कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव पशुपति ढुंगानालाई प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रिक्त सचिव पदमा कामकाजका लागि खटाउने निर्णय गरेको छ।
आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद बैठकले संघीय सरकारबाट प्रदेशमा खटाइएका ढुंगानालाई कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने गरी नयाँ जिम्मेवारी दिइएको हो।
यसैगरी, बैठकले प्रदेश सिँचाइ नियमावली २०८२ लाई पहिलो पटक संशोधन गर्ने महत्त्वपूर्ण निर्णय समेत गरेको छ।
नियमावलीमा गरिएको यो संशोधनले संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भई आएका ठूला सिँचाइ आयोजनाहरूको सञ्चालन र व्यवस्थापनमा रहेका कानुनी बाधा फुकाउने विश्वास लिइएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए।
उनका अनुसार, विशेष गरी कन्काई सिँचाइ आयोजना र चन्दा मोहन सिँचाइ आयोजना जस्ता महत्त्वपूर्ण आयोजनाहरूलाई नयाँ ढंगले अगाडि बढाउन र प्रभावकारी रूपमा सञ्चालन गर्न यसले बाटो खोल्नेछ।
बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री भण्डारीले नयाँ नियमावली कार्यान्वयनमा आएपछि हस्तान्तरित आयोजनाहरूको कामले गति लिने बताए।
Shares

प्रतिक्रिया