कोशी


काठमाडौँ फर्किए बालेन

काठमाडौँ फर्किए बालेन

सुमन सुस्केरा
माघ १०, २०८२ शनिबार १८:५४, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन्। उनले साविकको मेची अञ्चलका तीन जिल्ला र कोशी अञ्चलका तीन जिल्लामा पार्टी गतिविधि तथा भेटघाट गरेका थिए।

बालेनले माघ ६ गते झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका थिए। त्यसको भोलिपल्ट माघ ७ गते डेरामा आएका शुभेच्छुकहरूसँग दिनभर छलफल गरेका उनी माघ ८ गते बिहान इलाम पुगेका थिए। 

इलाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा स्थानीय नागरिकसँग छलफल गरेपछि उनले सोही दिन पाँचथर र ताप्लेजुङका समर्थक तथा शुभचिन्तकसँग भेटघाट गरेका थिए।

शुक्रबार बिहान पाथिभराको दर्शनपछि बालेन तेह्रथुम हुँदै म्याग्लुङ बजार पुगेका थिए। मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने विभिन्न बजारहरूमा स्थानीयहरूसँग भेटघाट गरेको बालेनको सचिवालयले जनाएको छ। शनिबार बिहान म्याग्लुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा शुभचिन्तकसँग सामान्य भेटघाटपछि उनी संखुवासभाको चैनपुर पुगेका थिए।

चैनपुरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मिङ्मा शेर्पासहित पार्टीका पदाधिकारी तथा स्थानीय शुभचिन्तकसँग छलफल गर्दै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए। साथै, पूर्वी नेपाल पर्यटकीय हिसाबले सम्भावनायुक्त रहेको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधिले पर्यटन, कृषि र पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताएका थिए।

फर्किने क्रममा उनले धनकुटामा समेत सामान्य भेटघाट गरेका थिए। इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा हुँदै भ्रमण सकेका बालेन शनिबार साँझ विराटनगर विमानस्थलबाट एती एयरलाइन्सको उडानमार्फत काठमाडौँफर्किएका हुन्।

यद्यपि, बालेनको विराटनगर आगमनबारे पार्टीको तल्लो तहका नेताहरूलाई जानकारी नदिइएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी विराटनगर महानगर कमिटीका अध्यक्ष कृष्ण निरौलाले पार्टीको आधिकारिक च्यानलबाट कुनै जानकारी प्राप्त नभएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad