नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकै आइरहँदा पार्टीको कोसी प्रदेश कमिटीले स्पष्टीकरणका लागि अल्टिमेटम दिँदै ताप्लेजुङका २ नेतालाई निलम्बन गरेको छ।
महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा अवरोध गरेको आरोप लगाउँदै एमाले कोसी प्रदेश कमिटीले आफ्ना सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र पार्टीको प्रदेश पर्यटन विभागका सचिव मणिशंकर पोमुलाई मंगलबार पत्र पठाउँदै १५ दिनभित्र लिखित स्पष्टीकरण दिन भनेको हो। त्यसबेलासम्मका लागि उनीहरूलाई निलम्बन पनि गरिएको छ।
स्पष्टीकरण सन्तोषजनक नआएमा भने पार्टीले थप कारबाही गर्ने चेतावनी दिइएको छ।
यसैबीच निलम्बन गरिएका २ नेतामध्ये एक- एमाले कोसी प्रदेश कमिटीका पूर्वअध्यक्षसमेत रहेका साम्साेहाङसँग नेपालखबरले कुराकानी गरेको छ :
तपाईँलाई पार्टीबाट निलम्बन गर्नुको कारण के हो?
मलाई दुईपटक निलम्बनमा पारेको भन्ने सूचना आएको छ, तर दुवैपटक पार्टीको विधिअनुसार प्रक्रिया पूरा गरिएको छैन। सुरुमा वैशाखतिर प्रदेश कमिटीले अन्तरपार्टी निर्देशनमार्फत कारबाही गरेको जानकारी सामाजिक सञ्जालबाट मात्र पाएको हुँ। आधिकारिक पत्र त हामीलाई दिएनन्। विधानअनुसार पहिले स्पष्टीकरण माग्ने, त्यसपछि मात्र कारबाही गर्ने हो। तर यहाँ स्पष्टीकरण नै नलिई सिधै कारबाही र निलम्बनको पत्र आएको छ।
तपाईँ किन पटक-पटक कारबाहीमा पर्नुभयो?
यो विषय अहिलेको प्रतिनिधि छनोटसँग मात्रै जोडिएको छैन पहिलादेखिकै हो। अनेरास्ववियु जिल्ला अधिवेशनमा खुलासत्र गरे पनि बन्दसत्र नगरी एकलौटी कमिटी फेसबुकमार्फत सार्वजनिक गरिएको थियो। हामीले विरोध गरेनौँ। युवासंघमा पनि सोही प्रक्रिया दोहोरियो। युवासंघमा ६ पदाधिकारी रहने तर १२ जनाले उम्मेदवारी दिएका थिए। तर पनि एकलौटी घोषणा गर्ने प्रयास भयो।
राष्ट्रिय युवासंघको कार्यक्रममा पनि नेतृत्वले एकलौटी निर्णय गर्ने कोसिस गरे। त्यसकै क्रममा मैले विरोध गर्दा मलाई ६ महिनाका लागि र सहकर्मी साथीलाई पनि ८ महिनाका लागि कारबाही गरेको रहेछन्। त्यो निर्णय पनि बिनाप्रक्रिया गरिएको थियो। अन्तरपार्टी निर्देशनमार्फत हामीलाई कारबाही गरेको भनेर सामाजिक सञ्जालमार्फत थाहा पाएका हौँ।
महाधिवेशन प्रतिनिधि छनोट गर्ने क्रममा निर्वाचन समितिका संयोजकलाई हातपात गरेको भन्ने छ, वास्तविकता के हो?
हामी राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयनका काममा निर्वाचन कार्यालयमै थियौँ। जिल्ला कमिटीका केही व्यक्तिहरूले महाधिवेशन प्रतिनिधिमा जान नदिने गरी केही व्यक्तिहरू लागेका थिए। हामी कारबाहीमा परेकाले महाधिवेशनमा जान नदिने भन्दै उजुरी दिए। उजुरी परेको थाहा पाएपछि हामीले निर्वाचन अधिकृतसँग कुराकानी मात्र गरेका थियौँ।
उजुरीपत्र हेर्न खोज्दा हातपात गरेको भनी गलत प्रचार गरियो। निर्वाचन संयोजकलाई कुटपिट भएको भनियो। उहाँलाई अस्पताल लैजानु परेन, कुनै गम्भीर चोट छैन। त्यहाँ हल्का तानातान मात्र भएको हो। तर त्यसलाई ‘सांघातिक आक्रमण’ भनेर कारबाहीका लागि प्रदेशमा सिफारिस गरियो।
त्यसपछि के कारण साधारण सदस्यबाट समेत निलम्बनमा पर्नुभयो?
