कोशी


कोसी मन्त्रिमण्डल पुनर्गठनको तयारी, मुख्यमन्त्री बाहेक ‘सेटै’ फेरबदल हुने

काठमाडौंमा दौडधुप गर्दै मुख्यमन्त्री कार्की
कोसी मन्त्रिमण्डल पुनर्गठनको तयारी, मुख्यमन्त्री बाहेक ‘सेटै’ फेरबदल हुने

नेपालखबर
पुस २१, २०८२ सोमबार २१:१८, ​विराटनगर

कोसी प्रदेश सरकार विस्तार र मन्त्रिपरिषद् पुनर्गठन मंगलबार साँझ वा बुधवारसम्ममा हुने भएको छ। हेरफेर गर्नै लाग्दा मुख्यमन्त्री हिक्मतकुमार कार्की काठमाडौँ प्रस्थान गरेका छन्। नेकपा (एमाले) को मंगलबार बस्ने सचिवालय बैठकमा सहभागी हुन र प्रदेश सरकारको आगामी स्वरूपबारे पार्टी नेतृत्वसँग निर्णायक छलफल गर्न मुख्यमन्त्री काठमाडौँ गएका हुन्।

​सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारमा सहभागी आफ्नो टिम परिवर्तन गर्न तयार भएपछि मुख्यमन्त्री कार्की मन्त्रिमण्डल हेरफेर गर्ने निष्कर्षमा पुगेका हुन्। यसअघि कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने सहमति हुन सकेकाे थिएन। कांग्रेस आफ्ना मन्त्री फिर्ता बाेलाउन सहमत भएपछि मुख्यमन्त्री कार्की नयाँ मन्त्री नियुक्तिको गृहकार्यमा लागेकाे उनी निकट स्राेतले जनाएको छ। 

​एमालेका तर्फबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा केही नामहरू अग्रपंक्तिमा देखिएका छन्। जसमा झापाका चिन्तन पाठक, धनकुटाका इन्द्रमणि पराजुली, माेरङका खड्गबहादुर बस्नेत संखुवासभाका विदुर कुमार लिङ्थेप र सुनसरीका रामप्रसाद मेहता मन्त्री बन्ने पहिलाे प्राथमिकतामा देखिएका छन्।

स्राेतका अनुसार, माेरङ र धनकुटाबाट मन्त्री बन्ने दाैडमा  निरन राई र उमाकान्त गौतम पनि छन्।

कांग्रेसका तर्फबाट ओखलढुंगाका प्रदीप सुनुवार, माेरङका मानबहादुर लिम्बू, शोभा चेम्जोङ र भीम पराजुली, सुनसरीका इस्राइल मन्सुरी मन्त्री बन्ने लाइनमा छन्।  मन्त्री बन्ने ब्यक्तिकाे आधिकारिक टुङ्गो भने मंगलबार मात्रै लाग्नेछ।

एमालेको सचिवालयकाे बैठक भाेलि बस्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनका लागि दलहरूबीच तालमेलको एजेन्डा अघि सारेका कारण पनि यो बैठकलाई महत्त्वका साथ हेरिएको छ।

भोलिको सचिवालय बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरूको टुङ्गो लगाउने र त्यसलगत्तै प्रदेश सरकारको बाँकी भागबन्डा मिलाएर पर्सिसम्ममा मन्त्रीहरूको शपथ गराउने मुख्यमन्त्रीको तयारी रहेकाे एमालेका एक नेताले जानकारी दिए।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केही दिन अघि प्रेस चाैतारीले आयाेजना गरेकाे कार्यक्रम चाँडै सबै मन्त्री फिर्ता हुन सक्ने बताएका थिए। नेपालखबरसँग उनले भने, `म अहिले सचिवालयकाे बैठकमा सहभागी हुन काठमाडौं आएकाे छु, भाेलि नेकपा एमालेकाे सचिवालय बैठक छ, फर्किएपछि मात्रै मन्त्रीहरूकाे बारेमा निर्णय हुनसक्छ ।´

अहिले एमालेबाट कोसी प्रदेश सरकारको मन्त्री हुनेहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राम राना, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँच कर्ण राई, राज्यमन्त्री सिर्जना राई रहेका छन्।

त्यस्तै नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम रहेका छन्।

अहिले बहालवाला मन्त्रीहरू सबै फिर्ता बोलाउने तयारीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र नेकपा एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्की सहमत भएका हुन्। कोसी प्रदेशमा नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad