मोरङको रंगेलीमा सरकारी कार्यालय आगजनीको घटनामा संलग्न रहेका एक विवादास्पद व्यक्तिले पत्रकारमाथि निर्घात कुटपिट गरेका छन्।
जेनजी आन्दोलनको आवरणमा इलाका प्रशासन कार्यालय र रंगेली नगरपालिका-६ को वडा कार्यालय जलाउने घटनाको नेतृत्व गरेका भनिएका ३३ वर्षीय मोहमद सिराजउद्धिनले पत्रकार विशालकुमार मण्डलमाथि सांघातिक आक्रमण गरेका हुन्।
मोरङ-२ अन्तर्गत सिजुवास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्तासम्बन्धी गतिविधिको रिपोर्टिङ सकेर घर फर्किने क्रममा मंगलबार साँझ रंगेली बजार क्षेत्रमा सिराजउद्धिनले मण्डलको बाटो छेकेर आक्रमण गरेको प्रहरीले जनाएको छ।
मदिराको नशामा लठ्ठ रहेका सिराजउद्धिनले सुरुमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको र त्यसलगत्तै अचानक आक्रमण गरेको पीडित पत्रकार मण्डलले बताएका छन्। कुटपिटबाट मण्डलको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनी पूर्वी टाइम्स दैनिकमा कार्यरत छन् भने प्रेस चौतारी मोरङका कार्यसमिति सदस्यसमेत हुन्।
आक्रमणमा संलग्न सिराजउद्धिनलाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको छ। उनी यसअघि गत भदौ २४ गते सरकारी कार्यालयमा भएको आगजनीको घटनामा संलग्न रहेको र अदालतबाट पक्राउ पुर्जी जारी भए पनि फरार रहँदै आएका व्यक्ति हुन्।
प्रहरीका अनुसार,फरार रहेकै अवस्थामा उनले अहिले पत्रकारमाथि आक्रमण गरेका हुन्। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले पक्राउ परेका सिराजउद्धिनमाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गर्दै थप अनुसन्धान अघि बढाएको छ।
यसैबीच, पत्रकारमाथि भएको यस आक्रमणको सञ्चार सम्बद्ध विभिन्न संघसंस्थाले कडा विरोध गरेका छन्। प्रेस चौतारी मोरङका सचिव नवराज भट्टराईद्वारा जारी विज्ञप्तिमा घटनालाई अत्यन्तै गम्भीर र निन्दनीय भन्दै दोषीमाथि कडा कानुनी कारबाही र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न माग गरिएको छ।
Shares

प्रतिक्रिया