कोशी


एमाले महाधिवेशनः कोसीका यी २१ नेताको तल्लो कमिटीको पद गयो

एमाले महाधिवेशनः कोसीका यी २१ नेताको तल्लो कमिटीको पद गयो

सुमन सुस्केरा
पुस २, २०८२ बुधबार १५:१७, विराटनगर

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया  अहिले चलिरहेको छ। महाधिवेशनमा तल्लो तहमा रहेर माथिल्लो कमिटीमा उम्मेदवारी दिएका प्ररम्भिक जानकारी अनुसार २१ जनाले पद गुमाएका छन्। 

मोरङ जिल्लाबाट पाँच जनाले माथिल्लो तहमा उम्मेदवारी दिएर फिर्ता नलिएपछि उनीहरूको तल्लो तहको जिम्मेवारी स्वतः हटेको हो। प्रदेश कमिटी सदस्यमा रहेका मोरङबाट उम्मेदवारी दिनेहरूमा दिलीप बगडिया, मनोज अग्रवाल, सत्यनारायण चौधरी, सरस्वती खरेल र परशुराम बस्नेत रहेका छन्। 

एमालेको केन्द्रीय कमिटी सदस्यको लागि झापाबाट १८ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये पाँच जना तल्लो कमिटीका छन्। प्रदेश कमिटीको उपसचिवदेखि जिल्ला सदस्यसम्मले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि उनीहरूले पद गुमाएका छन्। 

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेहरूमा कोसी प्रदेश कमिटी उपसचिव जलवर्षा राजवंशी, प्रदेश कमिटी सदस्यहरू निता घतानी, होमबहादुर थापा, निर्मला सिवाकोटी र झापा जिल्ला कमिटी सदस्य मनोज ताम्ली छन्। 

झापाबाट यी नाम सहित केन्द्रीय सदस्यमा चिन्तन पाठकको पनि केन्द्रीय कमिटी सदस्यमा पहिलो अनुभव हुनेछ। त्यस्तै इलामबाट शकुन्तला लेप्चा पनि प्रदेश कमिटी सदस्य थिइन्। 

उदयपुरका भेषराज थापा प्रदेश कमिटी सदस्य थिए। त्यस्तै खोटाङकी बिनादेवी राई प्रदेश कमिटी सदस्य तथा अनेमसंघ केन्द्रीय सचिव कोसी इन्चार्ज थिइन्। 

ओखलढुङ्गाबाट ३ जनाले पद गुमाएका छन्। जिल्ला कमिटी उपसचिव अस्मिता थापा, प्रदेश कमिटी सचिवालय सदस्य अम्बिरबाबु गुरुङ र जिल्ला सदस्य ज्यानु कालिकोटे केन्द्रमा उठेका छन्। 

सोलुखुम्बुबाट उम्मेदवार बनेका कोसी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी प्रदेश कमिटी सचिवालय सदस्य पदमा थिए। 

त्यस्तै सुनसरीका रेवती रमण भण्डारी, निरादेवी खनाल (आचार्य), लोकेश निरौलाले पनि प्रदेश कमिटी सदस्य पद गुमाएका छन। खनाल भीम आचार्यकी श्रीमती हुन्।

ताप्लेजुङबाट प्रतिनिधि भएका प्रदेश कमिटी सदस्य रहेका बुद्धिमान परियारले दलित कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। भण्डारी कोसी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्।

एमालेको विधानमा अन्तिम नामावली प्रकाशन भइसकेपछि माथिल्लो तह वा माथिल्लो तहको पद स्वतः नरहने व्यवस्था रहेको नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जानकारी दिए। 

एमालेको विधान हालै संशोधन भए पनि उम्मेदवारी फिर्तासम्बन्धी व्यवस्था भने पुरानै विधानअनुसार कायम रहेको बताइएको छ।

‘अन्तिम नामावलीमा परेपछि सबैको पद जान्छ, फिर्ता हुँदैन,’ उनले भने। 

सङ्खुवासभाका विदुर लिङ्थेप नेकपा एमाले कोसी प्रदेश संसदीय विभाग सचिव र भोजपुरका शरणबहादुर राई प्रदेश कमिटीको सामाजिक विकास विभाग सचिवले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad