नेपाली काग्रेसका नेताहरूले हालै सम्पन्न निर्वाचनको परिणाम र पार्टीको आन्तरिक अवस्थालाई लिएर गम्भीर समीक्षा गर्दै नेतृत्व र सङ्गठनको कार्यशैलीमा आमूल परिवर्तनको हुनु पर्ने बताएका छन्।
नेपाली काग्रेस क्षेत्र नम्बर ५ का उम्मेदवार एवं नेता फुलकुमार लालवानीले आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीको वर्तमान अवस्थाप्रति तिखो टिप्पणी गरेका हुन्।
लालवानीका अनुसार, यदि महामन्त्री गगन थापाको नेतृत्व वा सक्रियता नभएको भए काग्रेसको स्थिति अहिलेको भन्दा निकै नाजुक हुने र पार्टीको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था थियो।
उनले भने, ‘अहिले घण्टी मुनि छ, यदि गगन थापा नेतृत्वको नआएको भए कांग्रेस माटो मुनि जान्थ्यो।’
निर्वाचनमा आफूहरू इमानदारीपूर्वक लडेको दाबी गर्दै लालवानीले पार्टीभित्रै बसेर शक्ति आर्जन गर्ने तर चुनावका बेला घात गर्ने ‘धमिरा’ प्रवृत्तिका व्यक्तिहरूलाई तुरुन्त कारबाही गर्नुपर्ने माग राखे।
विशेष गरी पार्टीको मेरुदण्ड मानिने क्रियाशील सदस्यता वितरण प्रणाली नै अब खारेज गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले अब नयाँ स्वरूप र भिजनका साथ पार्टी अघि बढ्नुपर्नेमा जोड दिए।
त्यसैगरी, पत्रकार सम्मेलन मै नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसद अमृत अर्यालले कांग्रेसको ८० वर्ष लामो गौरवशाली इतिहासमा अहिलेको निर्वाचन परिणाम अकल्पनीय रहेको बताए।
‘हार र जित स्वाभाविक भए पनि प्रजातन्त्रको रक्षा हुनु पर्छ,’ उनले भने, ‘नेपाली कांग्रेसले हारे पनि प्रजातन्त्रले हार्नु हुँदैन।’
उनले झन्डै २४ देखि ३० हजारको मतान्तर कसरी भयो भन्ने कुरा रहस्यमय रहेको टिप्पणी गर्दै यस्तो परिणाम आउनेबारे विदेशी एजेन्टहरूले एक वर्षअघि नै सङ्केत गरेको दाबी समेत गरे।
‘आज भन्दा एक वर्ष अगाडि नै यस्तो हुन्छ भनेर ‘रअ’ का एजेन्टले भनेका थिए,’ उनले भने, ‘अहिले रिजल्ट पनि त्यसरी नै आएको छ।’
सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको जनमत कम आँकिए पनि परिणाम निकै फरक र आश्चर्यजनक आएको उनको विश्लेषण छ। नयाँ शक्तिका रूपमा उदाएको रास्वपा भित्र संघीयताका सवालमा स्पष्ट दृष्टिकोण नभएको बताए।
‘रवि लामिछाने, स्वर्णिम वाग्ले तथा बालेन शाहका विचारहरूमा ठूलो भिन्नता देखिएको छ,’ उनले भने, ‘उनीहरू कसरी अगाडि बढ्छन् भन्ने बारेमा आगामी ६ महिनाभित्र उनीहरूको राजनीतिक दिशा स्पष्ट हुनेछ।’
Shares

प्रतिक्रिया