिया पिकतिर उकालो लागियो।

सहारा क्लब हङकङको एकनासे सेतो टिसर्टमा नेपालको झण्डा बोकेको मानव साङ्लोलाई कौतुहलपूर्वक उभिएर हेर्दै तस्बिर खिचे धेरै स्थानीय चिनीयाँहरुले। करिब दुई घण्टाको उकालोओरालो र तेर्सो बाटो पार गरेपछि एबर्डिन पार्कमा कार्यक्रम समापन भयो। रविसँगै हङकङ आएका धादिङे डीपी अर्याल पनि आफ्नो इजी लिङ्क रेमिटको टिसर्टसहित पदयात्रामा सहभागी थिए।

सम्बोधनको क्रममा रविले भने, ‘तपाईंहरुले विदेशबाट पैसा पठाउँदा इजी लिङ्क रेमिट्यान्स मार्फत पठाए त्यो रकमको एक प्रतिशत कालिकोटको राजकोट अस्पताललाई सहयोग गरिनेछ।’

अघिल्लो दिन बेलुकी कङ्गन रेस्टुरेन्टमै राजकोट अस्पतालका लागि १० हजार हङकङ डलर सहयोग गर्ने हङकङका दानवीर देव गुरुङले साङ्केतिक चेक हस्तान्तरण गरिहाले तुरुन्तै। अनि सुरु भइहाल्यो सहयोगको शृङ्खला। आम्दानीको हिसाबले विदेशमा रहेका नेपालीहरुमध्ये अग्रस्थानमा रहेका हङकङे नेपालीहरूले मुट्ठी खोलेरै सहयोग बर्साए राजकोट अस्पतालको लागि। उद्घोषक तुलसी गुरुङलाई निकैबेर सहयोग दाताहरुको नाम पढ्न भ्याइनभ्याइ भयो। करिब दुई लाख हङकङ डलर एक घण्टामै जम्मा भयो। सोही कार्यक्रममा अनिल श्रेष्ठ मार्फत सहभागी भएका स्थानीय चिनियाँ कलाकार नेपाली समुदायको सहयोगी मन देखेर अचम्मित भए। 

रवि लामिछाने हङकङमा सहयोग माग्न नभएर कार्यक्रममा सहभागी मात्रै हुन आएका थिए। सहारा क्लब हङकङले पनि त्यति ठूलो रकम उठाउन नभई च्यारिटी पदयात्रा मात्रै भनेको थियो। तर, स्वतस्फूर्त रुपमै सहयोग संकलन भयो।

हुन त कतिपय चन्दादाताहरु आफ्नो नाम छाओस्, संगमरमरमा कुँदियोस् भन्ने चाहन्छन्। कतिपयलाई यस्तो चाहना हुँदैन। हङकङका कतिपय सहयोगीले राजकोट पुगेर रविले हङकङको कार्यक्रम र चन्दादाताका बारेमा केही बोल्छन् कि भन्ने आश गरेका रहेछन्। अझ कति त अस्पतालको प्रतीक्षालय वा कुनै विभागमा हङकङे नेपालीको नाम जोडिएको हुनुपर्ने सुझाउँछन् अझै। तर, रविले उनीहरुको नाम किन लिएनन्, उनै जानून्। सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ भने हङकङे नेपालीको सहयोग देशको दुर्गमका बेसहारालाई काम लाग्नेमा आशावादी छन्।

कार्यक्रम समापनको बेलुकी चिनियाँ भोजनालयमा उनको बिदाइ सहित हिसाबकिताब बुझाइयो। भोलिपल्ट उनी नेपाल उडे, हामी हङकङको भिडमा हरायौँ फेरि।

हिन्दी चलचित्र नायकमा एक पत्रकार एक दिने मुख्यमन्त्री बनेर उलटफेर ल्याइदिन्छन्। त्यस्तो काम गर्न सजिलो छैन। तर, दृढइच्छा र निस्वार्थ भए एक्लो प्रयासले पनि सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण कुलमान घिसिङले देखाइसकेका छन्। अहिलेलाई हङकङे नेपालीको तर्फबाट रवि लामिछानेलाई शुभकामना। जितेर राम्रो काम गरेमा बधाई त छँदैछ!

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .