झापाको गौरीगन्जमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्।
मंगलबार अपराह्न अन्दाजी ४ः३० बजेको समयमा गौरीगन्ज गाउँपालिका–५ डाँगीटोलास्थित फत्तेपुर–डाँगीटोला भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो।
पूर्व फत्तेपुरबाट पश्चिम डाँगीटोलातर्फ जाँदै गरेको प्र१–०१–०१२प२०८२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेका १३ वर्षीय साइकलयात्री सरोज सिंह गनगाईलाई ठक्कर दिएको थियो।
स्थानीय उपेन्द्र सिंहका छोरा सरोजको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक रहेको र तत्काल बोल्न नसक्ने स्थितिमा रहेकाले थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बालकलाई ठक्कर दिएर भाग्ने क्रममा मोटरसाइकल अनियन्त्रि भइ दुर्घटना हुँदा चालक २५ वर्षीय सुरज कुमार सिंह गनगाई घाइते भएका छन्।
मल्लाह टोल बस्ने चालक सुरजको पनि टाउको र अनुहारमा चोट लागेकोले अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई पनि उपचारका लागि न्यूरो अस्पताल लगिएको छ।
इलाका प्रहरी कार्यालय गौरीगन्जले दुर्घटनामा परेको मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
Shares

प्रतिक्रिया