झापाको गौरादह नगरपालिकामा चट्याङका कारण मध्यराति घरमा आगलागी भएको छ।
प्रहरीका अनुसार गौरादह नगरपालिका-६ धोपा टोलस्थित अजय कुमार झाको घरमा चट्याङ पर्दा शुक्रबार ११:३० बजेतिर आगलागी भएको हो।
५० वर्षीय झाको टिनको छानो र बाँसको टाँटीले बेरेको एकतले भान्साघर र त्यसैसँग जोडिएको गोठ (ग्वाली) मा आगलागी भएको हो।

प्रहरीका अनुसार मानिसलाई भने केही हुन पाएन।
आगलागीबाट भान्साघर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घरभित्र रहेका ग्यास सिलिन्डर, ८० केजी चामल, साइकल, विद्युत् मिटर, वाइफाइ राउटर, भाँडाकुँडा, अन्नपात र फर्निचर जलेका छन्।

यस्तै गोठमा रहेका ६ वटा बाख्रा (२ वटा माउ र ४ वटा पाठा) समेत जलेर मरेका छन्।
प्रहरीका अनुसार आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

घटनालगत्तै खटिएको गौरादह नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा राति १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया