बदलिँदो राजनीतिक घटनाक्रमसँगै सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ सरकारबाट भोलि आइतबार हट्ने भएको छ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गर्दै सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित ८ दलको नयाँ गठबन्धन बनेपछि आज आकस्मिक रूपमा पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्र र सबै प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
योसँगै राप्रपा प्रदेश १ सरकारबाट पनि बाहिरिने भएको हो। प्रदेश १ सरकारमा राप्रपाले उद्योग, कृषि तथा सहकारी मन्त्रालय पाएको छ। जसको नेतृत्व मन्त्री भक्ति सिटौलाले गरिरहेका छन्। उनले पार्टीको निर्णयअनुसार आइतबार राजीनामा दिने र सरकारबाट बाहिरिने बताए। आज सार्वजनिक बिदा (शनिबार) परेकाले भोलि राजीनामा बुझाइने उनले बताए।
सिटौला गत पुस २५ गते बिनाविभागीय मन्त्री भएका थिए। त्यसको झन्डै १५ दिनपछि मात्रै उनले मन्त्रालयको जिम्मेवारी पाएका थिए। एमालेको नेतृत्वमा रहेको प्रदेश १ सरकारमा अन्य दलमा माओवादी केन्द्र, राप्रपा र जसपा सहभागी छन्। गत पुस २४ गते एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री बनेका हुन्। सात सदस्यीय मन्त्रिपरिषद्मा एमालेबाट तिलकुमार मेन्याङ्बो र बुद्धिकुमार राजभण्डारी, राप्रपाबाट भक्तिप्रसाद सिटौला, माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य तथा जसपाबाट निर्मला लिम्बू मन्त्री छन्।
प्रतिक्रिया