राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रदेश संरचना खारेजीको मागको एजेन्डा लिएर जाने बताएका छन्।
उनले प्रदेश संरचना खारेजीको मुद्दामा सहमति हुने ठूला राजनीतिक दलसँग गठबन्धन बन्न सक्ने समेत बताए।
मंगलबार सुनसरीको इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री र प्रदेश खारेजी मुख्य एजेन्डा लिएर चुनावमा जाने बताए।
देशले आर्थिकभार धान्नै नसक्ने अवस्थामा पुगेको बताएका उनले प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्दै गएको तर्क गरे।
चुनावमा गठबन्धन गर्न अन्य राजनीतिक दलसँग छलफल चलिरहेको बताउँदै अध्यक्ष थापाले नेकपा एमालेसँग सकारात्मक कुरा भएको खुलाए।
'देखिएका समस्यालाई समाधान गर्न हामी एक्लै चुनाव लडे जित सकिँदैन। ठूलो पार्टीसँग सहकार्य गर्ने तयारीमा छौँ, त्यो नेकपा एमाले हुन सक्छ', उनले भने।
आफ्नो पार्टीले देशभरबाट ५ देखि १० सिट माग्ने बताउँदै उनले त्यहीअनुसार चुनाव जित्ने रणनीतिमा लागेको पनि खुलाए।

प्रतिक्रिया