राजनीति


गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ

गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ

नेपालखबर
पुस ९, २०८२ बुधबार १७:५९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै नियमित महाधिवेशन नभए विकल्पमा जाने चेतावनी दिएका छन्। 

बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बताए। सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन गर्न आलटाल गरिरहेको आरोप लगाउँदै थापाले भने, ‘छलछाम गर्ने कुरा स्वीकार्य हुँदैन। अरु वैकल्पिक बाटो खुला छ, बैकल्पिक बाटो हिड्नुपर्ने हुन्छ।’

उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकसम्म पर्खिने बताए। ‘आजै बैकल्पिक बाटोमा जाऔं भनिहाल्दिनँ। अझै पनि कार्यसम्पादन समितिको बैठक चलिरहेकाले झिनो आसा राख्छु,’ थापाले भने। 

कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको सुनिश्चितता नगरेमा विकल्पमा हिड्ने उनको भनाइ थियो। ‘बैठकले कार्यतालिका संशोधन गरेर एउटा गतिका साथ र एकताका साथ अधिवेशनमा जाने बाटो बनाएन भने त्यो अवस्थामा विशेष महाधिवेशन गर्ने र नेतृत्व छान्नुको विकल्प हुँदैन,’ उनले भने। 

महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने उनको भनाइ थियो। ‘एक, दुई, तीन– अधिवेशन नगरिकन, नेतृत्व नयाँ नछानिकन नेपाली कांग्रस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन,’ महामन्त्री थापाले भने, ‘यदि हामीले नियमित अधिवेशन गरेर जाँदैनौ भन्यो भने विकल्प एकदम खुला छ।’

त्यो विकल्प भनेको विशेष महाधिवेशन भएको उनको भनाइ थियो। महाधिवेशन टालटुल गर्ने कुरा भइरहेकाले त्यो स्वीकार नहुने थापाले बताए। अधिवेशन टार्ने कुराले कांग्रेसलाई ठूलो क्षति हुने उनको जिकिर थियो। 

कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर केही जिल्लामा विवाद देखिएको छ। जसले गर्दा क्रियाशील सदस्यता वितरण गर्ने म्याद नौ दिन थपिएको थियो। त्यसले ढिलाइ हुँदा महाधिवेशन कार्यतालिका संशोधन गर्नुपर्ने भएको छ। 

थापाले बुधबारको बैठकमा महाधिवेशन कार्यतालिका संशोधन प्रस्ताव गरेका छन्। जसमा वडा अधिवेशन पुस २१ मा र क्षेत्रीय अधिवेशन पुस २३ मा गर्न प्रस्ताव गरिएको छ। 

त्यसपछि पनि तोकिएकै समयमा महाधिवेशन गर्न सकिने थापाको मत छ। ‘कार्यतालिका संशोधनपछि पनि महाधिवेशन पुरानै तोकिएको समयकै गर्ने हो। तिथि मिति चलाउनु हुँदैन, चलाउने पाइँदैन,’ थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad