कोशी


झापामा ओलीका सात दिन: ८० टोलका मतदाता भेटे- प्रशंसा र गाली खाए, गुनासा सुने

झापामा ओलीका सात दिन: ८० टोलका मतदाता भेटे- प्रशंसा र गाली खाए, गुनासा सुने

सुमन सुस्केरा
माघ २९, २०८२ बिहिबार २२:४, विराटनगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक हप्तासम्म निरन्तर झापामा बसे। फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आएका ओली अरू समय भन्दा फरक शैलीमा प्रस्तुत भए।

क्षेत्र नम्बर ५ अन्तरगतका तीन वटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग निरन्तर साक्षात्कारमा देखिए। ओलीले यो अवधिमा कतिपय ठाउँमा मतदाताको गाली खाए भने कतिपय ठाउँमा आफ्ना कार्यकर्तालाई हप्काएर फर्किए।

एमाले अध्यक्ष ओलीले गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका टोल टोलमा मतदाताका स्याबासी, गुनासा र समस्या सुने।

निर्वाचन परिचालन कमिटीका कमान्डर देवेन्द्र दाहालले तीन वटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग एमाले अध्यक्ष ओलीले संवाद गरेको बताए।  

‘मतदाताले उहाँलाई खुलेर प्रश्न गरेका छन्। गुनासो राखेका छन्। समस्या सुनाएका छन्। र, राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकोमा धन्यवाद पनि दिएका छन्,’ दाहालले भने।

निर्वाचन परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार कमल गाउँपालिकाका ३० वटा टोलमा अध्यक्षले भेटघाट गरेका थिए। भेटघाटमा मतदाताले स्थानीय ठाउँको विकास, रोजगारी,शिक्षा तथा अस्पताल निर्माणका मागहरू राखेका छन्।

‘अधिकांश मतदाताले स्थानीय विषयलाई नै प्रमुख मुद्दा बनाएर अध्यक्षसँग प्रस्तुत गरेका छन्’ गौतमले भने। 

पश्चिम दक्षिण झापाको गौरादह ६ का मतदाताले रतुवाको कटानमा परेका यस क्षेत्रका मतदाताले रतुवा खोलामा  स्थायी तटबन्ध,यही खोलामा पक्की र झोलुङ्गे पुल र अस्पताल निर्माणको माग गरेको जयराम सापकोटाले बताए।

‘अध्यक्षज्यूलाई हामीले स्कूलचौन दामुना जाने सडकलाई पिच गर्न,रतुवामा तटबन्ध गरेर बाढी र डुबानबाट बचाउन र यसै क्षेत्रमा सुविधा सम्पन्न अस्पताल स्थापना गरिदिन माग गरेका छौँ’ सापकोटाले भने।

यस्तै दामुना बजारका मतदाताले पार्टीका अन्तर्विरोध मिलाइदिन,कार्यकर्तालाई जनतासँग जोडिन र सुशासनलाई व्यवहारमा उतार्न माग गरेका छन्। उनीहरूले स्थानीय तहका जनप्रतिनिधि, मुख्यमन्त्री लगायत यस क्षेत्रका जनप्रतिनिधिलाई जनता समस्यामा गम्भीर भइदिने बारेमा सम्झाइदिन आग्रह गरेका छन्। 

वडा नं ६ कै सिंगीयाडुबाका बासिन्दाले ओलीलाई नेपाली कागजमा ६ बुँदे माग लिखित रूपमा पेस गरेका छन्। माग पत्र पेस गर्दै एमाले वडा कमिटीका उपाध्यक्ष दुर्गा गनगाईले दामुनाबाट सिंगियाडाँगी हुँदै सिंजुवा जाने बाटो पिच हुनु पर्ने र रतुवा खोलामा पक्की पुल निर्माण गर्न माग गरे।

यसै गरी दामुनाबाट हुलाकी सडक जाने कृषि सडक पनि तत्काल पिच गरेर किसानका उत्पादनलाई भारतीय बजार पुर्‍याउन सहज बनाइदिनुपर्ने गनगाईले माग गरेका थिए। 

गौरीगञ्ज गाउँपालिकाको सीमावर्ती क्षेत्र देवानगञ्जका मतदाताले मोबाइलको टावर राखिदिन माग गरेका छन्।

टावर नभएका कारण भारतीय टावरमा निर्भर हुनु परेको गुनासो उनीहरूले चर्को रूपमा उठाएका छन्। गौरादह चैतुचोककी रमिला राजवंशीले ओलीलाई आफूलाई ठूला ठूला कुरा भन्दा रोजगारी गरेर खाने मेलो मिलाइदिन माग गरिन्।

उनले रोजगारीकै लागि बिदेसिएका श्रीमान्लाई पनि गाउँमै रोजगारी गर्ने वातावरण मिलाइदिन उनको माग थियो।

दक्षिण झापाको ग्वालडुब्बा निवासी प्रदेश कमिटी सदस्य अमर सिवाकोटीका अनुसार एक हप्तामा अध्यक्ष ओलीले हजारौँ मतदातालाई भेटेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad