कोशी


उम्मेदवारको नाम सिफारिसमा एमालेभित्र तीव्र प्रतिस्पर्धा

उम्मेदवारको नाम सिफारिसमा एमालेभित्र तीव्र प्रतिस्पर्धा

नेपालखबर
पुस २१, २०८२ सोमबार २०:४४, ​विराटनगर

नेकपा एमालेले कोसी प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया तीब्र बनाएको छ। सिफारिस भएर आउने कतिपय जिल्लाहरूबाट सर्वसम्मत नाम आएको छ भने कतिपय जिल्लाहरूबाट अझै सहमति जुट्न नसकेको एमाले प्रदेश कमिटीले जनाएको छ। 

इलाम क्षेत्र नम्बर २, धनकुटामा सर्वसम्मत नामहरू आएपनि अरु जिल्लामा सर्वसम्मत नाम आउन नसकेको एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए। 

प्रदेशका विभिन्न जिल्लाहरूबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस हुने क्रम जारी रहेको र केही प्रभावशाली नेताहरूको नाम एकल रूपमा आएको खतिवडाको भनाइ छ। पार्टीको आन्तरिक छलफलका क्रममा प्राप्त जानकारी अनुसार कोसी प्रदेशका धेरैजसो जिल्लाहरूले आकांक्षीहरूको नामावली केन्द्रमा पठाउने तयारी गरिरहेका छन्।

सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् भने धनकुटाबाट राजेन्द्र राईको नाम पनि एकल रूपमै पठाइएको छ।

यस्तै, भोजपुरबाट पूर्वमुख्यमन्त्री शेरधन राईको नाम पनि एकल सिफारिस हुने निश्चित भएको अध्यक्ष खतिवडाले जानकारी दिए। 

इलाम क्षेत्र नम्बर १ मा भने महेश बस्नेत, काजीमान कागते र विष्णुमाया भट्टराईको नाममा सहमति जुट्न सकेन।

​ताप्लेजुङमा एमालेका उपमहासचिव योगेश भट्टराई र क्षितिज थेवेसहित पाँच जनाको नाम सिफारिस भएको छ, जहाँ भट्टराई र थेवेबीच सहमति जुट्न नसकेको एमाले ताप्लेजुङ स्रोतले जनाएको छ। तर पार्टीले पदीय रुपमा यसअघि निर्वाचित भएका भट्टराईलाई नै उम्मेदवार बनाउन सक्ने जनाएको छ। 

यसअघि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका भानुभक्त ढकालले यसपटक मोरङ जिल्ला छाड्ने भएका छन्। ढकाललाई योपटक एमालेले तेह्रथुम जिल्लाबाट उम्मेदवार बनाउने तयारी गरेको छ। तेह्रथुमबाट उम्मेदवार बन्ने गरी नाम सिफारिस भएको भानुभक्त ढकालको एकल नाम भने परेको छैन। तेह्रथुममा ढकाल सहित विजय सुब्बा तथा अन्य आठजनाको लामो सूची प्रदेश कमिटीमा पुगेको छ। 

संखुवासभामा यसपटक पनि राजेन्द्र गौतमले दोहोर्‍याउने गरी तयारी थालेका छन्। संखुवासभाबाट गौतमको मात्रै नाम भने सिफारिस भएको छैन। उनीसँगै अर्जुन कार्की र तुलसी न्यौपानेको नाम चर्चामा ल्याइएको छ। न्यौपाने यसअघि कोसी प्रदेश सभाको सदस्य भइसकेका व्यक्ति हुन्।  

मोरङ जिल्लाको हकमा क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा आफैं उम्मेदवार बन्ने निश्चित प्रायः छ भने क्षेत्र नम्बर २ बाट ऋषि पोखरेलको नाम अगाडि सारिएको छ। 

क्षेत्र नम्बर ४ मा जीवन घिमिरेको नाम चर्चामा छ, यद्यपि विनोद ढकालले यसअघि यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका कारण उनले चाहेमा यो क्षेत्रबाट वा क्षेत्र नम्बर ६ बाट उम्मेदवार हुन सक्ने सम्भावना रहेको एमाले मोरङ कमिटीले जनाएको छ। यसअघि प्रदेश सांसद र मन्त्री भइसकेका जीवन घिमिरेले मोरङ क्षेत्र नम्बर ४ नछाडेको अवस्थामा ढकाललाई क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाउने समेत तयारी भइरहेको एमालेका नेताहरू बताउँछन्।

मोरङ क्षेत्र नम्बर ६ मा लालबाबु पण्डितभन्दा विनोद ढकालको सम्भावना बलियो रहेको नेताहरूको भनाइ छ। एमालेको संस्थापन पक्ष विनोद ढकाललाई क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाउने मनस्थितिमा देखिएको छ।  

झापा, सुनसरी, खोटाङ र उदयपुर लगायतका जिल्लाहरूमा भने बैठकहरू जारी रहेकाले अन्तिम नामावली आउन बाँकी छ।

​धेरै आकांक्षी भएका ठाउँमा सबैको चित्त बुझाउन धेरै नामहरू सिफारिस गरिएको र केही क्षेत्रमा केन्द्रको गठबन्धन र माथिल्लो तहको सहमतिले पनि उम्मेदवार चयनमा प्रभाव पार्ने एमाले प्रदेश कमिटीले जनाएको छ। त्यस्तै सुनसरी र झापा जिल्लाबाट समेत निर्वाचन क्षेत्रीय कमिटीहरूबाट आएको नामको सन्दर्भमा छलफलहरू भइरहेको जिल्ला अध्यक्षहरूले बताएका छन्।

झापा ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad