कोशी


कोसी सरकारको आम्दानीको नयाँ स्रोत ‘भेडेटार स्काई वाक’- एक वर्षमै ४० लाख संकलन

लगानी सम्मेलनपछि १ खर्ब ५७ अर्बको प्रतिबद्धता कहाँ पुग्यो?
कोसी सरकारको आम्दानीको नयाँ स्रोत ‘भेडेटार स्काई वाक’- एक वर्षमै ४० लाख संकलन

सुमन सुस्केरा
पुस १८, २०८२ शुक्रबार २०:५३, विराटनगर

कोसी प्रदेश सरकारले नयाँ आम्दानीको स्रोत संकलन थालेको छ। कोसी प्रदेशमा सार्वजनिक–निजी साझेदारीको नमूना परियोजना मध्येको एक भेडेटार स्काई वाकले आफ्नो सफल सञ्चालन पश्चात् प्रदेश सरकारले आम्दानीको नयाँ स्रोत संकलन सुरु भएको हो।

सञ्चालनमा आएको पहिलो वर्षमै यस परियोजनाले सेवा शुल्क र नवीकरण शुल्क बापत कुल ४० लाख ४८ हजार ६ सय ७५ रुपैयाँ प्रदेश सरकारलाई बुझाउन सफल भएको कोसी प्रदेश लगानी प्राधिकरणले जनाएको छ।

प्रदेश लगानी प्राधिकरणको बैठकमा लगानी सम्मेलन पछिको उपलब्धिको खोजी भएपछि प्राधिकरण कार्यकारी निर्देशक डा सरोज कोइरालाले प्रदेश लगानी प्राधिकरणको सक्रियतामा निर्माण भएको यस परियोजनाले निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट आर्थिक लाभ प्राप्त गर्न सकिन्छ भन्ने बलियो उदाहरण पेश गरेको जानकारी गराएका थिए।  

प्रदेश लगानी प्राधिकरणमार्फत लगानीको वातावरण बनाउने काममा प्राधिकरणले एक वर्षमा गरेको प्रगतिको बारेमा पनि समीक्षा गरिएको थियो। 

भेडेटारको स्काई वाकको मात्रै हैन, अन्य परियोजनाहरू मार्फत पनि स्रोत खोजी गर्ने कामहरू भइरहेको प्राधिकरणले जनाएको छ। स्काई वाकको सफलतालाई आधार बनाएर कोसी प्रदेशमा भएको लगानी सम्मेलन पछि १ खर्ब ५७ अर्ब १८ करोड रुपैयाँ बराबरको थप लगानी प्रतिबद्धता प्राप्त गरेको थियो।

प्रदेशको आर्थिक विकासको लागि पछिल्लो लगानी सम्मेलनबाट प्राप्त प्रतिवद्धतालाई कार्यान्वयनमा लिएर जाने बारेमा पनि अहिले काम भइरहेको प्राधिकरण कार्यकारी निर्देशक कोइरालाको दाबी छ। गत वैशाख १८ र १९ गते सम्पन्न ‘कोसी प्रदेश लगानी सम्मेलन २०२५’ ले ५१ वटा परियोजनाहरूका लागि स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सफल भएको थियो। 

प्राप्त प्रतिबद्धताहरू मध्ये औद्योगिक उत्पादन क्षेत्रमा सबैभन्दा बढी ४२.४९ प्रतिशत अर्थात् ६६ अर्ब ७८ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको कार्यकारी निर्देशक कोइरालाले बताए। पूर्वाधार र शहरी विकासमा ३९.१३ प्रतिशत लगानी हुने देखिएको छ।

लगानीको यो उत्साहजनक अवस्थालाई कार्यान्वयनमा लैजान प्रदेश सरकारले नीतिगत सुधार र प्रोत्साहनका योजनाहरू पनि अघि सारेको छ। कोसी प्रदेश आर्थिक ऐन, २०८२ ले लगानी सम्मेलनमा सम्झौता भएका परियोजनाहरूको जग्गा खरिदमा लाग्ने रजिस्ट्रेसन शुल्कमा ७५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

यसका साथै ६ अर्बभन्दा बढी लागत अनुमान गरिएको एभरेस्ट केवल कार जस्ता ठूला परियोजनाहरूलाई सङ्घीय लगानी बोर्डमार्फत अघि बढाउने प्रक्रिया थालिएको कोइरालाले बैठकमा जानकारी गराएका थिए।

सम्मेलनमा समझदारी भएका ५१ परियोजनाहरूमध्ये ९ वटा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को चरणमा र ३ वटा परियोजना विकास सम्झौता (पीडीए) को प्रक्रियामा रहेका कोइरालाले बताए।

कृषि, पर्यटन, हरित ऊर्जा र स्वास्थ्य जस्ता क्षेत्रमा आएका लगानीका प्रस्तावहरूलाई पूर्णता दिन प्राधिकरणले कानुनी सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गरिरहेको प्राधिकरणका अध्यक्ष एवम् कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

भेडेटार स्काई वाकको सफल मोडललाई प्रदेशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै स्वदेशी निजी पुँजी र प्रत्यक्ष वैदेशिक लगानीमार्फत सबल र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको उनले बताए।

कोसी पोड्वेको लागि लगानी कर्ता परिवर्तन भएपछि प्राधिकरणले लगानी कर्ताको नाम परिवर्तन गर्न स्वीकृत गरेको छ। अबको ३ महिना भित्रमा १५ बढी योजनाहरू अन्तिम चरणमा पुग्ने दाबी प्राधिकरणको छ।

सोलार प्रोजेक्ट बर्जुले जग्गा खरिद गरेको, पाँचखपन हाइड्रोपावर प्रोजेक्टको ठेक्का लागेको, प्रेसिडेन्ट एग्रोटेक प्रोजेक्ट उत्पादन सुरु गरेको दाबी प्राधिकरणको छ।

सुनसरीको कोल्ड स्टोरेज एन्ड एग्रो प्रोसेसिङ सेन्टर र वेस्ट म्यानेजमेन्ट परियोजनाको लागि पिडिए प्रक्रियाका लागि स्वीकृति प्रदान गर्ने प्राधिकरणले निर्णय गरेको छ।

कार्यकारी निर्देशक कोइरालाका अनुसार, वराहक्षेत्र-मैनामैनी-छिन्ताङ केबुलकार परियोजना एरिया सर्वेको काम सकिएकोले अब जग्गा प्राप्तिसँगै सबै प्रक्रियाका काम सकिनेछ। बूढीगंगामा निर्माण हुँदै गरेको आरआर इन्टरनेसनल हस्पिटल निर्माणको चरणमा नै रहेको पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad