कोसी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकारले पूर्वाधार अभावको बहाना देखाएर संसद अधिवेशन छल्न खोजेको आरोप लगाएका छन्।
विराटनगरमा संसदीय पत्रकार मञ्चसँग कुरा गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि क्षतिग्रस्त भएको संसद भवन मर्मतमा सरकारले इच्छाशक्ति नदेखाउनु रहस्यमय भएको बताए। विपक्षीले उठाएका भ्रष्टाचार र बेथितिका प्रश्नहरूको सामना गर्न डराएर मुख्यमन्त्रीले हिउँदे अधिवेशन आह्वान गर्न ढिलाइ गरेको उनको दाबी छ।
नेता आङ्बोले सरकारका मन्त्री र सचिवालयभित्रै चरम आर्थिक अनियमितता र अराजकता मौलाएको बताए। मुख्यमन्त्री कार्यालयबाटै क्यूआर कोड मार्फत पैसा उठाएको र स्वास्थ्य मन्त्रालयको कर्मचारी सरूवामा मन्त्रीका स्वकीय सचिवहरूले चलखेल गरेको तथ्य बाहिरिएकाले सरकार नैतिक संकटमा परेको उनले उल्लेख गरे।
‘मन्त्रीहरूले सचिवको गाडीको साँचो खोस्ने र मान्छे कुट्ने जस्ता अशोभनीय गतिविधि गरिरहेका छन्,’ आङ्बोले भने, ‘यी सबै विषयको जवाफ मुख्यमन्त्रीले संसदको रोष्ट्रममा उभिएर दिनुपर्छ, तर उहाँ जवाफदेहिताबाट भागिरहनुभएको छ।’
सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेट पूर्ण रूपमा असफल भइसकेको टिप्पणी गर्दै उनले लगानी सम्मेलन र पर्यटन वर्षका घोषणा केवल प्रचारमा मात्र सीमित भएको बताए।
साउनदेखि नै सरकार पुनर्गठनको चर्चा चले पनि मन्त्रीहरू फेर्न नसक्नुले मुख्यमन्त्री आफ्नै दल र गठबन्धनभित्र निरीह सावित भएको उनको तर्क छ। सरकारले आफ्नै नीति कार्यक्रम कार्यान्वयन गर्न नसकेको र संसदमा उठेका प्रश्नको जवाफ दिने हैसियत गुमाएको उनले आरोप लगाए।
जेन्जी आन्दोलनपछिको शान्ति सुरक्षा र समाजमा व्याप्त त्रासका विषयमा छलफल गर्ने प्रमुख थलो संसद भए पनि सरकारले त्यसलाई उपेक्षा गरेको उनले बताए।
‘आफूलाई जन्माउने संसद भवनको पुनर्निर्माणमा तीन महिनासम्म चासो नदिने सरकारले बाँकी प्रदेशको विकास गर्छ भनेर कसरी विश्वास गर्ने?’ भन्दै उनले प्रश्न गरे।
संवैधानिक बाध्यताका कारण ६ महिनाको समयसीमा टार्न मात्रै अधिवेशन बोलाउने प्रवृत्तिको विरोध गर्दै उनले तत्काल संसद सुचारु गर्न सरकारसँग जोडदार माग गरे।
Shares

प्रतिक्रिया