कोशी


मोरङका ६ वटै क्षेत्रमा निर्वाचनको तयारी पूरा, २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य

मोरङका ६ वटै क्षेत्रमा निर्वाचनको तयारी पूरा, २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य

नेपालखबर
फागुन २०, २०८२ बुधबार १७:४८, विराटनगर

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतदान र मतगणनाको सम्पूर्ण तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार यस पटक सुरक्षा र व्यवस्थापनलाई सहज बनाउन ६ वटै क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणना गर्ने योजना बनाइएको छ, जसअन्तर्गत क्षेत्र नं. ६ को गणना आदर्श स्कुलमा हुनेछ।

क्षेत्र नम्बर १ को उर्लाबारी, क्षेत्र नम्बर २ को रतुवामाई, क्षेत्र नम्बर ३ को बेलवारी, क्षेत्र नम्बर ४ को विराटनगरको जनता नमुना मावि र क्षेत्र नम्बर ५ को सुनसरी मोरङ सिचाई आयोजनाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट नै मत गणना हुनेछ।

मतदान सकिएपछि भोलि बेलुका ५ बजेबाट मतपेटिकाहरू सङ्कलन सुरु हुने र दुर्गम क्षेत्रहरूबाट राती १० बजेभित्रै केन्द्रमा आइपुग्ने अनुमान गरिएको छ। 

राजनीतिक दलहरूसँगको समन्वय पछि सम्भव भएसम्म राती १२–१ बजेदेखि नै वा ढिलोमा शुक्रवार बिहानैबाट गणना सुरु गरिनै उनले जानकारी दिए। नतिजा छिटो सार्वजनिक गर्नका लागि एकै पटक धेरै वटा टोली परिचालन गरेर गणना गर्ने तयारी गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ६ मा ४ वटा समूहमा मत गणनाको तयारी भइरहेको गुरुङले जानकारी दिए । 

उनले भने, ‘हामीले मत गणना सुरु गरेको २४ घण्टा भित्रमा रिजल्ट सार्वजनिक गर्नै योजना रहेको छ।’

सुरक्षाको हकमा, सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी विशेष निगरानी बढाइएको छ। जिल्लाका ८३९ मतदान केन्द्र र २ वटा अस्थायी केन्द्रहरूमा कर्मचारी र सुरक्षाकर्मीहरू खटिइसकेका छन्। विगतका अनुभवका आधारमा केही क्षेत्रलाई संवेदनशील मानिए पनि हालको अवस्था पूर्ण रूपमा शान्तिपूर्ण रहेको र सुरक्षामा कुनै सम्झौता नगरिने प्रतिबद्धता अधिकृत गुरुङले व्यक्त गरे। 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मोरङ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।  मतदानको अघिल्लो दिनसम्म आइपुग्दा कर्मचारी खटनपटन, सुरक्षा व्यवस्था र आवश्यक सामग्रीको व्यवस्थापन करिब शतप्रतिशत सकिएको उनले बताए। 

मतगणना स्थलमा तारजाली, बसाइको व्यवस्थापनदेखि लिएर सञ्चारकर्मीका लागि वाई फाइ र पानीसम्मको प्रबन्ध मिलाइएको छ।
निर्वाचनलाई समावेशी र सहज बनाउन शारीरिक अशक्तता भएका, ज्येष्ठ नागरिक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष प्राथमिकता दिइएको छ। 

उनीहरूको लागि मतदान केन्द्रसम्म पुग्न सहयोगी वा सवारी साधन लैजान पाउने व्यवस्था गरिएको छ। यसका लागि छुट्टै पासको झन्झट नगरी सुरक्षा निकायले स्थलगत रूपमै अवस्थाको जाँच गरी सहजीकरण गर्ने निर्देशन दिइएको छ। 

मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै बिरामी र अत्यावश्यक सेवाका लागि सीमा सिल भएको अवस्थामा पनि लचकता अपनाइएको छ। सवारी पासको वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयमा मात्र सीमित नराखी इलाका प्रशासन कार्यालय रंगेली लगायतका स्थानबाट पनि व्यवस्थापन गरिएको उनले बताए। सञ्चारकर्मी, दूध र एम्बुलेन्स जस्ता अत्यावश्यक सेवालाई कुनै अवरोध नहुने गरी समन्वय गरिएको छ। 

‘मतदान सकिएपछि मतदाताहरूलाई आफ्नो गन्तव्यसम्म पुग्नका लागि स्थानीय सवारी साधन चल्ने वातावरण मिलाइएको र सुरक्षा निकायले त्यसको निगरानी गर्ने व्यवस्था छ’ उनले भने। 

सुरक्षाको दृष्टिकोणले मोरङमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई ‘नो ओभरल्याप, नो ग्याप’ को सिद्धान्त अनुसार परिचालन गरिएको छ। सुरुमा नेपाल प्रहरीले रेस्पोन्स गर्ने र आवश्यकता अनुसार अन्य निकायले सहयोग गर्ने गरी कमान्ड पोस्टबाट एकीकृत निर्देशनको व्यवस्था गरिएको कटेलले बताए।

यदि मतदानमा अवरोध पुर्‍याउन खोजिएमा वा मतपेटिका खोस्ने प्रयास भएमा बल प्रयोगको सिद्धान्त पालना गर्दै अन्तिम अवस्थामा गोली समेत चलाउन सक्ने गरी सुरक्षाकर्मीलाई स्पष्ट आदेश दिइएको छ। निर्वाचनमा खटिएका कर्मचारीहरूको अनुशासनका विषयमा प्रशासन निकै कडा देखिएको छ। कतिपय स्थानमा अनुशासनहीन काम गर्ने कर्मचारीलाई तत्कालै परिवर्तन गरी ‘जिरो टोलरेन्स’ नीति अख्तियार गरिएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए। 

मोरङको दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन ३ देखि ४ घण्टा लाग्ने अनुमान गरिएकाले त्यहाँ सवारी साधन र विशेष टोली खटाइएको छ।

राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि मतपेटिका ल्याउने क्रममा सँगै राखेर विश्वासको वातावरण बनाइने प्रजिअ कटेलले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad