मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रको मतदान प्रक्रिया सकिएको छ। प्रारम्भिक विवरण अनुसार यहाँका ६ वटै निर्वाचन क्षेत्रमा करिब ६५ प्रतिशत मतदान भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए।
कोइरालाका अनुसार, अहिले पहिलो चरणको प्रारम्भिक विवरण आएकोले यो तथ्यांक बढ्न सक्नेछ। अहिले पनि कतिपय स्थलको मतदान प्रक्रिया चलिरहेकोले विवरण बढ्न सक्ने उनले बताए।
यहाँ हुँदैछ मत गणना
निर्वाचन अधिकृतका कार्यालयहरूले मत गणनाको लागि स्थलहरू तयार पारेका छन्। जस अनुसार क्षेत्र नम्बर १ को मत गणना उर्लाबारी नगरपालिकाको कार्यालयमा हुने व्यवस्था मिलाइएको छ भने क्षेत्र नम्बर २ को गणना सिजुवास्थित विश्वनाथ मन्दिरमा गरिनेछ।
यसैगरी, क्षेत्र नम्बर ३ को मत गणना बेलबारीको भगवती माध्यमिक विद्यालयमा हुनेछ। मोरङका बाँकी तीनवटा क्षेत्रको गणना भने विराटनगरभित्रै केन्द्रित गरिएको छ।
जसअन्तर्गत क्षेत्र नम्बर ४ को गणना जनता नमुना माध्यमिक विद्यालयमा र क्षेत्र नम्बर ५ को गणना सुनसरी मोरङ सिंचाइ आयोजनाको कार्यालयमा हुने तय भएको छ।
क्षेत्र नम्बर ६ को मत गणनाका लागि विराटनगरकै आदर्श माध्यमिक विद्यालयलाई तोकिएको छ। निर्वाचनपश्चात सुरक्षा व्यवस्था कडा पार्दै मत पेटिकाहरू ढुवानीको काम समेत सुरु भइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए।
Shares

प्रतिक्रिया