कोशी


कोसीको पर्यटन प्रवर्द्धनका लागि भएको पटना सम्झौता यस्तो छ

कोसीको पर्यटन प्रवर्द्धनका लागि भएको पटना सम्झौता यस्तो छ

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १९:५५, विराटनगर

भारतको पर्यटन एसोसिएसन अफ बिहार (टाब) र  कोसी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको कोसी पर्यटन वर्ष २०८२ सचिवालयका बिच पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

भारतको पटनामा आयोजना भएको हिमालयन ओरेन्ज टुरिजम फेस्टिभलमा कोसी प्रदेशको तर्फबाट पर्यटन प्रवर्द्धन गर्नकोलागि समझदारी पत्रमा हस्ताक्षर भएको हो। विशेषतः समझदारी अनुसार दुवै देशले पर्यटन गतिविधि गर्नकालािग ग्रामीण पर्यटन, वन्यजन्तु पर्यटन तथा तीर्थ/धार्मिक पर्यटनको संयुक्त प्रवर्द्धनमा केन्द्रित रहने भनिएको छ।

समझदारी पत्रमा दुवै क्षेत्रले यात्रा तथा पर्यटन क्षेत्रमा सहकार्य, सूचना आदान–प्रदान, अनुभव र विशेषज्ञतामा सहकार्य तथा संयुक्त कार्यक्रम र परियोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। यसका लागि दुवै पक्ष मिलेर संयुक्त कार्यक्रम गर्नको लागि ज्वाईन्ट एक्सन कमिटी  गठन गर्ने सहमति पनि भएको छ।

प्रमुख बुँदाहरूमा भारत–नेपालबिचका बौद्ध र हिन्दु तीर्थ सर्किट, सीमा आवागमन, भिसा, इमिग्रेसन, भन्सार प्रक्रिया जस्ता चुनौतीहरूलाई संयुक्त रूपमा अध्ययन गरी समाधान खोज्ने विषयहरू समावेश छन्। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मेला, ट्राभल्स सो, रोड सो र कार्यशाला संयुक्त रूपमा आयोजना गर्ने सहमति पनि भएको छ।

पर्यटनमा लगानी वृद्धि, होटल, टुर अपरेटर, यातायात, गाइड सेवा, हस्तकला जस्ता व्यवसायी क्षेत्रको विकास तथा मानव संसाधन विकासमा समझदारी पक्षले जोड दिएको छ। त्यस्तै तालिम (गाइड, होटल कर्मचारी, टुर कर्मचारी आदि) लाई पनि प्राथमिकता दिएको छ। दुवै पक्षले दिगो पर्यटन अभ्यास विकासमा सहकार्य गर्ने बताएका छन्।

पर्यटन एसोसिएसन अफ विहारका तर्फबाट सचिव आकाश चन्द्र र कोसी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयका तर्फबाट पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष कुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

भारतको बिहार राज्यस्थित पटनामा डिसेम्बर ११ देखि १३ सम्म सातौँ हिमालयन ओरेन्ज टुरिजम फेस्टिभल आयोजना भएको थियो। तीन दिने ओरेन्ज फेस्टिभलमा भुटान, नेपाल, दार्जिलिङ, सिक्किम, कालिम्पोङ लगायतका भारतका हिमालयन क्षेत्रबाट सुन्तला पुर्‍याएको थियो। यसअघि  भारतको कोलकतामा आयोजना हुँदै आएको सुन्तला हिमालय सुन्तला महोत्सव यो पटक पटनामा  गरिएको हो। 

सह–संयोजक श्रेष्ठले यस प्रकारका अन्तर्राष्ट्रिय महोत्सवहरूमा कोसी प्रदेशको सहभागिताले पर्यटनलाई नयाँ बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। सहभागी पर्यटन व्यवसायीहरूले कोसी प्रदेश पर्यटन वर्ष २०८२ लगायत नेपालका विभिन्न प्रदेशस्तरीय पर्यटन अभियानहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad