भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ठूलो परिमाणको लागुऔषध गाँजासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार प्रहरी चौकी हसनपुरबाट खटिएको टोलीले मचुवादेखि धनकुटाको अखुवाटतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्रयाक्टरलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ट्रयाक्टरमा ४३ वटा बोरामा लुकाएर राखिएको ८२६ किलो ६६० ग्राम गाँजा बरामद भएपछि प्रहरीले सवारी साधन र त्यसमा सवार व्यक्तिहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भोजपुर आमचोकका रुद्र बहादुर श्रेष्ठ, निशान मगर र नीर बहादुर श्रेष्ठ रहेका छन् भने धनकुटा सहिदभूमिका सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के र दिप कुमार बिसुन्के रहेका छन्।
त्यस्तै ताप्लेजुङ मिरिङ्देनका लाक्पा शेर्पालाई पनि प्रहरीले हिरासतमा लिएको छ। हाल प्रहरीले यस घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।
Shares

प्रतिक्रिया