कोशी


‘विमान रनवे छोडेर झाडी पस्यो, बत्ती निभ्यो, अब मरिन्छ भन्ने लाग्यो’

‘विमान रनवे  छोडेर झाडी पस्यो, बत्ती निभ्यो, अब मरिन्छ भन्ने लाग्यो’

सुमन सुस्केरा
पुस १९, २०८२ शनिबार १९:२०, विराटनगर

शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा ल्यान्ड गर्दै थियो बुद्ध एयरको विमान। तर, विमान रनवे छोडेर झाडीमा पुग्यो।

त्यही विमानमा थिए, झापाको अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन। शुक्रबार राति विमान दुर्घटनापछि उनले नयाँ जीवन पाएको महसुस गरेका छन्।

‘पिच छोडेर झारतर्फ गएपछि अब सकियो, मरिन्छ भन्ने नै भयो,’ उनले भने, ‘तर सुरक्षित रूपमा बाहिर निस्केपछि नयाँ जीवन पाएको महसुस भयो।’

जहाज पिच छोडेर झारतर्फ मोडिएपछि भित्र रुवावासी मच्चिएको गोम्देनले सुनाए। ‘जहाज पिच छोडेर झारतर्फ मोडियो, भित्र बत्ती निभ्यो, अचानक अक्सिजन अभाव महसुस भयो,’ आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘यात्रुहरू बीच रुवाबासी र भागदौड मच्चियो।’

भयावह परिस्थितिमा एकजना साहसी युवक उमेश मोक्तानले आपतकालीन ढोका जबरजस्ती खोलेपछि मात्र यात्रुहरू सुरक्षित बाहिर निस्कन सके। गोम्देन भन्छन्, ‘ढोका नखोलेको भए भित्र अक्सिजन सकिएर धेरै मान्छे मर्थे। त्यो भाइले सबैको ज्यान बचायो।’

जहाजबाट बाहिर निस्केपछि पनि यात्रुहरू डर र आतंकले दिशाहीन दौडिए। मेयर गोम्देनले आफैँ झण्डै १०० मिटर दौडेको र आफ्नो मोबाइल समेत हराएको सुनाए। ‘जहाज पड्किएर भेट्छ कि भन्ने डरले अन्धाधुन्ध दौडिएँ, कतापछि पूर्व, कतापछि पश्चिम, केही थाहा थिएन,’ उनले सम्झिए।

उनीसहित अन्य यात्रुहरू पनि ज्यान जोगाउन काँसघारीतिर हाम फाले। 

यो अनुभव केवल मेयरको मात्र नभई ५१ जना यात्रुको साझा अनुभव पनि हो। कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज चन्द्रगढी विमानस्थलमा अवतरणको क्रममा रनवेको पूर्वतर्फ ३०० मिटर ओभर रन गर्दै घाँसे झाडी र माटोमा भासिएको थियो। जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर थिए।

७ जना यात्रु सामान्य घाइते भएका छन्, जसमा ललितपुर–४ का २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ पनि छन्। अन्य घाइतेहरूमा झापाका सबिन जोगी, प्रेषिका अधिकारी, सुमित्रा जोगी, कमलप्रसाद कटुवाल, मुना घतानी र प्रिया घतानी रहेका छन्।

दुर्घटना अनुसन्धानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली शनिबार बिहानै चन्द्रगढी पुगेको थियो। प्राधिकरणका महानिर्देशक डी.सी.एल. कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरणसहित अनुसन्धानमा जुटेका छन्।

यो घटना मेयर गोम्देन जस्ता यात्रुहरूका लागि केवल डर र त्रासको क्षण मात्र थिएन, बरु जीवनको मूल्य र असुरक्षाको अनुभवको पनि एक घटना बन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad