ग्लोबल


‘गिरफ्तार गरिएका’ भेनेजुएलाका राष्ट्रपति दम्पतीविरुद्ध मुद्दा चलाउने अमेरिकाको घोषणा

‘गिरफ्तार गरिएका’ भेनेजुएलाका राष्ट्रपति दम्पतीविरुद्ध मुद्दा चलाउने अमेरिकाको घोषणा

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दम्पती (फाइल फोटो)


नेपालखबर
पुस १९, २०८२ शनिबार १९:२८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको भनेर गरेको दाबीपछि अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्। 

अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डी

बोन्डीले एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को-आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ।’

‘उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको सामना गर्नेछन्’, उनले थपेकी छन्। 

यद्यपि उनले मादुरोकी श्रीमतीले चाहिँ के कस्ता आरोपको सामना गर्नेछिन् भन्ने कुरा स्पष्ट पारिनन्।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामा आक्रमणका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको दाबी गरेका थिए।  

अमेरिकाका राष्ट्रपित डोनाल्ड ट्रम्प

उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा आक्रमण सफलतापूर्वक सुरु गरेको छ, जसलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ।’

ट्रम्पले अगाडि लेखेका छन्, ‘यो अपरेसन अमेरिकी कानुन प्रवर्तनसँगको सहकार्यमा गरिएको थियो। विवरण चाँडै जारी गरिनेछ। आज बिहान ११ बजे (स्थानीय समय) मार-ए-लागोमा पत्रकार सम्मेलन हुनेछ।’

ट्रम्पले यसअघि भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकामा लागुपदार्थ तस्करी र अपराधमा संलग्न भएको आरोप बारम्बार लगाइरहेका छन्।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज

यसैबीच भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाको आक्रमणपछि राष्ट्रपति मादुरोको दम्पतीको अवस्था अज्ञात रहेको भन्दै उनीहरू जीवित रहेको प्रमाण मागेकी छन्।

उनले भनेकी छन्, ‘भेनेजुएला सरकार दुवै जना जीवित रहेको प्रमाण तत्काल दिन माग गर्छ।’

अमेरिकी अधिकारीहरूले भने सीबीएस न्युजसँग राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको बताएका छन्।

अमेरिकाले शनिबार बिहानै भनेजुएलामा भीषण हवाई हमला गरेको थियो। 

यसपछि भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तुरुन्तै सैन्य बल तैनाथ गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad