कोशी


वीरगन्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

वीरगन्ज महानगरपालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएन

नेपालखबर
जेठ ६, २०८३ बुधबार १९:५८, वीरगन्ज (पर्सा)

संघीय सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई वीरगन्ज महानगरपालिकाले हाजिर गर्नबाट अवरोध गर्दै आएको छ। 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयानुसार वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई सरुवा गरिएको थियो। तर, वीरगन्ज महानगरले प्रमुख प्रशासकीय अधिकृत कँडेललाई हाजिर गर्ने वातावरण भने तयार पारेको छैन। 

विगत १० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत कँडेल वीरगन्जमै छन्। तर उनलाई महानगरपालिकाले हाजिर गर्न भने दिएको छैन। वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले संघीय सरकारले गत फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत कँडेलको सरुवा गरेको भए पनि उनले वीरगन्ज आउन ढिलाइ गरेको आरोप लगाए। 

‘उहाँ सरुवा हुनेबित्तिकै आउन चाहनुभएन’, महानगर प्रमुख सिंहले भने, ‘अहिले उहाँ मन्त्रालयले ताकेता गरेपछि मात्रै आउन खोज्नुभएकाले पनि हाजिरी गराउन नखोजेका हौँ। हामीलाई उहाँभन्दा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिएमा राम्रो हुने थियो भन्दै आएका छौँ।’

प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने आफू वीरगन्जमै भए पनि महानगरको कार्यालयमा गएर हाजिरी गर्ने वातावरण नभएको जानकारी दिए।

‘विगत १० दिनदेखि वीरगन्जमै बस्दै आएको छु। अहिलेसम्म महानगरमा हाजिर गर्ने वातावरण बनेको छैन। म अहिले पनि हाजिर हुने प्रतीक्षामा जिल्ला प्रशासन कार्यालयमा आएर बसिरहेको छु’, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने। 

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले अहिलेको सरकारले भन्दा पनि यसअघिको सरकारले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेकाले हाजिर गराउने विषयमा वीरगन्ज महानगरसँग समन्वय गरिरहेको बताए। 

‘मन्त्रालय र वीरगन्ज महानगरबीच समन्वय भइरहेको छ। केही दिनभित्रै अहिले देखिएको समस्या समाधान हुने विश्वास लिएका छौँ’, उनले भने।

महानगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत नहुँदा यहाँको आर्थिक र प्रशासकीय काम रोकिएको दाबी गरे। मन्त्रालयले गत वैशाख ४ गते यसअघिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णसँग रहेको आर्थिक र प्रशासनिक जिम्मेवारी हटाएको थियो। उनी महानगरका शिक्षा महाशाखाका १०औँ तहका कर्मचारी हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad