मोरङको केराबारीमा एम्बुलेन्स प्रयोग गरी लागु औषध गाँजा तस्करी भइरहेको अवस्थामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। तस्करीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले पुस १३ गते राति केराबारी गाउँपालिका–५ मा चेकजाँच कडा पारेको थियो। सोही क्रममा प्र१-०६-००१ झ ०००४ नम्बरको सरकारी एम्बुलेन्सलाई शंका लागेर रोक्न खोज्दा त्यहाँ रहेका व्यक्तिहरू एम्बुलेन्स छाडेर भाग्न खोजे पछि प्रहरीले हवाई फायर गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले एम्बुलेन्सको खानतलासी गर्दा भित्र लुकाई राखिएका १६ वटा ठुला पोका फेला पारेको छ। उक्त पोकाहरू जोख्दा कुल ५२१ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धनकुटाको शहिदभुमी गाउँपालिका–६का निश्चल राई र सागुरिगढी गाउँपालिका–२ का खगेन्द्र लिम्बु रहेको प्रहरीले जनाएको छ।
बिरामी बोक्ने संवेदनशील सवारी साधन (एम्बुलेन्स) को दुरुपयोग गरी ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Shares

प्रतिक्रिया