निर्वाचन प्रमुखमाथि आक्रमण भयो भन्ने मनगढन्ते रिपोर्टका आधारमा हामीलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरियो। कमिटीका सम्पूर्ण जिम्मेवारी खोसिएको छ। यो राजनीतिक उद्देश्यका लागि गरिएको कारबाही हैन, पार्टीभित्रको गैरराजनीतिक चरित्र पनि हो। कारबाही गर्ने विधि र प्रक्रिया हुनुपर्छ। पार्टी विधानविपरीत कारबाही गरिएको छ, त्यो स्वीकार गर्न सकिँदैन।
विवादको मूल कारण के हो?
मुख्य कारण नेतृत्व समूहले हाम्रो समूहलाई राष्ट्रिय महाधिवेशनमा जान नदिने रणनीति बनाउनु हो। म अर्को प्रतिनिधि समूहको टिमको लिडर हुँ। उनीहरू हामीलाई जसरी पनि प्रतिनिधिबाट बाहिरै राख्नुपर्छ भनेर लागेका थिए। हामीले निर्वाचन प्रणालीमार्फत सबैको अवसर सुनिश्चित हुनुपर्छ भनेर हामीले हाम्रा कुरा राखेका हौँ। प्रतिनिधि छनोट गर्दा कुनै व्यक्ति वा समूहलाई लक्ष्य गरेर हुनु हुँदैन भन्ने हाम्रो भनाइ थियो।
कारबाहीका नाममा हाम्रो आवाज रोक्ने प्रयास भएको छ। यो हामीलाई स्वीकार छैन। यसले व्यक्तिगत रूपमा हामीलाई भन्दा पनि पार्टीलाई घाटा पर्ने देखेको छु। हामीलाई बाहिर धकेल्ने प्रयास भयो, यो ठिक होइन।
प्रतिनिधि चयनमा अन्ततः के सहमति भयो?
ताप्लेजुङबाट १२ जना राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि जाने हाम्रो संख्या हो। प्रतिनिधि छनोटका लागि ईश्वर पोखरेल समूहबाट हामी ४ जना र उनीहरू ८ जनाको संख्यामा भागबन्डा गर्ने सहमति भयो। मैले नै लचकता अपनाएर, विवाद बढाउनुभन्दा पार्टी एकताबद्ध भएर जाऔँ भनेर सहमतिमा लगेँ। तर सहमति भएपछि पनि उनीहरूले नयाँ कारबाही अघि बढाइरहे।
तपाईँहरूलाई गरेको कारबाहीले अब ताप्लेजुङमा पार्टीलाई के असर पर्छ?
यदि नेतृत्वले यस्तै एकलौटी नीति र गलत गतिविधि दोहोर्याइरह्यो भने पार्टीलाई गम्भीर क्षति पुग्छ। पार्टी राम्रो चल्यो भने श्रेय अहिलेको नेतृत्वले लिन्छ, नचल्दा दोष पनि उनीहरूकै हुन्छ। मलाई व्यक्तिगत कुनै लोभ छैन, तर पार्टी सञ्चालनमै अवरोध आउने हो कि भन्ने चिन्ता छ। हामीले चाहेको पार्टीभित्रको गलत अभ्यासको अन्त्य, पारदर्शिता र सहमतिको संस्कृति हो। पार्टीलाई कमजोर बनाउने गतिविधि रोकिएन भने ताप्लेजुङमा गम्भीर समस्या आउँछ। म पार्टीप्रति समर्पित छु, तर अन्यायपूर्ण कारबाही स्वीकार गर्दिनँ।
Shares

प्रतिक्रिया