सुनसरीको देवानगन्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै जाँदा राजमार्ग केन्द्रित प्रदर्शन बढेको छ।
इनरुवादेखि पश्चिम कोसी ब्यारेजसम्म स्थिति तनावग्रस्त बनेको छ।
प्रदर्शनकारीहरूले ठाउँठाउँमा टायर बालेर सडक अवरोध गरेपछि उक्त क्षेत्रमा यातायात प्राय: ठप्प छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज क्षेत्रमा स्थिति साम्य हुँदै गए पनि राजमार्गमा प्रदर्शन चर्किएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इटहरीबाट पश्चिम जाने सवारीसाधनलाई रोकिएको छ।
प्रदर्शनकारीहरूले राजमार्गका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
यसैले थप दुर्घटना हुनसक्ने देखिएकाले यातायात पूर्ण रूपमा ठप्प पारिएको प्रहरीले जनाएको छ।
सुनसरीको देवानगन्जमा आइतबार राति दुई समूहबिच भएको झडपमा एक जनाको मृत्यु भएपछि सुनसरीसहित पूर्वी क्षेत्र तनावग्रस्त बनेको हो।
सुनसरीबाट सुरु भएको प्रदर्शन विराटनगरसम्म फैलिएको छ।
आइतबार राति भएको झडप नियन्त्रण गर्न भनेर प्रहरीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने २२ जना घाइते भएका छन्। उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन्।
त्यस घटनाको विरोधमा विराटनगरका मुख्य बजार क्षेत्रका पसलहरू बन्द गराइएको छ।
Shares

प्रतिक्रिया