कोशी


शेखरको क्षेत्रबाट प्रतिनिधि नै सहभागी नहुने, कोसीमा यस्तो छ गगन-विश्वको शक्ति

शेखरको क्षेत्रबाट प्रतिनिधि नै सहभागी नहुने, कोसीमा यस्तो छ गगन-विश्वको शक्ति

सुमन सुस्केरा
पुस २५, २०८२ शुक्रबार २०:४९, विराटनगर

नेपाली कांग्रेसका विशेष महाधिवेशनले कोसी प्रदेशको राजनीतिमा ठूलो हलचल पैदा गरेको छ। पार्टीको संस्थापन र इतर पक्षबीच शक्ति सञ्चयको होडबाजी चलिरहँदा कोसीका १४ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू ठूलो सङ्ख्यामा काठमाडौँ केन्द्रित हुन थालेका छन्। 

यद्यपि नेता शेखर कोइरालाको निर्वाचन क्षेत्रबाट प्रतिनिधि नै नजाने भएका छन् भने विशेष महाधिवेशन पक्षधर मध्येका एक महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्रमा समेत सहभागीहरूको अवस्था कमजोर देखिएको छ। 

कोसी प्रदेसका ७२८ महाधिवेशन प्रतिनिधिमध्ये ४७६ जना विशेष महाधिवेशनमा जाने लिस्टमा रहेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्।

विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्रबाट नै सबै प्रतिनिधि सहभागी नहुने भएका छन्।

केन्द्रीय राजनीतिको प्रभावमा रहेको झापा क्षेत्र नम्बर १ विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो। यो क्षेत्रबाट २९ जना प्रतिनिधिहरू मध्ये जम्मा १८ जना प्रतिनिधि सहभागी हुँदै छन्।

अरूले यसबारेमा जानकारी नै नभएको बताएका छन् भने विशेष महाधिवेशनमा सहभागी नहुने बताउँदै आएका छन्। झापाका १३६ प्रतिनिधि मध्ये करिब ८० जना सहभागी हुने दाबी विशेष महाधिवेशन पक्षधर झापाका नेताहरू बताउँछन्। 

महाधिवेशनको माग गर्दै आएका नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रबाट भने एक जना प्रतिनिधि पनि सहभागी नहुने नेपाली कांग्रेस मोरङ जिल्ला कमिटीले जनाएको छ। एक नेताका अनुसार डा शेखर कोइरालाले कसैलाई पनि विशेष महाधिवेशनमा उपस्थित हुनको लागि आह्वान गरेका छैनन्।

मोरङका ६ वटा निर्वाचन क्षेत्रका १५० प्रतिनिधि मध्ये करिब ४५ जना मात्रै सहभागी हुने जिल्ला समितिका पदाधिकारीहरू बताउँछन्। मोरङ क्षेत्र नम्बर १ बाट ६ जना, क्षेत्र २ बाट ७ जना, क्षेत्र ३बाट ३, क्षेत्र ४ बाट १३ जना, क्षेत्र ५ बाट १३ जना र क्षेत्र नम्बर ६ बाट कोही पनि नभएको नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ। 

विशेष पक्षधरहरूले भने मोरङबाट ७० प्रतिशतको हाराहारीमा उपस्थिति हुने दाबी गर्दै आएका छन्। क्षेत्र नम्बर ६ डा शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। क्षेत्र नम्बर ६ मा २६ जना प्रतिनिधिहरू मध्ये ६ जनाले विशेष महाधिवेशन आह्वानको लागि हस्ताक्षर गरेकोमा शुक्रबार छलफल गरेपछि उनीहरू पनि विशेष महाधिवेशनमा नजाने सहमति भएको क्षेत्रीय सभापति देवराज तामाङले जानकारी दिए।

उनकाअनुुसार कांग्रेस विधि र विधानमा चल्ने भएको कारण नियमित महाधिवेशन बोलाइसकिएकोले त्यही अनुसार नै जाने भन्ने छलफल भएको छ। 

मोरङ जिल्ला कमिटीबाट कुनै पनि पदाधिकारी विशेष महाधिवेशनमा सहभागी नहुने जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए। उनले भने, ‘विशेष गर्ने हैन नियमित गर्नु पर्छ भन्ने नै हो, पार्टीले निर्णय गरे मात्रै सहभागी हुने हो। पार्टीले गराउँछ भने मात्रै जाने हो।’

सुनसरीमा १०४ जना प्रतिनिधिहरू मध्ये विशेष महाधिवेशन पक्षधरहरूले ८५ प्रतिशतको उपस्थिति हुने दाबी विशेष महाधिवेशन पक्षधर नेताहरूले गर्दै आएका छन्। यो जिल्लाका सभापति नै विशेष महाधिवेशनको पक्षमा देखिएका नेता हुन्। धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, भोजपुरका जिल्ला सभापतिहरू खुल्ला रूपमै विशेष महाधिवेशनमा लागेका छन्। 

विशेष महाधिवेशन पक्षधरहरूले भने हस्ताक्षर गरेकाहरू मध्ये झापामा मात्रै पहिलेको तुलनामा थप २८ जना प्रतिनिधिहरू विशेष महाधिवेशनमा थप भएर सहभागी हुने दाबी गरेका छन्। कतिपय जिल्लामा संस्थापन पक्षले प्रतिनिधिहरूलाई रोक्न प्रयास गरे पनि ‘विचार र एजेन्डा’को राजनीति अघि बढेको भनेर सहभागी हुन जानेहरू पनि धेरै रहेका छन्।

विशेष महाधिवेशन पक्षीय नेताहरूका अनुसार, ताप्लेजुङबाट १३, पाँचथर १९, धनकुटा १८, सङ्खुवासभा १८, भोजपुर १५, सोलुखुम्बु १७, खोटाङ १२, ओखलढुङ्गा १३, इलाम ३९, तेह्रथुम २२, उदयपुर ३८, सोलुखुम्बु १९ जना रहेको छन्। यी नाममा समेत थप हुने दाबी धनकुटाका जिल्ला सभापति दिनेश राईको छ। उनका अनुसार, भोलिसम्ममा सबै जिल्लाहरूबाट सङ्ख्या बढेर आउनेछ।

उता नेपाली कांग्रेस कोसी प्रदेशसभा महामन्त्री भूपेन्द्र राईले हिजो हस्ताक्षर गर्नेहरू धेरैले नाम फिर्ता लिएकोले सहभागी हुने सङ्ख्या अत्यन्तै कम हुने दाबी गरे।

‘भोलिसम्ममा को को सहभागी हुने भन्ने अन्तिम लिस्ट आउँछ, उनले भने, ‘अहिलेसम्म हामीलाई जानकारीमा आएसम्म धेरै साथीहरू नियमित महाधिवेशनको पक्षमा रहेकोले विशेषमा न्यून सहभागी हुनु होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad