एक दशकदेखि झापा क्षेत्र नम्बर ३ लाई आफ्नो बलियो गढ बनाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई यसपटकको निर्वाचन जित्न भने मुस्किल पर्ने देखिएको छ।
नेकपा एमालेको साथ र समर्थनमा अघिल्ला दुई चुनाव जितेर लगातार संसद्मा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यस क्षेत्रमा ‘ह्याट्रिक’ गर्ने दाउमा त छन् तर बदलिएको राजनीतिक समीकरणले उनलाई यसपटक सजिलो छैन।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले आफ्नै उम्मेदवार हरि राजवंशीलाई चुनावी मैदानमा उतारेपछि लिङ्देनले यसअघि पाइरहेको मत काटिने निश्चित छ।
त्यसैगरी यस क्षेत्रको चुनावी चर्चामा सधैँ हावी हुने गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पनि यसपटक उम्मेदवार छैनन्। उनको अनुपस्थितिले पनि यहाँको चुनावी माहोललाई नयाँ मोडमा पुर्याएको छ।
सिटौलाको प्रभाव र नियन्त्रणबाट मुक्त हुँदै कांग्रेसले यसपटक व्यापारी तथा संगठनमा बलिया मानिएका राजेन्द्र घिमिरेलाई झापा-३ मा उम्मेदवार बनाएको छ।
जसले गर्दा राप्रपाका लागि कांग्रेसको चुनौती झन् संगठित रूपमा देखापरेको छ।
२०७९ को निर्वाचनमा एमालेको वैशाखी टेकेर ३ हजार २ सय ७६ मतान्तरले सिटौलालाई हराएका लिङ्देनले यसपटक आफ्नै खुट्टामा उभिनुपर्ने बाध्यता छ।
अघिल्लो चुनावमा समानुपातिक मतमा कांग्रेस पहिलो र एमाले-राप्रपा लगभग बराबरीको स्थितिमा रहेको यो क्षेत्रमा यसपालि ९ हजारभन्दा बढी मतदाता थपिएकाले लिङ्देनको विरासतमा थप अनिश्चितता पैदा गरेको छ।
कांग्रेसभित्र सिटौलाको ‘खेदाइ’मा परेका भनिएका नेताले टिकट पाउनु र एमाले आफैँले उम्मेदवार बनाएर चुनावी मैदानमा उतार्नुले झापा-३ को चुनावी नतिजा यसपटक राप्रपाका लागि सहज नरहेको स्थानीय नेताहरू बताउँछन्।
यसपटक एमाले र कांग्रेसले जितका लागि आफ्नो शक्ति आक्रामक रूपमा केन्द्रित गरेपछि लिङ्देनको आगामी संसद् यात्रा धरापमा देखिएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले-राप्रपा तालमेल हुँदा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल अर्को गठबन्धनमा थिए। नतिजा भने लिङ्देनकै पक्षमा आएको थियो।
उनले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतले हराएका थिए। लिङ्देनले ३७ हजार ३ सय ६२ मत पाएका थिए भने सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरेका थिए।
समानुपातिक मततर्फ कांग्रेस पहिलो बनेको थियो। कांग्रेसले २५ हजार ५ सय ३५ मत पाउँदा राप्रपा १९ हजार ७ सय ४३ मतसहित दोस्रो भएको थियो।
यस्तै एमालेले १९ हजार ४ सय ६०, रास्वपाले ७ हजार ८ सय १२, माओवादीले ७ हजार ५ सय ५९ र नेकपा एसले ३ सय ४५ मत पाएको थियो।
२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले कृष्ण सिटौलालाई नै १३ हजार ६३० मतान्तरले हराएका थिए। त्यसबेला लिङ्देनले ४४ हजार ८०१ मत प्राप्त गरेका थिए।
यही चुनावपछि राष्ट्रिय राजनीतिमा उनको चर्चा एकाएक चुलिएको थियो।
झापा-३ मा कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका पर्छन्।
साथै बिर्तामोड नगरपालिकाको वडा नम्बर १० र भद्रपुर नगरपालिकाका वडा १ देखि ८ सम्म यो क्षेत्रमा समेटिएका छन्।
आगामी चुनावका लागि कुल १ लाख ४० हजार ८ सय ५७ मतदाता छन्।
यसपटक ९ हजार ४ सय २५ नयाँ मतदाता थपिएका हुन्।
जसले चुनावी नतिजामा प्रभाव पार्ने अनुमान गरिएको छ।
लिङ्देनले भने आफ्नो जितको मुख्य आधार कुनै दल वा शक्ति नभई जनता नै भएको दाबी गरेका छन्।
उनले नेपालखसँग भने, ‘मेराे याे पटक चुनाव जित्ने आधार भने जनता हुन्, मतदाताले मलाई जिताउनु हुन्छ।’
यता एमालेका उम्मेदवार राजवंशी पनि आफ्नै जित हुने जिकिर गर्छन्।
आफ्नाे चुनाव जित्ने आधार भुइँतहका नागरिकसँग चिनजान र सम्बन्ध भएको उनको भनाइ छ।
‘हामी सबै मिलेर लागेका छाैँ, हाम्रो स्पष्ट एजेन्डा राष्ट्रहित हाे’, उनले नेपालखबरसँग भने, ‘म वर्षाैंदेखि सहकारी अभियानमा लागेकाे कारण नै अहिले सबै मेराे पक्षमा छन्।’
यस्ता छन् चुनावी एजेन्डा
निर्वाचनको मिति नजिकिएसँगै पार्टीहरू आफ्ना चुनावी एजेन्डासहित घरदैलोमा छन्।
उनीहरूले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार, विकास र सुशासनका एजेन्डा अघि सारेका छन्।
नयाँ दलहरू नयाँ कामका फेहरिस्तसहित चुनावी मैदानमा छन् भने पुराना दलहरू पहिला गर्न नसकेका काम पूरा गर्ने, गरेका योजना देखाउन व्यस्त छन्।
राजेन्द्र लिङ्देन भने विकाससँगै राजतन्त्र पुन:स्थापना र हिन्दुराज्यको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका छन्।
Shares

प्रतिक्रिया