सुनसरीको देवानगन्ज गाउँपालिका–३ मा भएको गोलीकाण्डको विरोधमा मंगलबार सुनसरीको कोसी गाउँपालिका–४ स्थित कोसी कटान क्षेत्रमा स्थानीय पसलहरूमा आगजनी भएको छ।
समूहमा आएका युवाहरुले कोसी कटान क्षेत्रमा रहेका स्थानीय व्यवसायीहरूका पसलहरूमा आगजनी एवं तोडफोड गरेको स्थानीयले बताएका छन्।
प्रदर्शन र आन्दोलनका नाममा अराजक समूहले पसलहरूमा आगजनी र तोडफोड गर्दा व्यवसायीहरूको पसलभित्र रहेका सामानहरू नष्ट भई ठूलो आर्थिक क्षति पुगेको प्रहरीको भनाई छ।
घटनालगत्तै सो क्षेत्रमा सुरक्षा उपस्थिति बढाइएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
घटनाको थप विवरण आउन बाँकी छ।
दुई समुदायबीचको विवादका क्रममा झडप हुँदा स्थितीलाई नियन्त्रणमा लिने क्रममा आइतबार राति प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर ९ जना घाइते भएका थिए। १३ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।
घटनाको विरोधमा सुनसरी, मोरङसहित विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ। आन्दोलनका नाममा विभिन्न स्थानमा आक्रमण, आगजनी र तोडफोडका घटनासमेत भएका छन् ।
कप्तानगन्ज बजारमा भएको घटनाप्रति शोक व्यक्त गर्दै इनरुवा नगरपालिकाले दुई दिनका लागि स्थानीय शोक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार यही साउन १२ र १३ गते नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालयहरू, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक स्वास्थ्य सेवा बाहे) र नगर पालिका मातहतका अन्य सम्पूर्ण कार्यालयहरूमा शोक बिदा रहने भनिएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाद्वारा हस्ताक्षरित सूचनामा देवानगन्ज घटनामा परी दिवंगत भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, सो घटनामा घाइते हुने सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
नगरपालिकाले जिल्लामा सामाजिक सद्भाव, आपसी भाइचारा, धार्मिक सहिष्णुता तथा सामुदायिक एकता कायम राख्नका लागि सम्पूर्ण नगरवासी तथा सरोकारवालाहरूमा हार्दिक अपिल पनि गरेको छ।
Shares

प्रतिक्रिया