कोशी


मतदाताको मन जित्ने ओली रणनीति- सुरु गरे ‘हामी झापाली’ ट्रेन्ड

मतदाताको मन जित्ने ओली रणनीति- सुरु गरे ‘हामी झापाली’ ट्रेन्ड

सुमन सुस्केरा
माघ २५, २०८२ आइतबार २०:४९, विराटनगर

राजनीतिमा एउटा उखान छ, ‘मतदातासँगको सम्बन्ध चुनावको दिन मात्र होइन, मनदेखि मनको हुनुपर्छ।’ 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यति बेला आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा ठ्याक्कै यही शैलीमा देखिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनको सरगर्मी बढिरहँदा ओलीको दैनिकी अचेल काठमाडौँको बालकोटमा होइन, झापाका खेतबारी, चौतारी र विद्यालयका बसहरूमा बितिरहेको छ। 

आइतबार दिउँसो ओलीले सामाजिक सञ्जालमा केही तस्बिरहरू सार्वजनिक गरे, जसले धेरैको ध्यान खिच्यो। कुनै औपचारिक मञ्च होइन, बरु सडकमै रोकिएको एउटा सामुदायिक विद्यालयको बसभित्र छिरेर उनले बालबालिकासँग हात मिलाए। बालबालिकाको हाँसोमा मिसिएका ओलीको त्यो रूप एक अभिभावकको जस्तो देखिन्थ्यो। ‘झापामा झापाली–बालबालिकासँग बाटोमै भेट’ भन्दै उनले सामाजिक सञ्जालमा व्यक्त गरेको स्नेहले मतदाताको भावनात्मक पक्षलाई छुने प्रयास थियो। 

ओलीले भेटघाटलाई राजनीतिक चुनावी अभियानको रूपमा मात्रै सीमित राखेका छैनन्। उनले भेटघाटका क्रममा मतदाता र शुभेच्छुकहरूसँग भन्ने गरेका छन्, ‘झापालाई मैले मत लिने मात्र ठाउँको रूपमा कहिल्यै सोचिनँ, सुख–दुःखमा जहिल्यै झापालीसँगै रहेँ।’  

कमल गाउँपालिका–७ की मायादेवी उप्रेतीसँगको अर्को तस्बिर सार्वजनिक भएको छ। सेतै कपाल फुलेकी वृद्ध आमाको अगाडि झुकेर आशीर्वाद थापिरहेका ओलीको भावमा निर्वाचनको दाउपेच भन्दा बढी आत्मीयता झल्काउन खोजेको देखिन्थ्यो। शिरमा हात राखेर आशीर्वाद दिइरहँदा ओली एक नेता होइन, ती वृद्ध आमाका आफ्नै सन्तान जस्ता देखिन्थे।

गाउँ–गाउँमा ‘हामी झापाली’
कमल गाउँपालिकाका विभिन्न वडामा ओलीको उपस्थिति बाक्लो देखिन्छ। कहिले बच्चा बोकेकी आमालाई हात जोडेर नमस्कार गरिरहेका, त कहिले युवाहरूसँग सेल्फीमा रमाए। ५३ वटा भन्दा बढी फोटोहरूको सङ्गालो ‘हामी झापाली’ शीर्षक फोटो सार्वजनिक गर्दै उनले आफू र झापाको सम्बन्ध अटुट रहेको सन्देश दिएका छन्। 

पिपलको बोटमुनि बसेर सुकुम्वासीका समस्या सुन्नेदेखि लिएर वृद्ध वृद्धाहरूको समूहमा मिसिएर कुरा गर्नेसम्मको ओलीको यो ‘डोर–टु–डोर’ अभियानले फागुन २१ को निर्वाचनलाई निकै रोचक बनाउने देखिएको छ। यसमा पनि ओलीले आफू झापाली भएको कारण ‘हामी झापाली’को भावनात्मक सन्देश दिएका हुन्। सामाजिक सञ्जालमा हेर्दा ओलीले आइतबार ४ वटा स्ट्याटस लेख्दा सबैमा ‘हामी झापाली’ उल्लेख गरेका थिए। 

रणनीति कि स्नेह?
झापा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका एमाले अध्यक्ष ओली पछिल्लो २ दिनदेखि कमल गाउँपालिकाका गाउँ–गाउँमा पुगेका छन्। ओलीको पछिल्लो यो गतिविधिलाई राजनीतिक विश्लेषकहरूले मतदाता रिझाउने रणनीतिको रूपमा हेरेका छन्। आफूले गरेको काम बुझाउने, गाउँकै नेताको रूपमा चिनाउने गरी ओली गाउँ पसेका हुन्। केहीले ओलीलाई गाली गरे पनि धेरै ओलीप्रति नतमस्तक देखिन्छन्। 

कहिले एकल भेटघाट त कहिले समूहमा गरिने यी छलफलहरूले एमाले अध्यक्ष ओलीलाई चुनावी मैदानमा अहिले भइरहेको हल्लालाई केही बलियो बनाउन सहज हुने विश्लेषण गर्न थालिएको छ।

आइतबार कमल गाउँपालिकाको वडा नं ५ बाट विभिन्न बस्तिका बासिन्दासँग ओलीले भेटघाट गरेका थिए। अध्यक्ष ओलीलाई स्वागत गर्दै मतदाताहरूले यो क्षेत्रको विकासमा लगाएको गुन कहिल्यै भुल्न नसकिने समेत उल्लेख गरे। स्थानीय शोभा सङ्ग्रौलाले जनतालाई भुल्याउने, बहकाउन नेता नचाहिने बरु आफ्नो क्षेत्र र देश बनाउने नेता चाहिएको बताइन्।

अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरूले अझै केही समय विश्राम नलिई देश बनाउन ढाडस दिएका थिए। अरूको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफूहरू कसैको कुरा नसुन्ने समेत भन्न भ्याएका थिए। 

अध्यक्ष ओली स्वर्गीय खम्बा सिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी भए। ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तीमा पुग्ने तालिका रहेको एमाले गाउँ कमिटी अध्यक्ष हरि ढकालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad